दशैंको बिदा आउँदैछ । मन छ, केही दिनका लागि भए पनि दैनिक भागदौडबाट टाढा कतै पुगौँ । बिहान आँखा खुल्दा समुद्र देखियोस्, साँझ डुब्दै गरेको घामको रङ पानीमा पोखियोस् र बाँकी समय निलो समुद्रको छेउमा बसेर बितोस् । यस्तो फुर्सदको कल्पना गर्नुभएको छ भने माल्दिभ्स तपाईंको यात्राको सूचीमा पर्न सक्छ ।
हिन्द महासागरको बीचमा छरिएर रहेका टापुहरूको देश माल्दिभ्स समुद्रको सौन्दर्य र विलासी रिसोर्टका लागि चिनिन्छ । यहाँको आकर्षण भव्य सहर वा ऐतिहासिक दरबारमा मात्र अडिएको छैन । यहाँ कतै सेता बालुवाका तट छन्, कतै पारदर्शी पानीमुनि रंगीबिरंगी माछा र कोरल चट्टान । समुद्रमाथि बनाइएका भिल्लाबाट पानीको दृश्य नियाल्दै समय बिताउनु पनि यहाँको यात्राको एउटा विशेष अनुभव हो ।
थाइल्यान्ड वा मलेसियाजस्ता धेरै सहर घुम्ने, किनमेल गर्ने र दिनभरि पर्यटकीय स्थल चहार्ने योजना बनाउनुभएको छ भने माल्दिभ्सको यात्रा केही फरक हुन सक्छ । यहाँको विशेषता नै आराम, समुद्र र रिसोर्टको अनुभव हो । त्यसैले, हनिमुनमा जाने जोडीदेखि भिडभाडबाट टाढा केही दिन बिताउन चाहने दम्पतीसम्मका लागि माल्दिभ्स आकर्षक गन्तव्य बन्न सक्छ ।
कहाँ–कहाँ घुम्ने ?
माल्दिभ्स पुग्नेबित्तिकै समुद्रको नीलो रङले ध्यान खिच्छ । तर, समुद्रको किनारमा बसेर दृश्य नियाल्नु मात्रै यहाँको अनुभव होइन । स्थानीय टापु घुम्ने, पानीमुनिको संसार हेर्ने र समुद्रमा खेलिने गतिविधिमा सहभागी हुने विकल्प पनि छन् ।
माफुसी टापु स्थानीय जीवनशैली बुझ्न र तुलनात्मक रूपमा कम खर्चमा माल्दिभ्सको अनुभव लिन चाहनेका लागि उपयोगी गन्तव्य हो । यहाँ स्थानीय बस्ती, समुद्र किनार, क्याफे र रेस्टुरेन्टमा समय बिताउन सकिन्छ । निजी रिसोर्टको सीमित परिवेशभन्दा बाहिर निस्केर स्थानीय टापुको जीवनशैली बुझ्न चाहनेले माफुसी रोज्न सक्छन् ।
माले माल्दिभ्सको राजधानी हो । यहाँका स्थानीय बजार, सडक र सहरी परिवेश घुम्न सकिन्छ । तर, माले घुम्ने कार्यक्रम सबै प्याकेजमा समावेश हुन्छ भन्ने छैन । रिसोर्टमा सिधै जाने यात्रुले माले घुम्न छुट्टै समय र यातायातको व्यवस्था मिलाउनुपर्ने हुन सक्छ ।

माफुसी र मालेबाहेक धिगुरा तथा थुलुसधूजस्ता अन्य टापु पनि पर्यटकीय गन्तव्य हुन् । कुन टापु घुम्ने भन्ने कुरा आफूले रोजेको प्याकेज, बसाइको अवधि र यातायातको सुविधामा निर्भर हुन्छ । त्यसैले प्याकेज बुक गर्दा घुमाइने ठाउँको सूची पनि बुझ्नु आवश्यक हुन्छ ।
समुद्रभित्रको संसार हेर्न चाहनेका लागि स्नोर्कलिङ र स्कुबा डाइभिङ अर्को आकर्षण हो । पानीमुनि रंगीबिरंगी माछा र कोरल चट्टान नियाल्न सकिन्छ । कतिपय स्थानमा डल्फिन हेर्न डुङ्गा यात्रा गर्ने, समुद्रको बीचमा रहेको बालुवाको सानो थुम्कोमा समय बिताउने तथा जेट स्की र प्यारासेलिङजस्ता गतिविधिमा सहभागी हुने विकल्प पनि हुन्छन् । यी गतिविधिका लागि प्याकेजबाहेक अतिरिक्त शुल्क लाग्न सक्छ ।
माल्दिभ्सको अर्को चिनारी हो, समुद्रमाथि बनाइएका वाटर भिल्ला । पानीमाथि बनेका यस्ता कोठाबाट समुद्रको दृश्य हेर्न र रिसोर्टमै आराम गरेर समय बिताउन सकिन्छ । समुद्र किनारमा रहेका बीच भिल्ला पनि लोकप्रिय छन् । त्यसैले माल्दिभ्समा कहाँ जाने भन्ने प्रश्नसँगै कस्तो ठाउँमा बस्ने भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
माल्दिभ्सको खान्की
समुद्रको देश भएकाले माल्दिभ्सको खानामा माछाको प्रयोग बढी हुन्छ । नरिवल, चामल, खुर्सानी र विभिन्न मसलाको स्वाद यहाँका स्थानीय परिकारमा पाइन्छ । रिसोर्टहरूमा भने स्थानीय खानासँगै अन्तर्राष्ट्रिय परिकार पनि उपलब्ध हुन्छन् ।
यहाँको लोकप्रिय स्थानीय परिकार हो, मास हुनी । टुना माछा, कुटेको नरिवल, प्याज, खुर्सानी र कागती मिसाएर बनाइने यो परिकार प्रायः बिहानको खाजामा रोसी नामको रोटीसँग खाइन्छ ।

