+
+
Shares

बाढीले राहुघाट जलविद्युत् आयोजनाको संरचना र प्रसारण लाइनमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको ४० मेगावाट राहुघाटा जलविद्युत् आयोजनाको संरचना र प्रसारण लाइनका टावरमा बाढीले क्षति पुर्‍याएको छ ।
  • बाढीपछि नेपाल विद्युत् प्राधिकरणले क्षतिको मूल्यांकन र पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरेको छ ।
  • क्षतिका कारण परीक्षण उत्पादन र व्यावसायिक उत्पादनको तयारी प्रभावित हुन सक्ने देखिएको प्राधिकरणले जनाएको छ ।

११ असोज, काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न भएर हालै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको संरचना तथा प्रसारण लाइनका टावरमा बाढीले क्षति पुर्‍याएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माण भएको उक्त आयोजना राहुघंगा नदीमा आएको बाढीका कारण विभिन्न संरचनामा क्षति पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट प्रसारण लाइनको टावरमा समेत क्षति पुगेपछि आयोजनाको क्षतिको अवस्था मूल्यांकन तथा पुन:स्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजना हालै मात्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटा युनिटबाट उत्पादन सुरु गरी असोज ८ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाह गरिएको थियो ।

बाढीले आयोजना र प्रसारण पूर्वाधारमा क्षति पुर्‍याएपछि परीक्षण उत्पादन तथा व्यावसायिक उत्पादनको तयारी प्रभावित हुन सक्ने देखिएको छ । यद्यपि क्षतिको विस्तृत विवरण तथा आयोजनाको उत्पादनमा परेको प्रभाव प्राविधिक टोलीको अध्ययनपछि मात्र यकिन हुने बताइएको छ ।

राहुघाटा जलविद्युत् आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण भएको हो । आयोजनाले राहुघंगा नदीको पानी प्रयोग गरी ४० मेगावाट विद्युत् उत्पादन गर्छ । आयोजनाका प्रमुख संरचना राहुघंगा नदीको बायाँ किनारमा छन् भने विद्युत्गृह कालीगण्डकी नदीको दायाँ किनारमा गलेश्वर क्षेत्रमा रहेको छ ।

आयोजनामा २५ मिटर अग्लो बाँध, दुईवटा स्पिलवे, अन्डरस्लुइस, दुई बे भएको ८० मिटर लामो डिसेन्डर, ६.२७ किलोमिटर लामो हेडरेस सुरुङ, ५३.२ मिटर अग्लो सर्ज ट्याङ्क, १ हजार २६ मिटर लामो प्रेसर साफ्ट र दुईवटा पेनस्टकमार्फत विद्युत्गृहसम्म पानी पुर्‍याउने संरचना छन् ।

आयोजनाबाट वार्षिक करिब २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उत्पादित विद्युत् आयोजनाको स्विचयार्डबाट करिब ६ सय मिटर लामो २२० केभी प्रसारण लाइनमार्फत दाना–कुश्मा प्रसारण लाइनमा जोडिने व्यवस्था छ ।

राहुघाटा जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत स्वामित्व रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको हो । आयोजनामा भारतको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणसमेत लगानी रहेको छ ।

करिब दुई दशक लामो प्रक्रियापछि निर्माण सम्पन्न भएको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम गत भदौमा पूरा भएको थियो । त्यसपछि दुईवटै युनिटको परीक्षण गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।

हाल बाढीबाट आयोजनाको कुन–कुन संरचनामा कति क्षति भयो, प्रसारण लाइनको कुन टावर प्रभावित भयो र पुन:स्थापनामा कति समय लाग्ने भन्ने विषयमा प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । अध्ययनपछि मात्रै आयोजनाको उत्पादन र प्रसारणमा परेको वास्तविक प्रभाव स्पष्ट हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?