+
+
Shares

फकल्यान्ड तेल परियोजनामा अर्जेन्टिनाको चेतावनी

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १६:३२

१३ असोज, ब्युनस आयर्स (रासस/एएफपी) । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।

राष्ट्रपति मिलेईले उत्तरी फकल्यान्ड बेसिनमा अर्जेन्टिनाका प्राकृतिक स्रोतको अवैध दोहन भइरहेको दाबी गर्दै विदेश मन्त्रालय र कानूनी टोलीलाई बेलायतविरुद्ध मध्यस्थता प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। उनले दुई साताभित्र परियोजना नरोके समुद्रको कानूनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधिकरणमा जाने बताए।

फकल्यान्ड टापुबाट करिब २२० किलोमिटर टाढा रहेको उक्त तेल क्षेत्रमा इजरायली कम्पनी नाभिटास र बेलायती कम्पनी रकहपरले काम गरिरहेका छन् । ती कम्पनीले बेलायतबाट वैध अन्वेषण अनुमतिपत्र प्राप्त भएकाले अर्जेन्टिनाको दाबी अस्वीकार गर्दै आएका छन् ।

अर्जेन्टिना र बेलायतबीच फकल्यान्डलाई लिएर लामो समयदेखि विवाद छ । सन् १९८२ मा भएको १० साताको युद्धमा २५५ बेलायती सैनिक र ६४९ अर्जेन्टिनीको मृत्यु भएको थियो । अर्जेन्टिनाले फकल्यान्डलाई ‘लास माल्भिनास’ भन्दै आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।

अर्जेन्टिनाले परियोजनाले संयुक्त राष्ट्रसङ्घको प्रस्ताव उल्लङ्घन गरेको दाबी गरेको छ भने बेलायतले फकल्यान्ड नजिकका प्राकृतिक स्रोत आफूले उपयुक्त ठानेअनुसार विकास गर्ने अधिकार रहेको बताउँदै आएको छ ।

यसैबीच, फकल्यान्डका व्यापारिक प्रतिनिधिहरू दुई बन्दरगाहबीच समुद्री यातायात पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न चिलीको पुन्टा एरेनास पुगेका छन् । आर्थिक विकासका उपनिर्देशक लुइस एलिसले नयाँ समुद्री मार्ग तेल परियोजनासँग सम्बन्धित नभएको बताए। यस वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त मार्गबाट निर्माण सामग्री तथा खाद्य र पेय पदार्थलगायत सामग्री ढुवानी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?