+
+
Shares
स्थलगत :

जोगिएका विद्यालयमा सुरू भयो पढाइ, बगेका विद्यालयका विद्यार्थी अलपत्र

जोगिएका विद्यार्थीहरूलाई के गर्ने र कहाँ पढाउनेबारे अहिलेसम्म सोच्नै नसकेको प्रबन्ध निर्देशक सुरज लावत बताउँछन्।

सइन्द्र राई आदित्य नेपाल सइन्द्र राई, आदित्य नेपाल
२०८३ असोज १२ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीले रसुवा र नुवाकोटका धेरै विद्यालय बगाउँदा २१५ विद्यार्थी अलपत्र परेका छन् भने प्रिन्सिपल सुरज डंगोल बेपत्ता छन्।
  • उत्तरगया, रसुवा र विदुर, नुवाकोटका पूर्ण रूपमा नष्ट भएका विद्यालयका विद्यार्थीलाई स्थानीय तहले जोगिएका सरकारी र निजी विद्यालयमा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरेको छ।
  • नीलकण्ठ माध्यमिक विद्यालय र शिवालय आधारभूत विद्यालयमा शिविर हटाउँदै क्रमशः पठनपाठन सुरु गरिएको छ, तर केही कक्षा अझै प्रभावित छन्।

११ असोज, उत्तरगया (रसुवा) । एक महिनाअघिको भोटेकोशी बाढीपछि रसुवाका धेरै विद्यार्थीको दिन होल्डिङ सेन्टरमा खेलेर अथवा अभिभावकलाई पछ्याउँदै बितिरहेको छ ।

त्यसरी दिन बिताइरहेका मध्ये एक हुन्- उत्तरगया-५ का कश्मिर थापा । उनी कक्षा-२ मा पढ्छन्

चार दिन अघि (७ असोजमा) अनलाइनखबरसँग उनले भने- मेरो त स्कुलै छैन, कहाँ जाने ?

उनले पढ्ने मोडर्न ट्रिनिटी पब्लिक विद्यालय गत १० भदौमा आएको भोटेकोशी बाढीले बगाएर लगेको छ । बाढीले स्कूल बगाएपछि त्यहाँ पढ्ने २१५ जना विद्यार्थी अलपत्र छन्।

विद्यालयका लगभग सबै विद्यार्थी बाढीबाट जोगिए पनि प्रिन्सिपल सुरज डंगोल भने बेपत्ता छन्।

ट्रिनिटी विद्यालयका बस चालक सुमन विश्वकर्माका अनुसार डंगोल बाढी आएको सूचना लगत्तै विद्यालयतिर ‘कोही विद्यार्थी बाँकी त छैनन्’ भनेर हेर्न आइरहेका थिए । तर विद्यालय नपुग्दै बाटोबाटै हराए ।

बाढीमा विद्यालय विलिन भएपछि विद्यार्थीहरू पढ्न त पाएका छैनन् नै, शिक्षकशिक्षिकाहरू पनि विद्यालय भएका ठाउँ बगर बनेपछि फुर्सदिला छन्।

शिक्षिका अनुजा अधिकारीकाअनुसार विद्यालयका केही भाग जोगिएको भएपनि पठनपाठन सुरू गर्न सकिन्थ्यो, तर विद्यालयको नामोनिसान नहुँदा कुनै निर्णय हुन सकेको छैन।

‘विद्यार्थीहरूका अभिभावक त सधैं फोन गरेर सोध्नुहुन्छ। तर मसँग कुनै जवाफ नहुँदा मैले प्रिन्सिपल म्यामसँगै बुझ्नुस् भनिरहेको छु,’ अधिकारी भन्छिन्, ‘अहसलेसम्म कहिँबाट विद्यालय सञ्चालन हुने कुरा सुनेको छैन ।’

नुवाकोटको विदुर नगरपालिकास्थित उत्तरगया पब्लिक विद्यालय पनि बाढीको चपेटामा परेयता पढाइ सुचारू हुनसकेको छैन।

