यसलाई नै गाउँ भनिन्छ, जहाँ ढुंगाको पनि वाक्य फुट्छ, प्रकृतिको बेमिसाल अनि बेजोड संगम अग्ला पहाड अनि बीचमा समथर फाँट, छेउमै कलकल बग्ने खोलानालाले हामीलाई प्रकृतिप्रेमी अनि सादगी जीवनको प्रत्याभूति गर्छन् । यिनै खोलाको पानीले सिँचेर फलाएका अन्नबाली घरघरमा पुग्छन् । ढुङ्गैढुङ्गाका बगर, ढाँड मिलाएर बनाएका गरालाई प्राकृतिक मल, बलौटे माटो भरेर मलिलो र उर्बर बनाइदिने यिनै खोलानाला ।
एकसरो रोपेको धानलाई मुठीभरिको गाँज बनाइदिने, बाला झुलाइदिने यिनै खोलानाला । धान, मकै, गहुँ, जौ, आलु लगायत बाली सिञ्चित गरी हामीलाई मख्ख पारिदिने यिनै खोलानाला । ठ्याकै यस्तै समय हो, घाम तातोबाट बिस्तारै न्यानो बन्न सुरु गरेको हुन्थ्यो, घर अगाडिको खेत र बारीमा धान अनि कोदोका बाला फुल्दै हुन्थे । तरेली परेका सपाट फाँटमा हल्का चिसो तर रोमाञ्चक बतास बहेली खेल्थ्यो ।
बर्खा सकिएर लिपपोत गरेका घरका भित्तामा रातो माटो र कमेरोको गन्ध नाकमा हररर हुनेगरी आउँथ्यो । प्रकृतिले यसरी दसैंको झल्को दिँदै गर्दा ठूला झोला, डिब्बा र गुन्टा भरियालाई बोकाएर परदेश बाट फर्किएका परदेशीले अझै सघन दसैं बोकेर आउँथे । भर्खरै विवाहित नवजोडीका घरमा गाउँभरीबाट जम्मा गरेको दूधको कुराउनी (खुवा) पाक्दै हुन्थ्यो । चुलो बाहिरका हामी पिङ बाट्दै गरेका काकाहरूलाई पोया बनाउन बाबियो र सनपाटका बुच्छा दिन्थ्यौं । हजुरबुबाले ‘घटना र विचार’ सुन्ने रेडियोमा मंगलश्रीको शुभधुन बजिरहन्थ्यो ।
सफा कपडा, हँसिलो अनुहार र झोलाभरि खुसी बोकेर आएका परदेशीसँग बाहरूले ओखतीका रूपमा रम चखाउने वाचा गराउँथे, आमाहरूलाई बास्नादार साबुन, स्याम्पु तथा नयाँ डिजाइनका चप्पल आउँथे भने हाम्रो भागमा हामीले त्यतिबेला बाहेक नचाखेका मिठाई (चकलेट) आउँथे । ती मिठाईका रंगीन खोल हामी जम्मा गर्थ्यौं र फूल बनाउथ्यौं । त्यसरी पूरै गाउँमा छुट्टै तरङ्ग बोकेर आएका ती झोला, डिब्बा, गुन्टा नै रेमिट्यान्स रहेको बुझियो ।
दसैंको सामाजिक र सांस्कृतिक भव्यता, ओज र निरन्तरतामा आर्थिक उत्सव, यिनै झोला वा यही रेमिट्यान्सले थप्दो रहेछन्, घरको भित्ताको रङ, परिवारका कपडाको रङदेखि परिवारका सबैको अनुहारको हसिलो रङ, ती सबैको एउटै आधार त्यो बेलाबाट आज पनि रेमिट्यान्स नै हो र छ ।
