१५ असोज, काठमाडौं । नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० असारमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
निलम्बनपछि नेपालले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ । त्यसक्रममा ३३ वर्षको साफ इतिहासमा पहिलोपटक नेपाल सहभागी नहुने निश्चित भएको हो ।
दक्षिण एसियाली फुटबल महासंघले यसअघि ३० सेप्टेबरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले साफ गुमाउन लागेको हो ।
योसँगै यसपटक साफमा ६ देश सहभागी हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् । समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छ । निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो ।
नेपालले साफको यसअघिका १४ संस्करण सबैमा सहभागिता जनाएको थियो । जसमा नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो बनेको छ । त्यसबाहेक पनि ५ पटक सेमिफाइनल पुगेको थियो ।

साफमा नेपालले आफ्नो दाबेदारी प्रस्तुत त गर्थ्यो नै, खेलाडीहरूले पनि आफ्नो क्षमता देखाउन पाउँथे । तर, यसपटक सहभागिता नजनाउँदा उक्त अवसर गुम्न पुगेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, प्रशिक्षक तथा एन्फा पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंह साफ सहभागी नहुँदा खेलाडीले आफुलाई प्रमाणित गर्ने प्लाटफर्म गुमाएको बताउँछन् ।
‘दुई–तीन वर्षमा आउने प्रतियोगिता, यही प्रतियोगिता खेलेर कतिजना खेलाडीहरू विदेश अरू देशमा व्यावसायिक फुटबलमा कन्ट्याक्ट हुने अवसर पनि हो, एउटा प्लेटफर्म पनि हो साउथ एसियाका खेलाडीहरूको लागि । अब यो पनि वञ्चित हुने भयो’ उनी भन्छन्, ‘माथिको एउटा पोलिटिकल लडाइँले गर्दाखेरि आज खेलाडीहरूमा ठूलो मार परिरहेको मैले महसुस गरेको छु ।’
‘मै हुनुपर्छ’ भन्ने दम्भका कारण नेपाली फुटबल यो अवस्थामा आइपुगेको सिंहको अनुभव छ । ‘जुन पहिला राजनीतिक संरक्षण थियो । त्यो राजनीतिक संरक्षण भएको कारणले गर्दाखेरि उहाँहरूसँग दम्भ आयो त्यो बेलामा, हामीलाई कसैले केही गर्न सक्दैन, बहुमत हामीसँग छ, जस्तै गलत निर्णय गरे पनि हामी नै हौँ भन्ने भयो’ उनी भन्छन्, ‘एउटा दम्भ, घमण्ड र जुन पोलिटिकल शक्तिको मिसयुज भयो । जसले गर्दाखेरि नै फुटबलमा यो घटना दुर्घटना घटेको हो ।’
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार मात्रै साफमा नेपालको सहभागिता सम्भव नरहेको संकेत गरेका थिए । साफका लागि ढिलो भइसकेको र घरेलु लिग सञ्चालनको तयारीमा लागिरहेको उनको भनाइ थियो । एन्फाको निलम्बन फुकुवा कहिले हुन्छ ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने, ‘साफभन्दा अगाडि ढिलो भइसकेको छ । केही गरी निलम्बन खुलेन भने के गर्ने भनेर हामीले विभिन्न खेलाडीसँग छलफल गरेका छौं । घरेलु लिग गर्नुपर्यो । घरेलु लिग नखेलेको वर्षौं भइसक्यो भनेर खेलाडीहरूबाट आइसकेपछि घरेलु लिगका लागि तयारी गरिराखेका छौंं ।’
उनको भनाइलाई आधार मान्ने हो भने नेपाल तत्काल फिफाबाट निलम्बन फुकुवा हुने सम्भावना छैन । यसअघि मन्त्री पोखरेलले सार्वजनिक रुपमै फिफासँग सकारात्मक छलफल भएको र छिट्टै निलम्बन फुकुवा हुने अभिव्यक्ति दिँदै आएका थिए । तर, फिफाबाट सकारात्मक जवाफ नआएपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने दिशामा अगाडि बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खेल मिलेमतोको आरोपमा एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ । अनुसन्धानको घेरा भएपछि एन्फा पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् । जसले नेपाली फुटबल झनै अन्यौलतातर्फ धकेलिएको छ ।
प्रतिक्रिया 4