काठमाडौँ । भर्खरै सम्पन्न दक्षिण कोरियाको सफल कार्यक्रमपछि ‘नेपथ्य’ ले अब संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘इन्टरनेट सिटी’ स्थित ‘दी अजेन्डा’ हलमा आगामी अक्टोबर ४ (असोज १८) आइतबार नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको यो चौथो दुबई यात्रा हुनेछ ।
नेपथ्यले यसअघि तीनवटै कन्सर्ट आइस हकी खेलिने त्यहाँको ‘अल नासेर लिजर ल्यान्ड’ मा गरेको थियो । यो पाला भने व्यवस्थित कन्सर्ट गर्न थप सुविधासहितको नयाँ स्थान चयन गरिएको छ ।
अरब जगतको व्यस्त व्यापारिक केन्द्र दुबईमा अवसरको खोजी गर्दै जाने नेपालीको उल्लेख्य बसोबास छ । खाडी मुलुकमध्येमा साउदी अरब र कतारपछिको धेरै नेपाली कामदार संयुक्त अरब इमिरेट्समै छ ।
पछिल्लो अध्ययनले त्यहाँ सात लाखभन्दा बढी नेपालीको बसोबास देखाएको छ । घरपरिवारबाट टाढा रहेका उनीहरू नेपालीपनको स्वादमै रमाएर बाँचेका हुन्छन् । यस्तोमा दसैँको सँघारमै दुबईमा बसोबास गर्दै आएका नेपालीसामु यो पाला नेपथ्यले घरको सम्झना बोकेर जाने जमर्को गरेको हो ।
रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रमै महत्वपूर्ण योगदान गर्ने तन्नेरीसामु प्रस्तुत गर्न नेपथ्यलाई व्यावसायिक स्थल चयन गरिएको ब्यान्डको व्यवस्थापन हेर्दै आएको नेपालयले जनाएको छ ।
‘दुबईमा रहेर नेपाली कार्यक्रम हेर्दै आएका दर्शकको स्वाद बढोत्तरीका लागि हामीले यो पटक थप स्तरीय कार्यक्रम स्थल र प्रस्तुतिका विभिन्न पाटोमा उत्तिकै ध्यान पुर्याएका छौँ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘दर्शकले सङ्गीतका साथसाथै चाडबाडको मुखमा नेपाली समुदायकै जमघटको पनि स्तरीय आस्वादन अनुभव गर्नेछन् ।’
नेपथ्यका अघिल्ला दुबई अनुभव उल्लेखनीय छन् । पहिलोपटक सन् २०१५ मा नेपालको शक्तिशाली भूकम्पलगत्तै ब्यान्ड त्यहाँ प्रस्तुतिका लागि पुग्नुपरेको थियो ।
त्यहाँको कार्यक्रम भने भूकम्पअघि नै तय गरिएको थियो । दुबईको त्यस प्रस्तुतिबाट आर्जित रकम ब्यान्डले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिदिएको थियो ।
कोभिड महामारीले विश्वलाई गाँजेको लामो समयपछि नेपथ्यले पहिलो विदेश भ्रमण सन् २०२२ मा दुबईमै गरेको थियो । सङ्कटका क्षणहरूमा पुग्दा ब्यान्डले स्थानीय दर्शकको उल्लेख्य उपस्थितिका साथै न्यानो माया पाउने गरेको छ ।
यूएईवासी नेपालीबाट मुलुकले रेमिट्यान्स मात्र होइन, अतिरिक्त स्नेह पनि पाउँदै आएको छ । भर्खरैको भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूका निम्ति त्यहाँ रहेका नेपालीले उल्लेख्य मात्रामा सहयोग जुटाएका छन् भने राज्य स्तरबाट पनि महत्वपूर्ण सहयोग प्राप्त भएको छ ।
लोकलयमा आधारित गीत सुनाउँदै आएको नेपथ्यले पनि त्यहाँ रहेका नेपालीबाट न्यानो साथ पाउँदै आएको ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ बताउँछन् ।
‘दुबईका दाजुभाइ, दिदीबहिनीका सामुन्ने प्रस्तुति दिन हामीले आवश्यक तयारी गरिसकेका छौँ,’ उनी भन्छन्, ‘श्रोता–दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यो पटक प्राथमिकतामा परेका छन् ।’
‘दुबई फेरि नेपथ्यलाई स्वागत गर्न तयार छ,’ आयोजक अनिल लामिछाने भन्छन्, ‘यसै सहरमा आयोजना भएका अघिल्ला नेपथ्य कन्सर्टभन्दा स्तरीयताको अनुभूति दिलाउन अन्तर्राष्ट्रिय स्तरको हल छनोट गरिएको छ । साउन्ड सिस्टममा पनि थप व्यवस्थित प्रबन्ध मिलाएका छौँ ।’
दुबईमा आयोजित अघिल्ला कन्सर्टको बेला अन्य इमिरेट्सहरू विशेष गरी आबुधाबी, शारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य सङ्ख्यामा उपस्थित भएका थिए । यो पाला त्यो संख्या अझ बढ्ने विश्वास स्थानीय आयोजकले लिएका छन् ।
यस भ्रमणमा पनि अमृतलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन् । कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । त्यसका लागि नेपथ्यको वेबसाइटबाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।
प्रतिक्रिया 4