१४ असोज, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।
कतार एयरवेजको जहाजमार्फत उनी आज बिहान ८:४५ बजे काठमाडौं फर्किएका हुन् । भ्रमण नेपालको महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकबीच थप सहकार्यका लागि फलदायी भएको थियो ।
बैठकमा भाग लिन उनी असोज १० मा कतारको राजधानी दोहा प्रस्थान गरेका थिए । बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवम एआईआईबीको गभर्नर परिषद्का गभर्नर डा. स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उप–सभापतिमा निर्वाचित गरेको छ ।
बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उप–सभापतिमा निर्वाचित गरेको हो । बैठकमा गभर्नर विजनेश राउण्ड टेवलका क्रममा डा. वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि एक प्रमुख स्रोत रहेको उल्लेख गर्दै सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख साधनमा लगानी गर्नुपर्ने बताएका थिए ।
उनले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय तथा स्वदेशी र विदेशी निजी पुँजीलाई आकर्षित गर्ने तरिकाले वित्तको उपलब्धता गराउनुपर्ने आवश्यकताबारे पनि बैठकमा धारणा राखे । बैठकका क्रममा उनले एआईआईबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्रहरू कतार, भारत, बंगलादेश, आर्मेनिया, जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्ति पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरे ।
नेपाल पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको उप–सभापतिमा निर्वाचित भएसँगै मुलुकको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सहकार्यका लागि थप मार्गप्रशस्त हुने आशा गरिएको छ ।
प्रतिक्रिया 4