१५ असोज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी मागेका छन् ।
टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएकोबारे उपभोक्ता गुनासो नघटेको भन्दै सञ्चारमन्त्री तिमिल्सिनाले आज दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा जानकारी लिएका हुन् । गुणस्तर अनुगमन सम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न उनले निर्देशन दिए ।
सञ्चार सचिव राजेन्द्रकुमार पौडेल, दूरसञ्चार प्राधिकरण अध्यक्ष अर्जुन घिमिरे लगायत मन्त्रालय र प्राधिकरणका पदाधिकारी सम्मिलित छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर खस्किँदै गएको उपभोक्ताको बुझाइ रहेको र काठमाडौं उपत्यका जस्तो क्षेत्रमा समेत टेलिफोन तथा इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको बताए ।
नागरिकले अपेक्षा गरे अनुसार भरपर्दो, गुणस्तरीय र सहज दूरसञ्चार सेवा उपलब्ध गराउनेतर्फ नियामक निकाय र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
‘दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेका छैनन्, त्यसमा जसरी पनि सुधार गर्नैपर्ने छ,’ उनले भने, ‘नागरिकका आकांक्षा पूरा गर्ने गरी काम गर्नुको विकल्प छैन ।’
बैठकमा दूरसञ्चार प्राधिकरणका पदाधिकारीले दूरसञ्चार सेवाको गुणस्तर परीक्षण तथा अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीबारे सञ्चारमन्त्री तिमिल्सिनालाई जानकारी गराए ।
प्राधिकरणका अनुसार गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन तथा ड्राइभ टेस्टका उपकरण पर्याप्त छैनन् । दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न आवश्यक क्षमता र उपकरण प्राधिकरणसँग पर्याप्त नभएको तथा उपकरण खरिदका विगतका केही प्रक्रिया कानुनी विवादमा परेका कारण पनि गुणस्तर परीक्षण तथा अनुगमनमा समस्या रहेको जानकारी गराइएको थियो ।
दूरसञ्चार प्राधिकरण अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तरका विषयमा प्राधिकरणले देशभरि नियमित अनुगमन तथा निरीक्षण गरिरहेको जानकारी दिए ।
‘टेलिफोन सेवाको गुणस्तर कमजोर भएको सन्दर्भमा हामीले सेवा प्रदायकलाई यसअघि सचेत गराउँदै आएका छौं, अब कानुन अनुसार कति कारबाही र जरिबाना गर्न सकिन्छ, हामी गर्छौं,’ उनले भने ।
छलफलमा प्राधिकरणको स्तरीकरण महाशाखा निर्देशक मिनप्रसाद अर्याल, सेवा गुणस्तर स्तरीकरण शाखा सहायक निर्देशक सुगन शाक्य, विवेकनाथ महासेठ लगायत सहभागी थिए ।
प्रतिक्रिया 4