गाउँ यतिविधि खाली भइसकेको थिएन, गाउँमा गाउँको छुट्टै प्राण थियो, त्राण थियो, शान थियो, मर्म र अस्तित्वबोध थियो, त्यतिबेलाको गाउँ आत्मनिर्भर थियो, आत्मसम्मानको आत्मबोधमा गौरव मानेर पौरख गरिरहन्थ्यो । आहिलेजस्तो आर्थिक लाभ मात्रै एकोहोरो यति ठूलो फरक ग्राफमा उकालो उक्लिएको थिएन, एउटा जीवित सभ्यता, आपसी भाइचारा र सहृदयता तथा आत्मिक मेल र सामूहिक खुसीको साझा उत्सव लिएर प्रत्येक दसैं हामीमाझ आइपुग्थ्यो ।
सांस्कृतिक परम्परा आत्मबोध गरी प्राकृतिक जीवनशैली, आत्मीय प्रेम र मायासहित सामाजिक सीमा र जिम्मेवारीभित्र हामीले दसैं मनाउँथ्यौं, यी सबैको साङ्गोपाङ्गो हामीले आर्जन गर्ने कमाइसँग प्रत्यक्ष जोडिन्थ्यो ।
यसरी परम्परादेखि नै दसैंको विराटतासँग रेमिट्यान्सको साइनो पारिवारिक साइनो जस्तै अकाट्य, महत्त्वपूर्ण र अनिवार्य छ । समयले मलाई यही सबैको घरमा साझा खुसी भित्र्याउने रेमिट्यान्स क्षेत्रमा काम गर्ने अवसर दियो र पछिल्लो १७ वर्षदेखि देश भित्रिएका खुसीका विभिन्न पक्ष र आयामलाई नजिकबाट तथ्य र तथ्यांक सहित बुझ्ने प्रयास गरिरहेको छु ।
कुनै संस्थागत सुरुवात हुन न सकेको हो वा हामीमा व्यावसायिक संस्कारको अभ्यास नभएर हो, हामीले हाम्रा आर्थिक आवश्यकता हाम्रा स्रोतबाट पूरा हुन सक्ने सम्भावनालाई नियालेनौं, वा हुन सक्थ्यो हाम्रा केही भौगोलिक, केही सामाजिक रिवाज, केही प्रशासनिक र राजनीतिक व्यवस्थाले हामीलाई हाम्रो माटोमा हाम्रा सम्भावनाका फूल फुल्न रोके, अथवा अझै हुन सक्छ हामी अरूले तय गरेका कामबाट सजिलो आर्जनको सजिलो बाटो रोज्यौं ।
सन्दर्भ जे जस्ता भए पनि आजको विश्व व्यवस्थाले भिन्नै स्वरूप लिइसकेको छ । अब हामी विश्व नागरिक बनिसकेका छौं । सुविधा र सम्भावनाका खोजीमा विदेशिनु वा आफ्नो स्थान छाड्नु कुनै नौलो र फरक कुरा रहेन, होइन ।
राजमार्गहरूमा यात्रा गर्दा राजमार्ग वरपर बनेका औसत साढे दुई तले पक्की घर, घर भित्रिएका ठूला टीभी, कपडा धुने मेसिन, पानी तताउने ग्यास गिजर सहित आधुनिक सुविधा तथा दैनिक कामकाजका लागि हामीले प्रयोग गर्ने हाम्रा सवारीसाधन, यी सबै कुरासँग प्रत्यक्ष योगदान गर्ने रेमिट्यान्सको क्षेत्रमा रहेर यो देशभित्र रहेका प्रत्येक रेमिट होल्डर मानिसको सेवामा सहभागी हुन पाउँदा मन अचेल प्रशन्न हुन्छ ।
हाम्रो देश, समाज, परिवार र व्यक्तिको जीवनको आर्थिक उन्नतिका रूपमा रहेको रेमिट्यन्सले व्यक्ति, परिवार, समाज र देशको सर्वपक्षीय विकासमा प्रत्यक्ष योगदानमा रेमिट्यान्सले नै गरेको कुरा रेमिट्यान्सका विभिन्न तथ्य र तथ्यांकबाट स्पष्ट हुन्छ । तर, पनि सात समुद्रपारिबाट आर्जित यस आर्थिक सफलताको सहज र सरल वितरणमा तय गरिएका विभिन्न कानुनी अड्चन मलाई मन परेका छैनन्, अघिल्ला आलेखमा यस विषयमा प्रशस्तै चर्चा गरेकाले दसैंजस्तो चाडसँग जोडिएर तयार गरेको यस आलेखमा त्यस्तो खराब पक्षको थप व्याख्या गर्दिनँ, गर्न मन लागेको छैन ।
