१० असोज, सुर्खेत । ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि कर्णाली प्रदेशका आठ जिल्लाका १९ आयोजना रुग्ण अवस्थामा पुगेका छन् । कतिसम्म भने, २०७७ सालमै ठेक्का सम्झौता भएका केही आयोजना अझैसम्म निर्माण सम्पन्न भएका छैनन् ।
सुर्खेत, दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, कालिकोट, मुगु र रुकुम पश्चिमका सडक तथा पुल आयोजना लामो समयदेखि अलपत्र परेपछि प्रदेश सरकारको भौतिक पूर्वाधार निर्माणको प्रगतिमै प्रश्न उठेको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्काले लामो समयदेखि ठेक्का लिएर काम अघि नबढाउने निर्माण व्यवसायीका कारण आयोजना प्रभावित भएको बताए ।
उनले अब आयोजना ढिलाइ गर्ने छुट नभएको भन्दै ‘कि काम गर्ने, कि ठेक्का तोड्ने’ विकल्पमा जानुपर्ने बताए ।
कहाँ कति आयोजना रुग्ण ?
सुर्खेतमा तीन आयोजना रुग्ण सूचीमा छन् । रानीघाट–तेलपानी–भूरीगाउँ सडकको ठेक्का २०७७ असार १६ गते सम्झौता भएको थियो । यसको अन्तिम म्याद २०८२ माघ २२ गते तोकिएको थियो ।
यस्तै, घाटगाउँ–गुटु–सालघारी–कोइरालाबास–कुइनेभीर सडकको ठेक्का २०७९ असार ८ गते भएको थियो । यसको अन्तिम म्याद २०८२ पुस २९ गते सकिएको छ ।
यस्तै, सवारी साधन ट्रायल सेन्टर निर्माणको ठेक्का २०७९ माघ ११ गते सम्झौता भएको थियो भने यसको अन्तिम म्याद २०८२ पुस ३० गते सकिएको छ ।
राजधानी सुर्खेतसँग जोडिएका सडक तथा सेवा पूर्वाधार समयमै सम्पन्न नहुँदा यातायात, आवागमन र सार्वजनिक सेवामा प्रत्यक्ष असर पर्ने गरेको छ ।
सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयसम्म निर्माणाधीन सडकको जोखिम र असुविधा बेहोर्नुपरेको छ ।
उता दैलेखमा दुई महत्वपूर्ण सडक आयोजना रुग्ण अवस्थामा छन् ।
जसमा दैलेख सदरमुकाम–नौमुले गाउँपालिका–१ देखि ४ हुँदै जाजरकोटको जुनी जोड्ने सडक एक हो । त्यसको ठेक्का २०७८ साउन २७ गते भएको थियो । यसको अन्तिम म्याद २०८३ वैशाख २५ गते सकिएको छ ।
यस्तै, साँगेतरा–बिन्द्रासैनी–चामुण्डा सडक निर्माणको ठेक्का २०७८ साउन २८ गते सम्झौता भएको थियो । जसको अन्तिम म्याद २०८३ वैशाख ३० मा सकिएको छ ।
उता डोल्पामा दुनैस्थित सरस्वती मन्दिरदेखि तिप्लागाउँ हुँदै थरगाउँ–काँडातली सडक निर्माण आयोजना रुग्ण अवस्थामा छ । यसको ठेक्का २०७९ असार १६ गते सम्झौता भएको थियो । सम्झौताअनुसार यो सडक २०८३ असार १५ मा निर्माण सकिनुपर्थ्यो । तर, अलपत्र परेको छ ।
उता, हुम्लामा दुई मोटरेबल पुल निर्माण आयोजना रुग्ण सूचीमा छन् । लालीबगर–ओलाथली मोटरेबल पुलको ठेक्का २०७९ जेठ २७ गते सम्झौता भएको थियो । यसको अन्तिम म्याद २०८४ जेठ ११ गतेसम्म छ । तर, काम हालसम्म सुरु नै भएको छैन ।
