जितिया नजिकिँदै गर्दा मिथिलाका भान्सामा एउटा अनौठो बासना आउन थाल्छ । मडुवाको रोटीको, मसला लागेको स्थानीय माछाको, र वर्षौँदेखि आमाहरूले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको एउटा मौन परम्पराको बासना ।
बाहिर पर्वको तयारी चलिरहेको हुन्छ, भित्र चुल्होमा माछको झोल उम्लिरहेको हुन्छ । रोटी सेक्ने हातलाई भोलिदेखि एक थोपा पानी पनि नपिई व्रत बस्नुपर्ने हुन्छ । जितियाका लोकगीतहरूमा पनि मडुवाको रोटी र माछाको चर्चा अनिवार्य जस्तै सुनिन्छ ।
विगतलाई फर्केर हेर्दा, मिथिलाका ग्रामीण भेगमा मडुवा सजिलै उब्जने अन्न थियो । सम्पन्न वर्गका लागि गहुँ र चामल हुन्थ्यो भने विपन्न परिवारको मुख्य खाना यही मडुवा नै हुन्थ्यो ।
त्यसैगरी पोखरी वा खोल्साखोल्सीमा सहजै पाइने ट्याङ्ग्रा, पोठी, गरै, झिंगे जस्ता साना माछाहरू विपन्न वर्गको पहुँचमा हुन्थे । ठूला पोखरीहरूका पालिने रँहु, भाकुर ठूलाबडाका थालमा पुग्थे । जितिया आउँदा धनी–गरिब सबैका घरमा ट्याङ्ग्रा वा स्थानीय माछा र मडुवाको रोटी पाक्थ्यो ।
अघिल्लो दिन माछ–मडुवा खाएर सुरु हुने यो कठोर निर्जल व्रतको दिन आमाहरू घिरौँलाको पातमा पूजा सामग्री सज्याउँछन् । पिना, सख्खर र तेल चढाएर पितृ र जितवाहनको पूजा गरिन्छ । घरभरि उत्सवको उत्साह पनि हुन्छ र श्रद्धाको गम्भीरता पनि हुन्छ ।
सामान्यतः धार्मिक व्रतको अघिल्लो दिन मांसाहारलाई वर्जित वा अस्वाभाविक मानिन्छ । तर जितियाको कथा र परम्परा अलग्गै छ । मिथिलाञ्चलमा जितियाको अघिल्लो दिन माछा र मडुवा खानुलाई सांस्कृतिक रूपमै स्वीकार गरेका छन् । यसलाई लोकबोलीमा ‘माछ–मडुवा’ भनिन्छ ।
जितियामा माछा र मडुवाकै स्थान किन ?
धर्म र लोकजीवनको संगम
जितिया अर्थात् जीवित्पुत्रिका व्रत मूलतः सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामनाका लागि बसिने पर्व हो । धार्मिक आख्यान अनुसार राजा जीतवाहनको त्याग, समर्पण र अर्काको सन्तानको जीवन जोगाउन उनले गरेको बलिदानको कथा यस पर्वसँग जोडिएको छ । यो पर्वसँग चिल र स्यालको कथा पनि जोडिएको छ । यसको मुल मर्म केवल उपवास बस्नु मात्र होइन, अरूको जीवन रक्षाका लागि त्याग गर्नु र सन्तानप्रतिको अगाध वात्सल्य प्रकट गर्नु हो ।
माछ–मडुवा खानु कुनै कडा शास्त्रीय विधान नै हो भन्न सकिदैन । यसलाई मिथिलाको लोकपरम्पराले जीवनका क्रममा विकास गरेको एउटा मौलिक सांस्कृतिक अभ्यास हो भन्नु बढी व्यवहारिक हुन्छ । भूगोल, समुदाय र परिवारअनुसार यसका विधिहरूमा केही भिन्नता पाइन्छ । सबैले माछा–मडुवा खान्छन् नै भन्न सकिँदैन । यसले के देखाउँछ भने, जितियाको धार्मिक मर्म एउटै भए पनि त्यसको लोकजीवनका रङहरू भने विविध र समावेशी छन् ।
माछा : नदी र पोखरीसँग गाँसिएको जीवन
मिथिला पानीको भूगोल हो । यहाँका नदी, पोखरी र जलाशयहरू केवल प्राकृतिक स्रोत मात्र होइनन्, यहाँको जनजीवनका अभिन्न अङ्ग हुन् । त्यहाँ माछा केवल भान्साको एउटा परिकार मात्र थिएन, स्थानीय उत्पादन, संस्कृति र जीवनपद्धतिको प्रतिबिम्ब थियो ।
जितियामा माछाको प्रयोग हुनुले स्थानीय खाद्य संस्कृति र आफ्नै परिवेशको उत्पादनलाई प्रवर्द्धन गर्ने सामाजिक सोचलाई दर्शाउँछ । यस पर्वले बाहिरबाट आउने महँगा वस्तुमा निर्भर हुनुको सट्टा आफ्नै माटो, आफ्नै नदी र आफ्नै आँगनको उत्पादनलाई आदर गर्न सिकाउँछ । त्यसैले माछ–मडुवा परिकार मात्र नभएर हाम्रो रैथाने अर्थतन्त्र र जीवनपद्धतिको स्मृति पनि हो ।
मडुवा : बिर्सिएको अन्नको कथा
