११ असोज, सिड्नी । अस्ट्रेलियाको प्रमुख बजेट एयरलाइन्स जेटस्टारका कर्मचारीहरू पारिश्रमिक र सेवा सुविधासम्बन्धी माग राख्दै औद्योगिक आन्दोलनमा उत्रिएका छन्।
अस्ट्रेलियन सर्भिसेस युनियन (एएसयू) मा आबद्ध करिब १ हजार जेटस्टार ग्राहक सेवा तथा विमानस्थल कर्मचारीले २३ र २४ सेप्टेम्बरमा संरक्षित औद्योगिक कारबाही गरेका थिए। उनीहरूले यात्रुलाई सेवा भने जारी राखेका थिए। तर अतिरिक्त ब्यागेज, सिट परिवर्तन, लेट शुल्कलगायत केही बिक्रीसम्बन्धी शुल्क नलिने वा शून्यमा रेकर्ड गर्ने कारबाही गरेका थिए।
के मागिरहेका छन् कर्मचारी ?
युनियनले कर्मचारीको तलब वृद्धि, ओभरटाइम तथा पेनाल्टी दरमा सुधार, बिदासम्बन्धी सुविधा, रोजगारी तथा पद कटौती को सुरक्षा र अत्यधिक गर्मी तथा खराब मौसममा काम गर्ने कर्मचारीको सुरक्षासहितका विषय उठाउँदै आएको छ।
जेटस्टारले भने तलब वृद्धि, पेनाल्टी भुक्तानी तथा भत्तामा सुधार र रोस्टरमा थप लचकतासहितको प्रस्ताव अघि सारेको बताएको छ। कम्पनीले औद्योगिक कारबाहीका कारण आफ्नो उडान सञ्चालनमा ठूलो असर नपर्ने गरी तयारी गरिएको जनाएको थियो।
सोमबार संशोधित प्रस्तावमा वार्ता
२३ र २४ सेप्टेम्बरको कारबाहीपछि जेटस्टारले युनियनसँग आकस्मिक वार्ता बोलाएको छ। एएसयूका अनुसार कम्पनीले २८ सेप्टेम्बर, सोमबार हुने बैठकमा संशोधित प्रस्ताव पेस गर्नेछ। त्यसअघि थप औद्योगिक कारबाही घोषणा गरिएको छैन।
यसअघि युनियनले वार्ता असफल भए थप औद्योगिक कारबाही गर्न सक्ने संकेत दिएको थियो। अब कर्मचारीको अर्को कदम सोमबारको वार्ता र कम्पनीको संशोधित प्रस्तावमा निर्भर हुनेछ।
जेटस्टारको उडानमा यात्रा गर्ने यात्रुले आफ्नो उडानको पछिल्लो अवस्था कम्पनीको आधिकारिक वेबसाइट वा एपबाट जाँच गर्न भनिएको छ। यसअघिको औद्योगिक कारबाहीका क्रममा जेटस्टारले उडान सञ्चालनमा असर नपर्ने बताएको थियो।
जेटस्टार अस्ट्रेलियाका विभिन्न सहरसँगै न्युजिल्यान्ड र एसिया–प्रशान्त क्षेत्रका गन्तव्यमा उडान सञ्चालन गर्ने क्वान्टास समूहअन्तर्गतको बजेट एयरलाइन्स हो।
प्रतिक्रिया 4