+
+
Shares

प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहाका मेयरले लगाए नगरपालिका र वडामा ताला

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको काम प्रभावित भएको छ । मेयर साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक-पटक मन्त्रालय धाएर जानकारी गराए पनि समस्या समाधान हुन सकेन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म हाजिर नभएपछि नगरप्रमुख संजिवकुमार साहले नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
  • मन्त्रालयले भदौ १ गते खिमराज भुसाललाई खटाए पनि उनी नगरपालिकामा हाजिर नभएको र प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको मेयर साहले बताए।
  • तालाबन्दीपछि साहले चाबी प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएर प्रमुख प्रशासकीय अधिकृत तत्काल हाजिर गराउन मन्त्रालयसँग माग गरेका छन्।

१२ असोज, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि नगरप्रमुख संजिवकुमार साहले सोमबार नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

नगर प्रमुख साहले यसअघि प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र हाजिर नभए अतिआवश्यक सेवाबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएका थिए । सो अल्टिमेटम सकिएपछि मेयर साह आफैंले नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले भदौ १ गतेको पत्रमार्फत खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल नगरपालिकामा हाजिर नभएको मेयर साहको गुनासो छ ।

मेयर साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक-पटक मन्त्रालय धाएर जानकारी गराए पनि समस्या समाधान हुन सकेन । मन्त्रीलाई भेटेर समस्या राख्न खोज्दा भेट नदिइएको र स्वकीय सचिवलाई भेट्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको साहले बताए । कर्मचारी तथा पदाधिकारीलाई तलब-भत्ता उपलब्ध गराउन, विकास योजनाहरू सञ्चालन गर्न तथा दैनिक सेवा प्रवाहमा समेत समस्या भएको उनको भनाइ छ ।

विशेष गरी दसैँ नजिकिँदै गर्दा कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था सिर्जना भएको उनको गुनासो छ ।

तालाबन्दी गरेपछि मेयर साहले त्यसको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन् । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत तत्काल हाजिर गराई नियमित प्रशासनिक, वित्तीय तथा सेवा प्रवाह सुचारु गर्न सम्बन्धित मन्त्रालयसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?