+
+
Shares

गण्डकीमा बाढी–पहिरो : १४ जनाको मृत्यु, घरहरू डुबे, केही बेपत्ता

बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा छैन बिजुली र नेटवर्क, नवलपुरमा डुबान

अमृत सुवेदी अमृत सुवेदी
२०८३ असोज ११ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा श्यामकुमारी विकसहित उनका ३ सन्तानको ज्यान गएको छ।
  • म्याग्दीमा पहिरो र कालीगण्डकीको बाढीका कारण ३ जनाको मृत्यु, ४ जना बेपत्ता र केही जलविद्युत आयोजना तथा सडकमा क्षति पुगेको छ।
  • पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकीले ६७ घर बगाएको र २३ घर उच्च जोखिममा परेको छ।

११ असोज, पोखरा । बागलुङको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान पौने ४ बजे ढिस्को खसेर घर पुरिँदा आमासहित ३ सन्तानले ज्यान गुमाए । घरमाथिबाट ढिस्को खस्दा उनीहरू निद्रामै रहेकोले भाग्ने अवसरै पाएनन् ।

३९ वर्षीया आमा श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज, ९ वर्षका मुकेश र ५ वर्षका निसन विकलाई वर्षासँगै खसेको पहिरोले निल्यो । श्यामकुमारीकी जेठी छोरी १४ वर्षीया मुस्कान शनिबार हजुरबुबा–हजुरआमाको घर गएका कारण बाँच्न सफल भइन् ।

निसीखोला गाउँपालिका–२ का वडाध्यक्ष कुविर विकका अनुसार डाँडामा घर बनाएर बसेका श्यामकुमारीको परिवारले पहिरो र बाढीको अनुमानसमेत गरेको थिएन । लगातार वर्षा भइरहे पनि ढुक्कसँग सुतेका उनीहरूको कल्पनासमेत नगरिएको ठाउँबाट पहिरो खसेर मृत्यु भएको वडाध्यक्ष विकले बताए ।

एकै परिवारका चार जनाको मृत्युले गाउँ नै शोकमा डुबेको छ । आफन्तहरूको रोहवरमा मृतकको पोस्टमार्टम गरी आइतबार नै अन्तेष्टि गरिएको वडाध्यक्ष कुविरले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीका अनुसार वडा नम्बर ४ को झिवा खोला बजारका कम्तीमा १०/१२ वटा घरमा बाढीले क्षति पुर्‍याएको छ । बिहान साढे १० बजेतिर घटना भएका कारणले धेरै जना सुरक्षित स्थानमा बसेका थिए र मानवीय क्षति हुन पाएन ।

बागलुङकै तालाखोला गाउँपालिका–१० को धस्मर भन्ने ठाउँमा पहिरोले पुरिएर अर्का एक जनाको मृत्यु भएको छ । सुतिरहेको कोठामा पहिरो खसेर ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार धेरै सडक पहिरोले अवरुद्ध भएका छन् भने बिजुली र टेलिकमका टावरहरूमा समेत क्षति पुगेको छ ।

‘यकिन क्षतिको विवरण संकलन हुँदैछ । सबैभन्दा पहिले बिजुली र नेटकर्व चलाउन खोजिरहेका छौं,’ सीडीओ आचार्यले भने, ‘पूरै जिल्लामा बिजुली र नेटवर्क छैन । प्रमुख सडकहरू पनि अवरुद्ध छन् ।’

म्याग्दीमा ३ जनाको मृत्यु, कालीगण्डकीको बाढीले त्रास

गण्डकी प्रदेशमा बागलुङपछि सबैभन्दा बढी क्षति म्याग्दीमा भएको छ । म्याग्दीमा ३ जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन् भने अझै ४ जना बेपत्ता छन् । केही घाइते छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार अन्नपूर्ण, मालिका गाउँपालिका र बेनीमा मानवीय क्षति पुगेको छ भने ठूलो भौतिक क्षतिसमेत भएको छ ।

अन्नपूर्ण गाउँपालिकामा ४ जना पहिरोमा हराइरहेका छन् । १ जनाको शव फेला परेको छ । मालिका गाउँपालिकामा २ जना बेपत्ता भएकोमा एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ । बेनी–३ भम्किनीमा १ जना पुरिएका छन् ।

