१७ असोज, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताएका छन् ।
नेपाल कानुन समाजद्वारा आयोजित एक कार्यक्रममा उनले कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहेपनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताएका हुन् ।
कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उनले भने, ‘कुष्ठरोगको समस्या घटाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ । तथ्याङ्क घट्दो अवस्थामा रहेको र कुष्ठरोगसँगै प्रदेशमा नसर्ने रोगको समस्या बढ्दै गएको देखिएको छ ।’
मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोग लागेका व्यक्तिले सामाजिक लाञ्छना र विभेद्को डरले रोग लुकाउने अवस्था रहेको भए पनि पछिल्लो समय त्यस्तो अवस्था क्रमश: कम हुँदै गएको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनुपर्ने धारणा राखे । रोगका कारण हुने सामाजिक विभेद् अन्त्य गर्न राज्यका कार्यक्रमसँगै समुदायस्तरमा चेतना विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानव अधिकारसँग जोडिएको विषय भएको बताए । उनले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास जगाउन आवश्यक रहेको बताए ।
वरिष्ठ छाला रोग विशेषज्ञ डा रवीन्द्र बाँस्कोटाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा दुई हजार ४०९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । उपचारमा रहेका बिरामीको सङ्ख्या दुई हजार ६०८ रहेको छ ।
स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५४७ जना कुष्ठरोगका बिरामी छन् ।
कुष्ठरोगका कारण हुने लाञ्छना र भेद्भाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएका उनले बताए ।
प्रतिक्रिया 4