आज हामी कोदोलाई ‘मिलेट’ को आधुनिक नाम दिएर पोषणको नयाँ बहस गरिरहेका छौँ । तर हाम्रा पुर्खाहरूका लागि यो कुनै नयाँ ‘सुपरफुड’ थिएन । यो त सुख्खा र कठिन मौसममा पनि माटोमा फल्ने, घरमै पिसिने र भान्सामा सहजै पाक्ने अन्न थियो ।
आजको विज्ञानले कोदोको पोषण क्षमतालाई पुष्टि गरेको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार कोदोमा फाइबर, खनिज, भिटामिन र प्रोटिन प्रचुर मात्रामा पाइन्छ । विशेषगरी ‘फिङ्गर मिलेट’ (कोदो) क्याल्सियम र फलाम (आइरन) को उत्कृष्ट स्रोत हो । यद्यपि वैज्ञानिक तथ्यलाई आधार बनाएर पुर्खाहरूले जितियाको उपवास अगाडि मडुवा खाने चलन बनाएका पक्कै होइन होला ।
परम्परा पहिले आयो कि पोषणको ज्ञान ? यसको अकाट्य ऐतिहासिक प्रमाण हामीसँग छैन । तर हाम्रा पुर्खाले बचाएर ल्याएको परम्परागत खानामा आजको आधुनिक विज्ञानले पोषणको नयाँ अर्थ र महत्व भेट्टाउँदै आएको छ भन्दा फरक नपर्ला ।
माछाको पोषणीय पक्ष
माछा उच्च गुणस्तरको प्रोटिन र अत्यावश्यक फ्याटी एसिड (जस्तै ओमेगा–३) को प्रमुख स्रोत हो । एफएओ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिवेदनअनुसार माछाले शरीरलाई आवश्यक ऊर्जा र सुक्ष्म पोषक तत्त्वहरू प्रदान गर्दछ ।
लामो र कठोर निर्जल व्रत सुरु हुनुअघि खाइने दर मा माछ–मडुवा लाई स्थान दिइएको छ । यसलाई पोषण विज्ञानको आँखाबाट हेर्दा– कोदोमा हुने कार्बोहाइड्रेड ढिलो पच्ने र लामो समय ऊर्जा दिने खालको हुन्छ । माछामा उच्चकोटीको प्रोटिन तथा स्वस्थ चिल्लो पाइने कुरा विज्ञानले समेत पत्ता लगाएको हो । जितियामा खाइने यो खानलाई यी दुईको उत्कृष्ट संयोजन मान्न सकिन्छ । यसले लामो ब्रतका लागि आवश्यक शक्ति सञ्चय गर्न मद्दत पुर्याउँछ ।
एउटै थालमा बहुआयामिक कथा
सायद जितियाको सौन्दर्य नै यही बहुआयामिकतामा निहित छ । एउटै थालमा धार्मिक आस्था छ । त्यँही थालमा श्रम, कृषि र रैथाने अन्न छ । त्यही थालमा जलाशय र स्थानीय पारिस्थितिको को इतिहास पनि छ । र आजको आधुनिक आँखाले हेर्दा त्यहाँ पोषण विज्ञानको उज्यालो पनि छ । माछा पानीसँग जोडिन्छ, मडुवा माटोसँग । र यी दुवैको बीचमा सेतु बनेर उभिएकी हुन्छिन्, ‘आमा’ ।
भोलि बिहानैदेखि आफ्ना लागि पानीको एक थोपा पनि नपिई कठोर व्रत बस्नुछ भन्ने थाहा हुँदाहुँदै पनि, आज उनी परिवारका लागि श्रद्धापूर्वक खाना पकाउँछिन् । सन्तानलाई खुवाउँछिन् । अनि आफ्ना लागि होइन, आफ्ना सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै ईश्वरसामु प्रार्थना गर्छिन् ।
त्यसैले जितियाको वास्तविक केन्द्र माछा होइन, मडुवा होइन, न त पूजाका अन्य सामग्री नै हुन् । जितियाको वास्तविक केन्द्र त ‘मातृत्व’ हो । अनि माछ–मडुवा त्यही अमूल्य मातृत्वको सांस्कृतिक र पोषणीय अभिव्यक्ति हो ।
परम्परा र विज्ञानको सन्तुलन
हामीले आफ्ना परम्पराहरूलाई हेर्दा दुईवटा अतिवादी दृष्टिकोणबाट जोगिनुपर्छ । पहिलो, पुरानो भएकै कारण सबै कुरालाई ‘अन्धविश्वास’ भनेर त्याग्न खोज्ने नियत । र अर्को पुरानो भएकै कारण वैज्ञानिक प्रमाणबिना नै हरेक रीतिरिवाजलाई ‘पूर्ण वैज्ञानिक’ दाबी गरिहाल्ने प्रयास । यी दुवै दृष्टिकोण अपूर्ण छन् ।
जितियाको माछा–मडुवालाई आस्थाका रूपमा सम्मान गर्दै, यसको सामाजिक र सांस्कृतिक इतिहासलाई बुझ्नुपर्छ । यसमा पोषण विज्ञानको दृष्टि जोड्नु नै सही अर्थमा परम्पराको सम्मान पनि हो । यस्ता संस्कृतिले पूजा गर्ने तरिका मात्र नभई जीवन जिउने र खाने तरिका पनि सिकाउँछन् ।
प्रतिक्रिया 4