त्यस्तै, गरुधिया माछाबाट बनाइने झोलिलो परिकार हो, जसलाई भातसँग खाने चलन छ । माछालाई मसलासँग पोलेर बनाइने फिहुनु मास पनि स्थानीय खानाको स्वाद लिन चाहनेले चाख्न सक्ने परिकार हो ।
चियासँग खाने खाजामा गुल्हा र बाजिया लोकप्रिय छन् । गुल्हा माछा, नरिवल र मसलाको मिश्रणबाट बनाइने गोलो आकारको खाजा हो भने बाजिया समोसाजस्तो आकारको परिकार हो ।
स्थानीय टापुका रेस्टुरेन्टमा यस्ता परिकार चाख्न सकिन्छ । निजी रिसोर्टमा बस्दा भने खानाको खर्च प्याकेजमै समावेश हुन सक्छ वा छुट्टै तिर्नुपर्ने हुन सक्छ । त्यसैले बुकिङ गर्दा बिहानको खाजा, दिउँसोको खाना र रातिको खानामध्ये कुन–कुन समावेश छन् भन्ने बुझ्नु आवश्यक छ ।
कति दिन घुम्ने ?
माल्दिभ्सका लागि सामान्यतया तीन रात चार दिनको प्याकेज बढी रुचाइएको ट्राभल एजेन्सीका प्रतिनिधिहरू बताउँछन् । छोटो बिदामा समुद्र किनार, रिसोर्ट र केही जलविहारका गतिविधिको अनुभव लिन चाहनेका लागि यो अवधि उपयुक्त हुन सक्छ ।
तीन रात चार दिनको यात्रामा स्थानीय टापुमा बस्न सकिन्छ वा बीच भिल्ला र वाटर भिल्लाको अनुभव लिन सकिन्छ । आफूले चाहेको अनुभवअनुसार दुई रात स्थानीय टापुमा र एक रात निजी रिसोर्टमा बिताउने मिश्रित प्याकेज पनि उपलब्ध छन् ।
अझ आरामसँग समय बिताउन, विभिन्न जलविहारका गतिविधिमा सहभागी हुन वा एकभन्दा बढी रिसोर्टको अनुभव लिन चाहनेले ४ देखि ६ रातसम्मको यात्रा तय गर्न सक्छन् ।
माल्दिभ्स घुम्न कति लाग्छ खर्च ?
माल्दिभ्स घुम्ने खर्च आफूले रोज्ने प्याकेजअनुसार फरक हुन्छ । स्थानीय टापुमा सामान्य होटलमा बस्ने प्याकेज तुलनात्मक रूपमा कम खर्चिलो हुन्छ । निजी रिसोर्ट वा समुद्रमाथि बनेको वाटर भिल्लामा बस्ने हो भने बजेट बढाउनुपर्छ ।
सान्सु होलिडेज ट्राभल्सका अनुसार स्थानीय टापुमा बस्ने प्याकेज प्रतिव्यक्ति एक लाख ३० हजारदेखि एक लाख ४० हजार रुपैयाँबाट सुरु हुन्छ । निजी रिसोर्टमा बस्ने प्याकेज भने प्रतिव्यक्ति दुई लाख २० हजारदेखि दुई लाख ४० हजार रुपैयाँको हाराहारीबाट सुरु हुन्छ ।
गोमायु होलिडेज ट्राभल्सको जानकारीअनुसार ३ रात ४ दिनको यात्रामा बीच भिल्ला र वाटर भिल्ला मिलाएर बस्ने प्याकेजको मूल्य प्रतिव्यक्ति दुई लाख ५० हजारदेखि दुई लाख ७० हजार रुपैयाँसम्म पर्न सक्छ । यसमा हवाई टिकट, होटल, बिहानको खाजा र आवतजावतको व्यवस्था समावेश हुने ट्राभल्सले जनाएको छ ।

