काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल अन्तर्गत चलचित्र प्रवद्र्धन समितिको आयोजनामा राष्ट्रिय चलचित्र दिवस मनाइएको छ ।
भर्चुअलरुपमा आयोजना गरिएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो भने नेपाली फिल्मको यात्रा र चुनौतीबारे सहभागीले धारणा राखेका थिए ।
केन्द्रीय चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितले पछिल्लो समय चलचित्र चलचित्र जाँच कार्य सहज बनेको बताए । नेपाली फिल्मले फड्को मार्न कथावाचन शैलीमा परिवर्तन र नवीनता आवश्यक रहेको धारणा राखे ।
चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष लोहनीले नेपाली फिल्मको स्तरोन्नतिका लागि बोर्डले फिल्मसँग सम्बन्धित संघसंस्था तथा फिल्मकर्मीसँग हातेमालो गर्दै अगाडि बढ्न सधैँ तयार रहेको बताए ।
इनास ग्लोबलका महासचिव प्रकाश तिवारीले फिल्म फेस्टिभलमा सहभागी हुँदाका अनुभव साझा गरे । निर्देशक सुमन दाहालले आफू विदेशमा रहे पनि आफूले फिल्म तथा सञ्चार क्षेत्रलाई कुनै न कुनै रूपमा निरन्तरता दिइरहेको बताए ।
अभिनेता रवीन्द्र खड्का, इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, क्षेत्रीय सह-संयोजक दिनेश कार्की, निर्देशक राजु केसी, इनास अमेरिकाका उपाध्यक्ष विकास घले, अभिनेता राजवल्लभ कोइरालाले शुभकामना आदानप्रदान गरे ।
साथै, अभिनेता सुवास थापा, वितरक प्रतीक सुवेदी, नृत्य निर्देशक सुनिल गिरी, प्राविधिक कृष्ण कोइराला, सम्पादक हरि सिलवाल, इनास अमेरिकाका सचिव चिरञ्जीवी गुरागाईं, अभिनेत्री आशिष्मा नकर्मीले पनि शुभकामना आदानप्रदान गरे ।
कलाकार उषा पौडेल, अरुणिमा लम्साल, नन्दिता केसी, युना उप्रेती, सौजन्य सुब्बा र अरुणा कार्की, जीवन लुइँटेल र मुकेश ढकाल, बाबु बोगटी, रतन सुवेदी, बाबुराम ढकाल, निर्माता संघका अध्यक्ष उदय सुब्बा, कलाकार संघका अध्यक्ष उत्तम केसी तथा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, पत्रकार अर्जुन संग्रौला लगायतले शुभकामना सन्देश पठाएर राष्ट्रिय शुभकामना व्यक्त गरे ।
चलचित्र प्रवद्र्धन समिति (इनास ग्लोबल) का संयोजक गोपालचन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम समितिका सह-संयोजक विष्णु शर्माले सञ्चालन गरेका थिए ।
कार्यक्रम समापन गर्दै संयोजक लामिछानेले चलचित्र संसारको भाषा र भूगोलको सीमाभन्दा फराकिलो रहेको उल्लेख गर्दै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय दर्शकसँग जोड्ने सोच र सिर्जनशीलताको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘चलचित्र आफैँमा एउटा संसार हो । अब नेपाली चलचित्र क्षेत्रले नेपाली भाषा बुझ्ने दर्शकमा मात्र सीमित नभई संसारका अन्य भाषी दर्शकलाई समेत नेपाली चलचित्रको दुनियाँसँग साइनो गाँस्ने खालका चलचित्र निर्माण गर्ने दिशामा सोचको विकास गर्न ढिला गरे धेरै पछि परिन्छ ।’
यसअघि २०८२ सालमा पनि इनास अमेरिका र द स्टोरी टेलर्सको आयोजनामा बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीको अध्यक्षतामा अमेरिकाको मेरिल्यान्डबाट भर्चुअलरुपमा दिवस मनाइएको थियो ।
पहिलो नेपाली फिल्म ‘आमा’को प्रदर्शन मितिलाई आधार मानेर सरकारले हरेक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’को रुपमा मनाउन थालेको हो ।
प्रतिक्रिया 4