+
+
Shares

सर्पले टोकेपछि स्कुटर चलाएर अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए

अवस्था बिग्रिएपछि रिफर, आईसीयूका लागि चहार्दा–चहार्दै मृत्यु

होसमै आफैं स्कुटर चलाएर आएको बिरामीलाई समेत अस्पतालले बचाउन सकेन । सुरुमै आईसीयू खाली छैन भनेर रिफर गरिदिएको भएपनि ज्यान जोगिने रहेछ- मृतकका भिनाजु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते २१:२२

१५ असोज, जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालमा उचित उपचार नपाएर सर्पदंशबाट एक युवकले ज्यान गुमाएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादवले ज्यान गुमाएका हुन् ।

परिवारका अनुसार महेशलाई मंगलबार राति साढे १२ बजे सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएलगत्तै आफै स्कुटर चलाएर प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए । उनले आफूसँगै काकाका छोरा(भाइ)लाई पनि ल्याएका थिए ।

अस्पताल पुगेलगत्तै आफै टिकट काटेर भर्ना भएका थिए । त्यसपछि उपचार सुरु भएको थियो ।

अस्पताल पुगेको करिब दुई घण्टापछि महेशले असहजता महशुस गर्न थालेको उनका भिनाजु उमेश यादव बताउँछन् । सो क्रममा उनले दुई पटक वान्ता गरेका थिए ।

त्यसपछि उनले पेट दुख्न थालेको र घाँटी घेरिएको जस्तो महशुस भइरहेको बताएको उनका भिनाजुले बताए ।

‘चिकित्सकले महेशलाई आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भन्नुभयो । तर, अस्पतालमा आईसीयू र भेन्टिलेटरका बेड खाली छैनन् भनिन्,’ उनका भिनाजु उमेशले भने । अस्पताल स्रोतका अनुसार त्यहाँ १० बेड आईसीयु र तीन बेड भेन्टिलेटर सञ्चालनमा छन् ।

तर, अस्पतालमा आईसीयू र भेन्टिलेटरका बेड खाली नभएको भन्दै अन्तिम अवस्थामा अन्यत्र जान भनेर रिफर गरिदिएको उनका भिनाजु उमेशले बताए ।

त्यसपछि त्यहाँबाट महेशलाई जनकपुरमै रहेको ओम दीर्घायू अस्पताल लगिएको उनले जानकारी दिए । ‘तर त्यहाँ सर्पदंशको औषधि नभएको भन्दै भर्ना लिन मानेन,’ उमेशले भने, ‘त्यहाँबाट तत्कालै धनुषाको सखुवा महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्र लग्यौं ।’

त्यहाँ पनि आईसीयुको सुविधा नभएको भनेपछि महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र लगिएको उमेशले बताए ।

‘त्यहाँ पुगेपछि चिकित्सकले मृत घोषणा गरिदियो,’ उनले भने ।

प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्षका इन्चार्ज डा. शरद यादवका अनुसार महेश अस्पताल आउँदा सुरुमा सर्पदंशको लक्षण देखिएको थिएन । उनलाई एक घण्टा निगरानीमा राखेर उपचार सुरु गरिएको थियो ।

अस्पतालमा १० भाइल एन्टी स्नेक भेनम दिइएको उनले बताए । ‘पछि सर्पदंशको लक्षण देखिन थालेपछि राति १ बजेर ४० मिनेटमा भर्ना गरियो । र, साढे ४ बजेतिर अन्यत्र रेफर गरिएको हो,’ डा. यादवले भने । आईसीयू र भेन्टिलेटर खाली नभएकै कारण महेशलाई रेफर गरिएको उनले बताए ।

महेशका भिनाजु उमेश भने अस्पतालले समयमै आईसीयू र भेन्टिलेटर खाली नभएको जानकारी दिएको भए बाहिर लगेर ज्यान जोगिनसक्ने अवस्था रहेको बताउँछन् ।

‘होसमै आफैं स्कुटर चलाएर आएको बिरामीलाई समेत अस्पतालले बचाउन सकेन । सुरुमै आईसीयू खाली छैन भनेर रिफर गरिदिएको भएपनि ज्यान जोगिने रहेछ,’ उनी भन्छन्, ‘अवस्था बिग्रिएपछि मात्र भनियो । अस्पतालकै कारण मेरो सालोको ज्यान गएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?