उत्तरगयको कक्षा सातमा अध्ययरत सञ्जाय तामाङ विद्यालय सुरू नहुँदा आफू अब कहाँ पढ्ने भनेर चिन्ता व्यक्त गर्छन्। उनकाअनुसार विद्यालयबाट हालसम्म कुनै सूचना आइसकेको छैन।

‘मेरै साथीहरू पनि धेरै हराएका छन्। विद्यालय पनि रहेन। अब कहाँ पढ्ने केही थाहा छैन,’ तामाङ भन्छन्।

सहप्रधानाध्यापक पवन शर्माका अनुसार ३७० बढी विद्यार्थी भएको यो विद्यालयका आधा विद्यार्थी अहिलेसम्म पनि सम्पर्कविहीन छन्।

बाढीबाट जोगाएका विद्यार्थीहरूलाई भने दुई तीन लगाएर पनि अभिभावकको जिम्मा लगाएको उनी बताउँछन्।

जोगिएका विद्यार्थीहरूलाई के गर्ने र कहाँ पढाउनेबारे अहिलेसम्म सोच्नै नसकेको प्रबन्ध निर्देशक सुरज लावत बताउँछन्। उनकाअनुसार भारी क्षतिको शोकले विद्यालय सञ्चाचलनबारे हालसम्म कुनै तयारी छैन।

‘न विद्यालय रहे, न विद्यार्थी जोगिए। अब कहाँ के सुरू गर्ने केही सोच्नै सकेका छैनौं,’ सुरज भन्छन्, ‘अब यो वर्ष जोगिएका विद्यार्थीहरू आफूलाई पायक पर्ने विद्यालयहरूमा पढ्ने वातावरण बन्नुपर्छ। तत्कालै विद्यालय सञ्चालनमा ल्याउन सकिँदैन।’

सुरजकाअनुसार उत्तरगया पढिरहेका केही विद्यार्थी आफूलाई पायक पर्ने सरकारी विद्यालयहरूमा धाउन थालेका छन्।

रसुवाका मोडर्न ट्रिनिटी (उत्तरगया-५) सँगै नेपाल राष्ट्रिय आधारभूत विद्यालय (गोसाईंकुण्ड गाउँपालिका-२), मालिकादेवी आधरभूत विद्यालय (उत्तरगया-४) र मालिका आधरभूत विद्यालय (चिप्लेटी) पूर्ण रूपमा नष्ट भएको छ ।

नुवाकोटका उत्तरगया पब्लिक विद्यालयसँगै चेतना आधारभूत विद्यालय (विदुर-१०), गणेश सिंह स्मृति आधारभूत विद्यालय (तारकेश्वर–४), रामचन्द्र आधारभूत विद्यालय (विदुर-१०), त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय (विदुर–१) र त्रिशूली कम्युनिटी बोर्डिङ विद्यालय (विदुर-१) पूर्ण रूपमा नष्ट भएको छ।

चेतना आधारभूत विद्यालय

केही स्कूल चल्न थाले

बाढीबाट जोगिए पनि रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयमा १५ दिनसम्म पठनपाठन हुनसकेन। कारण- क्षेत्रफलका हिसाबले यो विद्यालय ठूलो भएका कारण बाढी पीडितलाई यहिँ आश्रय दिइएको थियो। राहत सामग्री पनि यहीँ थुपारिएको थियो। उद्धार कार्यमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली यहीँ थिए।

राहत बाँड्नेस्थल र अस्थायी शिविर बनेको यो विद्यालयमा भने २५ भदौदेखि कक्षा सञ्चालनमा ल्याइएको छ। नीलकण्ठका प्राधानाध्यापक माधव लामिछानेकाअनुसार दुई सातासम्म विद्यार्थीहरूका पढाइ प्रभावित हुनथालेपछि स्थानीय सरकारको समन्वयमा यहाँको शिविर र राहतस्थल विस्तारै व्यवस्थापन हुनथालेपछि पढाइ सुचारू गरिएको हो।

