+
+
Shares

जहाज थपेर मात्र निगम सुध्रिँदैन, कठोर निर्णय लिने बेला आयो : पर्यटनमन्त्री पौडेल

मन्त्री पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते ११:३७

१६ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री खडकराज पौडेलले नेपाल वायु सेवा निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन् । उनले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्राउनुको औचित्य नहुने पनि बताए ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान प्रशासनिक ढाँचा र व्यवस्थापकीय कमजोरीमा सुधार नआएसम्म जहाज थपेर मात्रै निगमको साख उकास्न नसकिने बताएका हुन् ।

यदि यस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने हालसम्म बन्द भइसक्ने उनले बताए । ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ । निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो । तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन, राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो । त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ,’ उनले भने ।

मन्त्री पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताए ।

‘ऋणको भार घटाउने, इक्विटी बढाउने र अत्यधिक ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकार र सम्बन्धित निकायले गम्भीर पहल गर्नुपर्छ,’ उनले भने, ‘जहाज थप्ने, लिजमा लिने र फ्लीट आधुनिकीकरण गर्नुपर्छ । वाइडबडी जहाजको ओभरहलका लागि आगामी केही महिनामै ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको वित्तीय योजना तत्काल बनाउनुपर्छ ।’

उनले एयरलाइन्सको विद्यमान समस्या समाधानका लागि सार्वजनिक–निजी साझेदारी मोडलमा जानुपर्ने सरकारको नीति रहेको जानकारी गराए । यसमा सार्वजनिक बहसको आवश्यकता रहेको उनले बताए ।

विगतमा कोभिड–१९ को समयमा ब्याजलाई पुँजीकरण (क्यापिटलाइजेसन) गरिएको विषयलाई उनले ‘मिटरब्याज सरह’को व्यवहार भएको टिप्पणी गरे ।

संस्थानको व्यवस्थापकीय कमजोरी औंल्याउँदै मन्त्री पौडेलले जनशक्ति योजना, मार्केटिङ र परिचालन रणनीतिसमेत नभएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?