१३ असोज, गुल्मी । अविरल वर्षाका कारण सडक भासिएर पहिरो खसेपछि गुल्मीको तम्घासदेखि रेसुङ्गा विमानस्थल हुँदै खज्याङ जोड्ने सडक अवरुद्ध भएको छ ।
८ देखि ११ असोजसम्म परेको लगातारको वर्षाले रेसुङ्गा नगरपालिका–१०, सिमीचौर क्षेत्रमा सडक भासिएर ठूलो पहिरो गएपछि सडक सम्पर्क टुटेको हो । सडक अवरुद्ध हुँदा गुल्मीको जनजीवन प्रभावित भएको छ ।
सडक सञ्चालन नहुँदा यस क्षेत्रका बिरामी, विद्यार्थी, दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा स्थानीय व्यवसायीहरू प्रत्यक्ष प्रभावित भएका छन् । तम्घास तथा अन्य बजार क्षेत्र पुग्नका लागि यही सडक प्रयोग गर्दै आएका स्थानीयलाई अहिले आवतजावतमा समस्या भएको छ ।
स्थानीयका अनुसार सुरुमा सडकमा सामान्य चिरा देखिएको थियो । तर वर्षा निरन्तर भएपछि चिरा बढ्दै गएर सडकको ठूलो भाग नै भासिएर पहिरोमा परिणत भएको हो ।
स्थानीय मीनबहादुर कुँवरका अनुसार सडक निर्माणका क्रममा नाली तथा पानी निकासको उचित व्यवस्थापन नहुँदा समस्या थप गम्भीर बनेको हो । सडक भासिएर गएको स्थान आसपासका खेतीयोग्य जमिनमा समेत क्षति पुगेको उनले बताए ।
‘बाटो बनाउने क्रममा नाली व्यवस्थापन राम्रोसँग भएन । पानीको निकास नहुँदा अहिले ठूलो पहिरो गएको छ,’ कुँवरले भने, ‘पहिरोका कारण करिब १० रोपनी बारी प्रभावित भएको छ भने दुई वटा घरसमेत जोखिममा परेका छन् ।’
उनका अनुसार असोज १० गते बिहानसम्म सडक सामान्य चर्किएको मात्रै थियो । वर्षा बढ्दै गएसँगै सडकको अवस्था तीव्र रूपमा बिग्रिएको र ठूलो भाग भासिएको हो ।
सडक भासिएपछि स्थानीयलाई दैनिक आवश्यकताका कामका लागिसमेत समस्या भएको छ । विशेषगरी बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुर्याउन कठिनाइ भएको स्थानीयको भनाइ छ ।
स्थानीयवासीले तत्काल सडक सञ्चालनमा ल्याउन माग गरेका छन् । पहिरो ठूलो भएकाले सामान्य मर्मतबाट मात्रै सडक सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ छ ।
सडकको जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गरी दीर्घकालीन रूपमा सुरक्षित हुने गरी सडक मर्मत तथा पानी निकासको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
यता, स्थानीय जनप्रतिनिधिले पनि सडक मर्मत तथा आवतजावत सहज बनाउन चासो देखाएका छन् ।
सडक अवरुद्ध भएपछि स्थलगत अवस्था बुझ्ने तथा आवश्यक मर्मतका लागि पहल भइरहेको उनीहरूको भनाइ छ । रेसुङ्गा नगरपालिका–१० का वडा सदस्य कमला बस्नेत क्षेत्रीले सडकमा गएको पहिरो ठूलो भएकाले तत्कालै सडक सञ्चालनमा ल्याउन चुनौती रहेको बताइन् ।
उनले स्थानीय सरकारको तर्फबाट सडक मर्मतका लागि आवश्यक पहल भइरहेको बताइन् । वर्षातपछि गुल्मीका विभिन्न ग्रामीण सडकमा पहिरो तथा सडक भासिने समस्या देखिएको छ ।
ग्रामीण क्षेत्रमा सडक निर्माणसँगै पानीको उचित निकास र भू–बनोट अनुसारको संरचना निर्माणमा ध्यान दिन नसक्दा वर्षातको समयमा सडक क्षति हुने गरेको स्थानीयको गुनासो छ ।
सिमीचौर क्षेत्रमा पनि सडक निर्माणका क्रममा पानी निकासको पर्याप्त व्यवस्था हुन सकेको छैन ।
सडक अवरुद्ध हुँदा तम्घास–रेसुङ्गा विमानस्थल–खज्याङ सडकखण्डबाट नियमित यात्रा गर्ने नागरिकले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । वैकल्पिक मार्ग लामो वा असहज हुने भएकाले स्थानीयको समय र खर्च दुवै बढेको छ ।
प्रतिक्रिया 4