१५ असोज, काठमाडौं । नेपाली कांग्रेसले जनसम्पर्क समितिमा रहेकाहरूबाट समेत केन्द्रीय सदस्य बनाउने विधानमा व्यवस्था गरेपछि उम्मेदवारीका लागि धमाधम नाम सार्वजनिक गर्न सुरु गरेका छन् ।
संशोधित विधान अनुसार, जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । कांग्रेसको विदेशमा ३७ देशमा भ्रातृ संस्था जनसम्पर्क समिति क्रियाशील छन् । एसियाका देशहरूमा भारतस्थित जनसम्पर्क समितिबाट एक जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ । जनसम्पर्क समिति रहेका एसियाका अन्य देशबाट १ जना, युरोपबाट १ जना, मध्यपूर्वबाट १ जना, अमेरिका/क्यानडा लगायतका देशबाट १ जना र महिलाबाट १ जना केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ ।
जनसम्पर्क समितिबाट पनि केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएसँगै आकांक्षीहरूले आफ्नो उम्मेदवारी दाबी गरेका छन् । भारतका जनसम्पर्क समितिका पूर्व सभापति एवं आमन्त्रित पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् ।
जनसम्पर्क समितिमा रहेर केन्द्रीय सदस्यको आकांक्षीमा सीता सापकोटा र रविना थापा छन् । बेल्जियमस्थित जनसम्पर्क समितिको पूर्व सभापति सापकोटाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने अनलाइनखबरलाई जानकारी गराइन् । उनी विशेष महाधिवेशनको पक्षमा जनसम्पर्क समितिबाट अगुवाइ गर्ने नेतृ समेत हुन् । बेल्जियम जानु अघि उनी नेपालमा पार्टी राजनीतिमा सक्रिय थिइन् ।
एनआरएनएको पूर्व केन्द्रीय अध्यक्ष रविना थापा पनि कांग्रेस केन्द्रीय सदस्यको आकांक्षी हुन् । उनी अमेरिकास्थित जनसम्पर्क समितिमा आवद्ध छन् ।
मलेसियास्थित जनसम्पर्क समितिबाट चोलाकान्त पंगेनीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । २० वर्षदेखि मलेसियामा रहेका पंगेनी व्यवसायी हुन् । उनी जनसम्पर्क समितिमा लगातार तीनपटक सभापति चुनिएका छन् । उनी मलेसिया जानुअघि पार्टी राजनीतिमा क्रियाशील थिए ।
दक्षिण कोरियामा जनसम्पर्क समितिका पूर्वअध्यक्षद्वय गिरिराज कुँवर र नवराज सिवाकोटीले केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका छन् । कतारबाट विमल सुवेदी र राज रेग्मी केन्द्रीय सदस्यको आकांक्षी देखिएका छन् । युएईमा जनसम्पर्क समितिमा रहेका खेमराज बस्नेतले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा जुटिसकेका छन् ।
आयरल्याण्डमा जनसम्पर्क समितिका पूर्व सभापति अंकित ओलीले केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् । नेविसंघका पूर्व नेता ओली २०१७ देखि आयरल्याण्डमा कार्यरत छन् । नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेर हाल पनि निरन्तर क्रियाशील रहेको ओलीले अनलाइनखबरसँग बताए ।
‘प्रवासमा समेत नेपालीहरूको सेवा र सहयोगमा निरन्तर काम गर्दै आएको छ,’ ओलीले भने, ‘देश बाहिरबाट नेपालका सामाजिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको छु ।’
जर्मनीबाट टंक लम्साल र विजय मोक्तान केन्द्रीय सदस्यको आकांक्षी छन् । लम्साल र मोक्तान वीचमा सहमति जुटाएर एक जनालाई उम्मेदवार बनाउने प्रयास भएको छ । बेलायतबाट जनसम्पर्क समितिमा आवद्ध विश्व आदर्श पण्डित केन्द्रीय सदस्यको आकांक्षी छन् । उनी शंकर देव क्याम्पसमा नेविसंघ पूर्व सभापति समेत हुन् ।
नेदरल्याण्डबाट शालिक गौतम, जापानबाट नारायण सुवेदी, स्पेनबाट इन्द्र शर्मा अधिकारी लगायत केन्द्रीय सदस्यको आकांक्षी छन् ।
कांग्रेसले जनसम्पर्क समितिको अध्यक्ष निर्वाचित हुन क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनपर्ने व्यवस्था गरेको छ । जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि क्रियाशील नेपाली नागरिक र पार्टी सदस्यता अनिवार्य हुनपर्दछ ।
कांग्रेसले सदस्य संख्याको आधारमा जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि छनोट हुने विधि बनाएको छ । कम्तीमा एक सय सदस्य रहेका जनसम्पर्क समिति भएको देशबाट दुई जना महाधिवेशन प्रतिनिधि हुनेछन् । कम्तीमा एक सय सदस्य रहेका देशबाट सभापति र थप एक जना गरी दुई व्यक्ति महाधिवेशन प्रतिनिधि हुन पाउने छन् ।
पाँच सय वा त्यस भन्दा बढी सदस्य रहेका जनसम्पर्क समितिबाट सभापति सहित सहित सात जना महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । दुई हजार वा त्यसभन्दा बढी सदस्य रहेका जनसम्पर्क समितिबाट सभापति सहित १४ जना जना महाधिवेशन प्रतिनिधि हुनेछन् ।
प्रतिक्रिया 4