बेनी नगरपालिका–३ मा अन्दाजी ३५ वर्षकी कुमारी वली विकको पहिरोमा परेर मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा ७५ वर्षीया सिउकुमारी गर्बुजा र अन्दाजी ५५ वर्षीया दोमाया गर्बुजाको मृत्यु भएको बताइएको छ ।

मालिका गाउँपालिका–३ औलामा किरण पुन बेपत्ता भएको अचेत अवस्थामा फेला परेका छन् । अन्य २ जनाको त्यहाँ खोजी भइरहेको म्याग्दीका पत्रकार सन्तोष गौतमले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–३ बाट २ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर बेनी ल्याइएको छ । लगातारको बाढी र पहिरोले म्याग्दीका केही जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार म्याग्दीमा पहिरोमा बेपत्ताको खोजी कार्य भइरहेको छ । म्याग्दीमा पनि बिजुली र टेलिकमको टावर छैन ।

शनिबारदेखि नै कालीगण्डकीको सतह बढ्न थालेकोमा आइतबार बिहान भने ठूलो भेलबाढीकै रूपमा आएको थियो । कालीगण्डकीमा आएको बाढीले बेनी बजारमा कटानसमेत गरेको छ भने नदीछेउका बस्तीहरू सबै जोखिममा छन् ।

कालीगण्डकीकै बाढीले पोखरे बगरमा बेनी–जोमसोम पुलसँग जोडिएको जमिन नै कटान गरिदिएको छ र जोमसोमसँगको यातायात सम्पर्क टुटेको छ ।

पर्वतको फर्सेमा बगे ६७ घर, २३ घर उच्च जोखिममा

कालीगण्डकीको बाढीले मुस्ताङ, म्याग्दीदेखि पर्वत, स्याङ्जादेखि तनहुँको देवघाटसम्म क्षति पुर्‍याएको छ । मुस्ताङमा कटान गर्दै बढेको कालीगण्डकीले म्याग्दी र पर्वतमा भने ठूलो क्षति पुर्‍याएको थियो ।

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीले बस्ती नै बगाएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार फर्सेमा ६७ वटा घर बगेका छन् भने २३ वटा घर उच्च जोखिममा परेका छन् ।

‘कालीगण्डकी किनारमै रहेको फर्से बजारका ६७ घर पूर्ण रूपमा ध्वस्त भएको देखियो भने २३ घर उच्च जोखिममा छन्, नदीको कटानले ती घरहरू गए,’ क्षेत्रीले अनलाइनखबरसँग भने, ‘कालीगण्डकी किनारमा सडक खुल्नुभन्दा अगाडि नै ती घरहरू बनेका हुन् । तर यसपालि ठूलो क्षति पुर्‍यायो ।’

असोज ८ गतेदेखि नै भारी वर्षाले बाढी र पहिरो आउन सक्ने भन्दै सतर्क गराउँदा घर छोडेर मानिसहरू सुरक्षित स्थानमा सरेका थिए । ‘अहिले उनीहरू कोही आफन्तसँग त कोही छिमेकीसँग मिलेर बसेका छन्,’ सीडीओ क्षेत्रीले भने, ‘गण्डकी प्रदेश र जिल्ला प्रशासनबाट तत्कालका लागि आवश्यक सामग्री पुर्‍याउँदै छौं ।’ यहाँ पर्वत र बागलुङ जोड्ने झोलुंगे पुलसमेत बगाएको छ ।

कालीगण्डकीमा आएको बाढीकै कारण पर्वतको बिहादी गाउँपालिका–६ र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फका केही घरहरू पनि डुबानमा परेका छन् । ३० घर डुबानमा परेको खबर खाए पनि क्षतिको विवरण भने संकलन भइरहेको सीडीओ क्षेत्रीले जानकारी दिए ।

मनाङमा करिब १० घरमा पूर्ण क्षति, केही डुबानमा

लगातारको वर्षापछि मनाङमा पनि बाढीले केही घर, पुल र कज–वे बगाएको छ भने मनाङमा बिजुली र सञ्चार सम्बन्ध राख्ने मोबाइल नेटवर्क नै नहुँदा सूचना संकलनमै समस्या परेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार लगातारको वर्षापछि विभिन्न खोलामा आएको बाढीले १० घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने त्यति नै संख्यामा घर डुबानमा परेका छन् ।

