+
+
Shares

कृषिमन्त्री भन्छिन्– अब जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्छ

अन्तर्राष्ट्रियस्तरमा सामान्य समस्या आउँदा पनि नेपालमा मल आपूर्तिमा समस्या हुने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले स्वदेशमै रासायनिक तथा जैविक मल उत्पादन गर्ने उद्योग स्थापनाको आवश्यकता रहेको बताइन् ।

रासस रासस
२०८३ असोज १६ गते १८:१३

१६ असोज, रुपन्देही । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन र कृषि उत्पादनलाई दिगो बनाउन किसानले जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताएकी छन् ।

लुम्बिनी प्रदेशस्तरीय अनुदानित मल वितरण सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘रासायनिक मलको अत्यधिक प्रयोगले माटोको गुणस्तरमा असर पर्ने भएकाले माटो सुधारलाई प्राथमिकतामा राखि कृषि नीति र कार्यक्रम अघि बढाइने छ,’ उनले भने ।

मन्त्री चौधरीले पहिले किसानले गोठको मल, घरबाट निस्कने कुहिने तथा जैविक फोहर खेतबारीमै प्रयोग गर्ने गरेको स्मरण गरिन् । ‘अहिले स्थानीय तहले फोहर व्यवस्थापनका क्रममा प्लास्टिकसँगै कुहिने जैविक फोहरसमेत डम्पिङस्थलमा लैजाने गरेका छन् । प्लास्टिक फोहर व्यवस्थापन आवश्यक भए पनि जैविक पदार्थलाई छुट्याएर मलका रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भनिन् ।

अन्तर्राष्ट्रियस्तरमा सामान्य समस्या आउँदा पनि नेपालमा मल आपूर्तिमा समस्या हुने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले स्वदेशमै रासायनिक तथा जैविक मल उत्पादन गर्ने उद्योग स्थापनाको आवश्यकता रहेको बताइन् ।

देशको आवश्यकता, उपलब्धता र उत्पादन क्षमताको यथार्थ तथ्याङ्क तयार गरी मलको दीर्घकालीन व्यवस्थापन गर्न सरकार लागिरहेको उनले बताइन् ।

मन्त्री चौधरीले रासायनिक मलको सन्तुलित वितरणका लागि स्थानीय तह, प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी अनुगमन गर्न सुझाव दिइन् । उनले भनिन्, ‘किसानले आवश्यक परेको समयमा मल पाउनुपर्छ । मल वितरणमा कुनै पनि किसिमको कमी–कमजोरी गर्न पाइँदैन ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?