१३ असोज, क्यानबेरा । अस्ट्रेलियाको केन्द्रीय बैंकले आज ब्याजदर फेरि वृद्धि गरेको छ। रिजर्भ बैंकको मौद्रिक नीति बोर्डले नगद ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले बढाएर ४ दशमलव ६० प्रतिशत पुर्याउने निर्णय गरेको हो।
यो दर सन् २०११ को अन्त्ययताकै उच्च हो। यस वर्ष रिजर्भ बैंकले ब्याजदर बढाएको यो चौथो पटक हो।
बैंकका अनुसार अस्ट्रेलियामा मुद्रास्फीति अझै उच्च छ। विश्वव्यापी ऊर्जा तथा इन्धनको मूल्यमा वृद्धि, उत्पादन लागतको दबाब र घरेलु अर्थतन्त्रमा देखिएको मूल्यवृद्धिका कारण मुद्रास्फीति नियन्त्रण चुनौतीपूर्ण बनेको बैंकले जनाएको छ।
ब्याजदर वृद्धिको प्रत्यक्ष असर घरकर्जा तथा अन्य ऋण लिएका ऋणीहरूमा पर्नेछ। बैंकहरूले ऋणको ब्याजदर बढाएसँगै ऋणीको मासिक किस्ता (ईएमआई) बढ्नेछ। साथै, उच्च ब्याजदरले घरायसी खर्च र उपभोक्ता मागमा समेत सङ्कुचन ल्याउन सक्छ।
मुद्रास्फीतिलाई लक्ष्यभित्र राख्न आवश्यक परे आगामी दिनमा पनि ब्याजदर थप बढाउन सकिने सङ्केत बैंकले दिएको छ।
प्रतिक्रिया 4