मनाङमा चामे, नार्पा भूमि, नासोँ र मनाङ ङिस्याङ गाउँपालिका छन् । सबै पालिकामा सानोठूलो क्षति पुगेको र विवरण संकलनमै समस्या गरेको सीडीओ खनालले अनलाइनखबरसँग बताए ।

नार्पा भूमि गाउँपालिका सडक सम्पर्कले जोडिएकै छैन । नार्पा र मनाङ निस्याङमा सम्पर्क कायम गर्नै नसकिएको उनले बताए । ‘विद्युत अस्तिदेखि नै अवरुद्ध छ । मोबाइल नेटवर्क छैन । ट्रेकिङ गएकाहरू कहाँ छन् भन्ने पनि जानकारी पाउन सकिएन तर एजेन्सीहरुले फोन गरिरहेका छन्,’ सीडीओ खनालले भने, ‘चामे बजारमा ४ वटा खोला छन् । २ वटा खोलाका काठेपुल, २ वटाको कजवे बगाएको छ ।’

चामेका ५ वटा घर पूर्ण रूपमा क्षति भएको उनले जानकारी दिए । मानिसहरू पहिले नै सतर्क भएर घरमाथि सुरक्षित ठाउँमा गएर बसेका कारण मानवीय क्षति नभएको खनालको भनाइ थियो ।

ताल गाउँमा करिब १० घर डुबानमा परेका छन् । निरीक्षणमा जान पनि सडकका कारण सम्भव नभएको उनले बताए । नासोँ गाउँपालिकामा मर्स्याङ्दी झोलुंगे पुल बगाएको छ । निसिङ गाउँपालिकाका सडकहरू अवरुद्ध छन् । डोजर जाने अवस्था पनि छैन ।

‘नर्पाभूमि गाउँपालिका पनि सम्पर्क विच्छेद छ । लघु जलविद्युत आयोजनामा क्षति पुगेको भन्ने छ,’ सीडीओ खनालले भने ।

नवरपुरमा १६३ घर डुबानमा

गण्डकी प्रदेशमा गत असोज ९ गतेदेखि ११ गतेसम्म तीन दिनसम्म लगातार परेको अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपद् (बाढी, पहिरो तथा डुबान) बाट ठूलो धनजनको क्षति भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार प्रदेशभर बाढी र पहिरोमा परी १४ जनाले ज्यान गुमाएका छन् भने ३ जना घाइते र २ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण पर्वत, बागलुङ, म्याग्दी र तनहुँ लगायतका जिल्लाहरूमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पुगेको छ । विपद्का कारण १७९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २८ वटा घरमा आंशिक क्षति पुगेको छ। यसैगरी, बाढी तथा पहिरोको उच्च जोखिममा २९५ वटा घर रहेका छन् ।

प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेशभरका ५१२ घरपरिवारका १ हजार ६ सय ८४ जना नागरिक विस्थापित तथा प्रभावित हुन पुगेका छन् । यसमध्ये पर्वत र बाढी प्रभावित पूर्ववर्ती नगर क्षेत्रहरूमा ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन् । विपद्का कारण १२ वटा गोठ पूर्ण रूपमा क्षति हुनुका साथै ४४ वटा चौपायको मृत्यु भएको छ ।

नारायणी नदीले खतराको तह पार गरेर उच्च तहमा पुग्दा गैंडाकोटमा धेरै ठाउँ डुबानमा परेका थिए । मध्यविन्दु र विनय त्रिवेणी गाउँपालिका पनि डुबानमा परेको उनले बताए ।

‘कोही आफन्तको घरमा बसिरहेका छन् त धेरैलाई विद्यालयमा व्यवस्थापन गरिएको छ । गैंडाकोट, मध्यविन्दु र विनय त्रिवेणीमा डुबान पर्दा पहाडी गाउँपालिका बुङ्दीकाली र बुलिङटारमा भने बाढी–पहिरो पुल र सडक कटान गरेको छ,’ सहायक सीडीओ रानाले भने ।

गण्डकीका कास्की, गोरखा, लमजुङ, तनहुँ पनि लगातारको वर्षाले प्रभावित बनेका छन् । कास्कीमा सेतीको बहान बढेर पोखरा रामघाटमा ताल बनेको भए पनि अहिले घट्न थालिसकेको छ । पहिरोले सानाठूला सडकहरू अवरुद्ध छन्, तर ठूलो जनधनको क्षतिबाट भने जोगिएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?