+
+
Shares

महाधिवेशनलाई नेतामात्रै होइन नीति चयनको रूपमा अघि बढाइन्छ : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १६:३५

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जनाएको छ ।

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको बताए ।

यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पुर्‍याउने उनको भनाइ थियो ।

प्रवक्ता चालिसेले उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने र विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उल्लेख गरे ।

उनले असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिए । उम्मेदवारीको नामाङ्कन गर्ने समयभन्दा अगाडि, दिनभन्दा अगाडि विधानको संशोधन भइसक्ने उनको भनाइ छ । नेतृत्व चयनका लागि मतपत्रबाटै निर्वाचन हुने उनले बताए ।

प्रवक्ता चालिसेले  आइतबारको उद्घाटनसत्रपछि सुरु हुने बन्द सत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने र सभापतिले आगामी ५ वर्षको लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने जनाए ।

महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको र रु. ३,५०० दर्ता शुल्क तिरेर रजिस्ट्रेसनको व्यवस्था गरिएको उनले बताए ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?