बरु अचेल हामीले हासिल गरेको आर्थिक सफलताले हाम्रा अरू क्षेत्रमा देखाएको ह्रासले पीडाबोध चाहि हुन थालेको छ । देशलाई जब–जब आपत पर्छ, यही रेमिट्यान्स क्षेत्रले नै दरिलो सारथि बनेर सहयोग गर्ने गरेको छ । १० भदौ २०८३ बिहान भोटेकोशी नदीमा गएको अकस्मात र अकल्पनीय बाढीले निम्त्याएको विपद् होस् वा २०७२ सालको महाभूकम्प अनि त्यो २०७३ सालको नाकाबन्दी, यस्ता प्राकृतिक तथा अप्राकृतिक विपत्तिमा सबैभन्दा पहिलो सहयोग रेमिट्यान्स वा योसँग सम्बन्धित क्षेत्रले गर्ने गरेका छन् ।
आफ्नो वा परिवारको जीविकोपार्जनका लागि देशको सीमा पार गरेर रेमिट्यान्स आप्रवाह गर्ने अधिकांश युवाको उद्गम थलो ग्रामीण क्षेत्र हो । नेपाल राष्ट्र बंैकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ पहिलो महिना विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई २ खर्ब १५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो आव सोही अवधिमा २९.९ प्रतिशत बढेको थियो ।
यस्ता आर्थिक सूचकले क्षति पुर्याएका अन्य सामाजिक सूचकको क्षतिपूर्ति गर्न कुनै अर्को व्यवस्था अब हामीले गर्नुपर्ने आवश्यकता देखिन्छ । अब हामी बालापनमा पुग्न त सक्दैनौं तर अहिले बालापन भएकाले हामीले बाल्यकालमा मनाए जस्तै उत्सवपूर्ण र अर्थपूर्ण दसैं स्मृतिमा सधैं रहने गरी मनाउन पाउनुपर्छ ।
हजुरबुबा, हजुरआमाका देववाणी जस्ता आशिर्वाद, बुबाआमाको स्नेही रेखदेख, गाउँ छिमेकीको भरोसायोग्य संरक्षण तथा समकक्षी बालसखाका अन्त्यहीन खुसी किन हाम्रो समाजमा एक्कासि क्षिण भएर गयो । सामूहिक भाव, सहअस्तित्व, समान व्यवहार, साझा खुसी र साझा सफलतालाई किन रेमिट्यान्सका माध्यमबाट आर्जित आर्थिक लाभको प्रतिस्पर्धामा उछिन्न र लाभ गर्न खोजेको हो भन्ने प्रश्न अन्नुत्तरित छ ।
वस्तु विनिमयबाट सग्लो मानव सभ्यता निर्माण गरेका हाम्रा पुर्खाको आत्माले मुद्रा विनिमयद्वारा सुसज्जित हाम्रो दैनिक आचरण र जीवनशैली देख्दा दिक्क मान्दा हुन् कि नाइँ ? एउटा समय थियो– सबै आधार हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो । अहिले अवस्था पूरै उल्टिएको छ, अचेल हामीहरूको आर्थिक आधार पहिलाभन्दा राम्रो छ, तर अरू सबै आधार कमजोर र धराशायी बन्दै गएका छन् ।
प्रतिक्रिया 4