जाजरकोटमा चार आयोजना रुग्ण अवस्थामा छन् । बारेकोट–८ साघुतरा र नलगाड–५ सिर्के जिउला जोड्ने मोटरेबल पुलको ठेक्का २०७८ साउन २९ गते सम्झौता भएको थियो। यसको अन्तिम म्याद २०८० माघ २८ गते नै सकिएको छ ।
सोही मितिमा छेडा–चाँदे–जुम्ला सडक खण्डको साल्मा खोला पुलको ठेक्का पनि सम्झौता भएको थियो । उक्त पुलको अन्तिम म्यादसमेत २०८० माघ २८ गते नै समाप्त भइसकेको छ।
छेडा–थलाह–सल्माखोला–चाँदे–जुम्ला सडकको ३० किलोमिटर खण्ड निर्माणको ठेक्का २०७९ पुस ५ गते भएको थियो । यसको अन्तिम म्याद २०८२ वैशाख ४ गते रहेको छ ।
कालीमाटी–खालचौर–नेटीलेक सडक खण्डअन्तर्गत सक्ला–खारी–बयाल–लिम्सा सडक निर्माणको ठेक्का २०७९ पुस ५ गते सम्झौता भएको हो । यसको अन्तिम म्याद २०८२ चैत ३० गते सकिएको छ ।
यस्तै, कालिकोटमा पनि चार आयोजना रुग्ण सूचीमा छन् । कालीकोट–सेरी–पान्तडी–पाद्यघाट हुँदै जुम्ला जोड्ने सडकको ठेक्का २०७७ जेठ ११ गते भएको थियो । यसको अन्तिम म्याद २०८२ चैत ३० गते सकिएको छ ।
यस्तै, पलाता–९ स्थित दाम्रीघाड पक्की पुलको ठेक्का २०७७ असार ३० गते सम्झौता भएको थियो । यसको अन्तिम म्याद २०८२ चैत १९ गते सकिएको छ ।
यस्तै, वारातु–सियाला–रेगिल सडकको ठेक्का २०७९ वैशाख २६ गते सम्झौता भएको थियो । यसको अन्तिम म्याद २०८२ चैत ३० गते रहेको छ ।
उता, मुगुमा दीमुख–तारापानी–गमगढी–नाक्चेलाग्ने सडक र दीमुखा पक्की पुल रुग्ण आयोजनाका रूपमा रहेका छन् ।
दीमुख–तारापानी–गमगढी–नाक्चेलाग्ने सडकको ठेक्का २०८० वैशाख ८ गते सम्झौता भएको हो। यसको अन्तिम म्याद २०८२ पुस २९ गते सकिएको छ ।
दीमुखा पक्की पुलको ठेक्का २०७८ पुस १४ गते सम्झौता भएको थियो। यसको अन्तिम म्याद २०८३ जेठ ३० गते सकिएको छ ।
यस्तै, रुकुम पश्चिममा छेडावगर पक्की पुल निर्माण आयोजना रुग्ण अवस्थामा छ । उक्त आयोजनाको ठेक्का २०७८ असार २४ गते सम्झौता भएको थियो । यसको अन्तिम म्याद २०८३ वैशाख २८ गते सकिएको छ ।
समयमै नसकिँदा लागत र लाभ दुवै प्रभावित
प्रदेश सरकारका यी आयोजना निर्माणमा ढिलाइ हुँदा निर्माण लागत बढ्ने र नागरिकले लामो समयसम्म सुविधा नपाउने समस्या सिर्जना भइरहेको छ ।
विशेषगरी कर्णालीमा सडक र पुललाई आर्थिक तथा सामाजिक विकासको आधार मानिएको छ । दुर्गम बस्तीलाई बजार, स्वास्थ्य संस्था, विद्यालय तथा प्रशासनिक केन्द्रसँग जोड्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुन्छ ।
तर निर्माणाधीन आयोजना वर्षौँसम्म अधुरो रहँदा त्यसको प्रत्यक्ष असर नागरिकको दैनिक जीवनमा पर्ने गरेको छ ।
प्रतिक्रिया 4