+
+
Shares

दुई महिनापछि सुल्झियो महिला हत्या घटनाको रहस्य, मृतक र आरोपी दुवै भारतीय

२२ साउनमा हेटौंडा-१५ स्थित सेल्फी रोड नजिकै सामुदायिक वनमा खातुनको शव फेला परेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १८:३१

१७ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा करिब दुई महिनाअघि मृत भेटिएकी महिलाको पहिचान खुलेसँगै घटनाको रहस्य खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई महिना लामो अनुसन्धानपछि मृतक महिला भारतीय नागरिक २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुन रहेको खुलेको छ । उनको हत्यामा २७ वर्षीय राहुलकुमार गुप्ता भन्ने ईश्वर कुमारको संलग्नता खुलेको प्रहरी नायव उपरीक्षक(डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

२२ साउनमा हेटौंडा-१५ स्थित सेल्फी रोड नजिकै सामुदायिक वनमा खातुनको शव फेला परेको थियो । सुरुमा शवको पहिचान हुन नसकेपछि प्रहरीले मृतकको स्केच,  लगाएको कपडा तथा शरीरमा रहेका गहना र अन्य चिनारीसहित सार्वजनिक गर्दै पहिचानका लागि अपिल गरेको थियो ।

मृतकले लगाएको कपडा, खुट्टाको औंलामा लगाएको बिच्छिया, कानमा लगाएको मुन्द्रा, दुवै हातमा लगाएको रातो–हरियो रङको बाला र नाकमा लगाएको फुलीसमेतका आधारमा अनुसन्धान अघि बढाइएको डीएसपी काफ्लेले बताए ।

अनुसन्धानका क्रममा मृतक महिला घटना हुनुभन्दा करिब दुई महिना अघिदेखि चितवनको भरतपुर महानगरपालिका–३ गणेशमार्ग टोलमा कोठा भाडामा लिएर बसेको खुलेको छ । उनीसँगै हत्या आरोपी ईश्वर कुमार पनि त्यहाँ बस्दैआएको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित घरधनीबाट यस्तो विवरण खुलेपछि प्रहरीले भारतीय प्रहरीको समेत सहयोगमा घटनाबारे थप अनुसन्धान गरेको थियो ।

भारतीय प्रहरीको सहयोगमा स्थलगत रूपमा बुझ्दा मृतक खातुन विवाहित रहेको खुलेको प्रहरीको भनाइ छ । उनी वैशाख ९ मा भारतको बेतिया सरैया भटवलिया–६ स्थित श्रीमानको घरबाट दाँतको उपचार गर्न भन्दै ६ महिनाकी छोरीलाई साथमा लिएर हिँडेको र त्यसपछि सम्पर्कविहीन भएको खुलेको छ ।

त्यसपछि उनको खोजतलासका लागि भारतको बैरिया प्रहरी थानामा निवेदनसमेत दिइएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार कर्तव्य गरी मारेको उक्त घटनाका सम्बन्धमा ईश्वर कुमारको संलग्नता रहेको अनुसन्धानबाट खुलेको डीएसपी काफ्ले बताउँछन् ।

मृतककी आमा फातमा खातुनले आरोपित ईश्वर कुमारविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी छन् ।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा मृतक महिलाको डीएनए परीक्षण गरेको थियो । डीएनए रिपोर्टअनुसार मृतकको डीएनए नमुना उनकी आमाको डीएनए नमुनासँग मेल खाएपछि शव रुची खातुनकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि शुक्रबार मृतककी आमा फातमा खातुनले शव बुझी लगेकी छन् । आरोपित ईश्वर कुमारविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाल उनी भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको मकवानपुर प्रहरीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?