+
+
Shares

सल्यानमा शुक्रबारदेखि विद्युत् अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानमा निरन्तरको वर्षा र हावाहुरीले ३३ केभी प्रसारण लाइनका संरचना क्षतिग्रस्त हुँदा शुक्रबार रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आएको छैन।
  • नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले कपुरकोट र खारखोलाबाट प्राविधिक टोली खटाएर मौसमले साथ दिए आइतबार बेलुकासम्म विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।
  • जिल्ला प्रशासन कार्यालय सल्यानले विपद् जोखिमका कारण जिल्लाभित्रका सबै सडकमा शनिबारदेखि सोमबारसम्म राति सवारी आवागमन रोक लगाएको छ।

११ असोज, सल्यान । सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण शुक्रबार रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन।

रुख ढल्दा ३३ केभी प्रसारण लाइनका विभिन्न संरचनामा क्षति पुगेपछि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।

नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनअन्तर्गत कपुरकोट, लुहाम र अरिङ्गालेफेदी ९खारखोला० खण्डमा रुख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको छ।

हावाहुरी र पहिरोका कारण विभिन्न स्थानमा विद्युतका पोलसमेत ढलेका छन्।

निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण मर्मतमा कठिनाइ भए पनि मौसममा केही सुधार आएपछि प्राविधिक टोलीलाई फिल्डमा परिचालन गरिएको वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए।

उनका अनुसार एउटा टोली कपुरकोटबाट अरिङ्गालेफेदीतर्फ र अर्को टोली खारखोलाबाट अगाडि बढेर मर्मतमा खटिएको छ। मौसमले साथ दिएमा आइतबार बेलुकासम्म विद्युत् सेवा सञ्चालनमा ल्याउने उच्चतम प्रयास भइरहेको उनले बताए।

‘क्षति धेरै छ, हावाहुरी निरन्तर छ, वर्षाले पनि छोडेको छैन। तथापि लाइन सुचारु गर्न सकिन्छ कि भन्ने आशासहित प्राविधिक टोली फिल्डमै खटिएको छ,’ रावलले भने, ‘विद्युतको आवश्यकताले निरन्तर बज्ने फोनघण्टीले आराम गर्ने छुटसमेत दिएको छैन।’

प्रसारण लाइनमा भएको क्षतिको अवस्था हेरेर मर्मत कार्य अघि बढाइएको र मौसमले साथ दिएमा आज बेलुका सम्म विद्युत सञ्चालनमा आउने वितरण केन्द्रले जनाएको छ।

हावाहुरीले फलफूलदेखि घरसम्म क्षति

निरन्तरको वर्षासँगै आएको हावाहुरीले सल्यानका विभिन्न स्थानमा फलफूल तथा अन्य संरचनामा क्षति पुर्‍याएको छ।

बनगाड कुपिण्डे नगरपालिका १०, माझकाँडा र आसपासका क्षेत्रमा तीव्र हावाहुरीका कारण सुन्तला तथा टिमुरमा क्षति पुगेको छ।

यस्तै, छत्रेश्वरी गाउँपालिका २, तेछीखर्क निवासी गणेश पुन मगरको घरमा असोज १० गते चलेको तीव्र हावाहुरीका कारण सल्लाको रुख ढल्दा घरमा क्षति पुगेको छ।

हावाहुरीका कारण कपुरकोट गाउँपालिका ५, रिम क्षेत्रमा समेत ठूलो संख्यामा सल्लाका रुख ढलेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हावाहुरीबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको छ। अहिलेसम्म मानवीय क्षति वा अन्य कुनै अप्रिय घटना भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

सबै सडकमा रात्रिकालीन यात्रामा रोक

निरन्तर वर्षापछि जिल्लाका अधिकांस पालिका भित्रका भित्री सडकहरु अवरुद्ध छन भने मौसम प्रतिकूलका कारण सुचारु गर्न कठिनाइ भइरहेको छ।

विपद् जोखिमको अवस्थालाई हेरेर जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाभित्रका सडकमा रात्रिकालीन यात्रामा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सल्यान जिल्लाभित्रका सबै सडक शनिबारदेखि सोमबारसम्म राति सवारी आवागमनमा रोक लगाएको छ ।

यस्तै, राप्ती राजमार्गअन्तर्गत लुहाम, कपुरकोट, तुलसीपुर सडकखण्ड असोज ११ गते दिउँसोको समयमा समेत बन्द रहने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?