ह्वाइट टाइगर होलिडेजले उपलब्ध गराएको विवरणअनुसार माल्दिभ्सका विभिन्न प्याकेजको मूल्य प्रतिव्यक्ति एक लाख ३० हजार रुपैयाँबाट सुरु हुन्छ । ३ रात ४ दिनका लागि माफुसी टापुमा सामान्य होटलमा बस्ने प्याकेजको मूल्य प्रतिव्यक्ति करिब एक लाख ७५ हजार रुपैयाँ छ ।
त्यस्तै, दुई रात माफुसीमा र एक रात वाटर भिल्लामा बस्ने प्याकेजको मूल्य दुई लाख १५ हजार रुपैयाँबाट सुरु हुन्छ । दुई रात निजी टापुको बीच भिल्ला र एक रात वाटर भिल्लामा बस्ने प्याकेजको मूल्य प्रतिव्यक्ति करिब २ लाख ४५ हजार रुपैयाँ छ ।
विलासी रिसोर्टमा सबै खाना समावेश हुने प्याकेजको मूल्य भने २ लाख ९५ हजार रुपैयाँबाट सुरु हुने बताइएको छ । यसरी हेर्दा स्थानीय टापुमा सामान्य होटलमा बस्ने प्याकेजदेखि निजी रिसोर्टको विलासी बसाइसम्मका विकल्प छन् । हनिमुनका लागि जाने जोडीले वाटर भिल्ला वा निजी रिसोर्ट रोज्न सक्छन् भने कम खर्चमा माल्दिभ्सको अनुभव लिन चाहनेले स्थानीय टापुमा बस्ने विकल्प रोज्न सक्छन् ।

तर, प्याकेजको मूल्य सुनेर मात्रै खर्चको हिसाब पूरा हुँदैन । स्कुबा डाइभिङ, जेट स्की, प्यारासेलिङ, निजी डुङ्गा यात्रा वा अन्य गतिविधिका लागि थप शुल्क लाग्न सक्छ । ट्राभल एजेन्सीहरूले व्यक्तिगत खर्च तथा अतिरिक्त गतिविधिका लागि प्रतिव्यक्ति करिब ५०० अमेरिकी डलर छुट्याउन सुझाव दिएका छन् । यो अनिवार्य रूपमा खर्च गर्नुपर्ने रकम भने होइन; आफ्नो योजनाअनुसार खर्च फरक पर्छ ।
प्याकेज तुलना गर्दा हवाई टिकट, होटल, विमानस्थलदेखि होटलसम्मको यातायात, खाना र गतिविधिमध्ये के–के समावेश छन् भन्ने कुरा पनि हेर्नुपर्छ।
दशैंमा जाने हो भने कहिले बुक गर्ने ?
दशैंको समयमा विदेश घुम्ने योजना बनाउँदा हवाई टिकट र होटलको उपलब्धता समयमै बुझ्नु आवश्यक हुन्छ । ट्राभल्सका अनुसार दुईदेखि तीन महिनाअघि बुकिङ गर्दा तुलनात्मक रूपमा सस्तो टिकट तथा होटल पाउने सम्भावना हुन्छ । चाडपर्व नजिकिँदै जाँदा हवाई टिकटको मूल्य बढ्न सक्छ ।
गोमायु होलिडेजका अनुसार आफूले चाहेको सुविधा समावेश गरेर प्याकेज बनाउन करिब दुई साताअघि सम्पर्क गर्दा सहज हुन्छ । तयार प्याकेज उपलब्ध भएमा टिकट र होटलको अवस्था हेरेर छोटो समयमै बुकिङ गर्न सकिन्छ ।

अक्टोबरमा माल्दिभ्सको तापक्रम करिब ३० देखि ३५ डिग्री सेल्सियससम्म हुन सक्ने ट्राभल एजेन्सीका प्रतिनिधिहरू बताउँछन् । यो समयमा कहिलेकाहीँ वर्षा पनि हुन सक्छ । त्यसैले, घामबाट जोगाउने क्रिम, हलुका कपडा र व्यक्तिगत औषधि साथमा राख्नु उपयोगी हुन्छ ।
भिसा प्रक्रिया
नेपाली पर्यटकका लागि माल्दिभ्समा सामान्यतया आगमनमा पर्यटक भिसा अर्थात् भिसा अन अराइभल उपलब्ध हुन्छ । त्यसैले, सामान्य पर्यटक भ्रमणका लागि यात्रा गर्नुअघि नै दूतावासबाट भिसा लिनुपर्ने प्रक्रिया हुँदैन । तर, भिसा अन अराइभल उपलब्ध हुँदैमा प्रवेश स्वतः सुनिश्चित हुने भने होइन ।
माल्दिभ्स पुग्दा अध्यागमन अधिकारीले पासपोर्ट, फर्किने वा अर्को गन्तव्य जाने हवाई टिकट, होटल वा रिसोर्टको बुकिङ पुष्टि र यात्राका लागि आवश्यक आर्थिक स्रोतको प्रमाण माग्न सक्छन् ।
ट्राभल एजेन्सीबाट प्याकेज लिँदा पनि भिसा अन अराइभलका लागि आवश्यक कागजात र होटलको बुकिङबारे स्पष्ट जानकारी लिनुपर्छ ।
प्रतिक्रिया 4