+
+
Shares

सडक दुर्घटनाका घाइतेलाई अस्पताल पुर्‍याउने असल उद्धारकर्तालाई कानुनी संरक्षण

प्रहरी–अदालतको झन्झट व्यहोर्नु नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १४:०७

१७ असोज, काठमाडौं । सडक दुर्घटनामा परी छटपटाइरहेका घाइतेहरूलाई कानुनी फन्दा र प्रहरीको झन्झटमा परिने डरले उद्धार गर्न हिचकिचाउने प्रवृत्ति अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका घाइतेलाई सहयोग गर्ने ‘असल उद्धारकर्ता’ लाई पूर्ण रूपमा कानुनी संरक्षण प्रदान गर्ने व्यवस्था अघि सारेको हो।

विधेयकको दफा २७ ले सडक दुर्घटनाको जानकारी र उद्धारसम्बन्धी व्यवस्था गर्दै उद्धारमा खटिने सर्वसाधारणलाई देवानी तथा फौजदारी दायित्वबाट उन्मुक्ति दिएको छ। उक्त दफाको उपदफा (२) मा स्पष्ट रूपमा भनिएको छ, ‘सवारी दुर्घटनामा परेकालाई दुर्घटनास्थलमा आपतकालीन चिकित्सा वा गैर चिकित्सकीय हेरचाह वा सहायता प्रदान गर्ने वा पीडितलाई अस्पताल पुर्‍याउँदा असल मनसायका साथ काम गर्दा कुनै चोटपटक लागेमा वा मृत्यु भएमा असल उद्धारकर्ता (गुड सामरिटन) लाई कुनै पनि देवानी तथा फौजदारी कारबाहीको लागि जिम्मेवार बनाइनेछैन।’

यसको अर्थ, यदि कसैले दुर्घटनाका घाइतेलाई अस्पताल लैजाँदै गर्दा बाटोमै घाइतेको मृत्यु भयो वा उद्धार गर्ने क्रममा अन्जानमै थप चोटपटक लाग्न गयो भने पनि उद्धारकर्तामाथि कुनै पनि कानुनी कारबाही वा मुद्दा चलाइने छैन।

विधेयकले ‘असल उद्धारकर्ता’ को स्पष्ट परिभाषासमेत गरेको छ। स्पष्टीकरण खण्डमा उल्लेख भएअनुसार, ‘कुनै पुरस्कार वा लाभको अपेक्षा नराखी असल मनसायका साथ स्वेच्छाले दुर्घटना भएको स्थलमा मनासिब सावधानीपूर्वक प्राथमिक उपचार गर्ने, हेरचाह गर्ने वा सहायता प्रदान गर्ने वा पीडितलाई अस्पताल पुर्‍याउने व्यक्ति’ लाई असल उद्धारकर्ता मानिनेछ।

हालसम्म सडकमा दुर्घटना हुँदा घाइतेलाई अस्पताल पुर्‍याउने व्यक्तिले नै प्रहरीको बयान झेल्नुपर्ने, कहिलेकाहीँ उल्टै आरोप खेप्नुपर्ने र समयको बर्बादी हुने डरले सर्वसाधारण तर्किने गरेका थिए।

यो विधेयक संसद्‌बाट ऐनका रूपमा पारित भएपछि मानवीय सहायता गर्नेहरूले बिना कुनै डर–त्रास घाइतेको सहयोग गर्न सक्ने वातावरण बन्नेछ। यसले दुर्घटनालगत्तै घाइतेले तत्काल उद्धार र उपचार पाउने सम्भावना बढाउने र मृत्युदर घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?