नीलकण्ठका प्राधानाध्यापक माधव लामिछाने

‘अहिलेपनि सबै कोठा खाली भइसकेको अवस्था छैन। पालिकासँगको समन्वयमा बस्तारै खाली गराउँदैछौँ। अझै प्रभावकारी ढंगबाट कक्षा सञ्चालनमा ल्याउन केही समय लाग्छ होला,’ लामिछाने भन्छन्, ‘मानसिक रूपले विद्यार्थीहरू पनि तयार भइसकेका छैनन्। पछिल्लो अवस्थामा फर्काउन कम्तिमा पनि दुईतीन महिना लाग्छ होला।’

विद्यालय विस्तारै सञ्चालनमा आएपनि विद्यालयका होस्टेलमा भने अझै शिविर सञ्चालनमै छ। यहाँ अहिले २८ परिवारले आश्रय लिइरहेका छन्।

नीलकण्ठजस्तै शिवालय आधारभूत विद्यालय पनि सञ्चालनमा आएको छ। भदौको २६ गतेदेखि सुरू भएको यो विद्यालय पनि पहिला शिविर भएकै कारण पढाइ हुनसकेको थिएन। तर शिविर नजिकैको अर्को भवनमा सरेपछि विद्यालयमा पठनपाठन सुरू भएको हो।

के हुन्छ अलपत्र विद्यार्थीहरूको पढाइ?

उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालका अनुसार गाउँपालिकाले विद्यालय गुमाएका विद्यार्थीहरूका लागि जोगिएका सरकारी र नीजि विद्यालयहरूसँग सहकार्य गर्ने योजना बनिरहेको छ।

केही स्थानमा यही योजना अन्तर्गत विद्यार्थीहरू विद्यालय जान पनि थालेको उनी बताउँछन्।

‘पूर्ण रूपमा नष्ट भएका विद्यालयहरू पुनर्स्थापना गरेर पढाइ सुरू गर्ने अवस्था छैन। त्यहीभएर नीजि र सरकारी दुवैको समायोजनमार्फत विद्यार्थी व्यवस्थापनको काम गरिरहेका छौँ,’ अर्याल भन्छन्, ‘अहिले नै सबै विद्यार्थीलाई विद्यालयमा ल्याइसकेको अवस्था छैन। कोही कता कोही कता भएर सम्पर्क हुनसकेको छैन। तर चाँडै नै हामी बाँकी सबै विद्यार्थीलाई विद्यालयमा ल्याउने तयारी गरिरहेका छौं।’

अर्यालकाअनुसार हालसम्म स्थानीय तहले नै विद्यार्थीको व्यवस्थापनमा जुटिरहेको छ। संघीय सरकारको तर्फबाट कुनै समन्वय नभएको उनको भनाइ छ।

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय

विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी पनि पूर्ण रूपमा नष्ट भएका विद्यालयका विद्यार्थीहरूका लागि अस्थायी रूपमा पायक पर्ने विद्यालयमा व्यवस्थापन गरिने छ ।

धेरै हदसम्म व्यवस्थापन गरि सकिएको पनि उनी बताउँछिन् । उनकाअनुसार क्षति नभएका विद्यालयहरूमा भदौ २४ देखि नै पठनपाठन सुरू भइसकेको । शिविर बनाइएका विद्यालयहरू असोज एक गतेबाट सञ्चालनमा आएका छन् ।

‘नष्ट भएका विद्यालयका धेरै विद्यार्थीहरू पालिकाको सम्पर्कमा आइसकेको छ। ती विद्यार्थीहरू अस्थायी रूपमा घर नजिक पर्ने विद्यालयमा पढ्नथालेका छन्,’ बोगटी भन्छिन्, ‘बाँकी विद्यार्थीहरूको खोजी जारी छ। नष्ट भएका विद्यालय भवनहरूबारे हामी निरन्तर छलफलमा छौं। चाँडै नै पुनस्थापना गर्ने हाम्रो तयारी छ।’

तस्वीरहरू : चन्द्र आलेमगर/अनलाइनखबर

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?