१७ असोज,बुटवल । कोरोना महामारी आउनुअघि तिरास लाम्टाङ्गे मगरको परिचय होटल म्यानेजमेन्ट पढाउने शिक्षकका रूपमा थियो । बिहानदेखि साँझसम्म विभिन्न कलेज, विद्यार्थी र कक्षाकोठामै उनको समय बित्थ्यो । बुटवलका विभिन्न कलेजमा होटल म्यानेजमेन्ट पढाउँदै गर्दा उनको करिअरको बाटो पनि लगभग यही नै तय भइसकेको थियो ।
तर, २०७६ सालमा नेपालमा कोरोना महामारी भित्रियो । त्यसको प्रत्यक्ष असर निजी शिक्षण संस्थामा पर्यो । कलेज बन्द भए, कक्षा रोकिए र निजी स्रोतमा काम गर्ने शिक्षकका लागि आम्दानीको बाटो पनि बन्द भयो ।
तिरास पनि बेरोजगार भए । तर त्यही बेरोजगारी उनको जीवनको करियर बदल्ने घुम्ती बन्यो । होटल म्यानेजमेन्ट पढेका तिरासले अब अरूको संस्थामा जागिर खोजेर मात्र बस्नेभन्दा आफ्नै क्षेत्रमा केही गर्ने सोच बनाए । त्यही सोचबाट बुटवलमा ‘द कफी हब’ सुरु भयो । कफी, बारिस्टा, बेकरी र हस्पिटालिटीसम्बन्धी तालिमबाट सुरु भएको उनको यात्रा अहिले नेपालको हस्पिटालिटी क्षेत्रलाई सामाजिक सञ्जालमार्फत विश्वसामु चिनाउने अभियानसम्म आइपुगेको छ ।
आज तिरासको परिचय होटल म्यानेजमेन्ट शिक्षक वा व्यवसायीमा सीमित छैन । उनी हस्पिटालिटी कन्टेन्ट क्रियटरकारूपमा चिनिन थालेका छन् ।
उनको अभियानको अर्को विशेषता छ— उनले होटल तथा रेस्टुरेन्टको भिडियो कन्टेन्ट बनाएको र प्रचार गरेबापत पैसा लिँदैनन् ।
‘नेपालको हस्पिटालिटीलाई विश्वभर चिनाउने मेरो सोख हो, म पैसा आर्जनका लागि यो काम गरेको होइन’, उनी भन्छन्, ‘मेरो काम देखेर धेरै होटल तथा रेस्टुरेन्ट व्यवसायीले पारिश्रमिक सोधेर रकम दिन खोज्नुहुन्छ, तर मैले कसैसँग एक पैसा लिएको छैन र लिँदिनँ पनि ।’
एउटा मोबाइलबाट सुरु भएको यात्रा
बुटवलको योगीकुटीमा ‘द कफी हब’ सञ्चालन गरिरहेका तिरास केही वर्षअघिदेखि सामाजिक सञ्जालमा भिडियो बनाउँथे । विभिन्न क्षेत्रका व्यक्तिसँग समसामयिक विषयमा कुराकानी गर्ने, त्यसलाई भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने उनको बानी थियो ।
त्यही क्रममा उनले बुटवलमा नयाँ खुलेको हायात प्यालेसको भिडियो बनाउने अवसर पाए । क्यामेरा, ठूलो टिम वा महँगो उपकरण केही थिएन । आफ्नै मोबाइलबाट होटलको परिचय दिने गरी करिब २० मिनेटको भिडियो खिचे । सामान्य सम्पादन गरे र फेसबुकमा राखे । त्यो भिडियो त्यति धेरैले हेर्लान् र प्रतिक्रिया आउला भन्ने उनले सोचेकै थिएनन् । भिडियोमा करिब तीन लाख भ्युज आयो । त्यही क्षणले उनको रुचिलाई अभियानमा बदलिदियो ।
‘होटलको सामान्य परिचय दिँदा पनि यति धेरै मानिसले हेर्दा रहेछन् भन्ने थाहा भयो’, उनी सम्झन्छन्, ‘त्यसपछि आफूले अध्ययन गरेको र ज्ञान पनि भएको यही क्षेत्र भएकाले नेपालको हस्पिटालिटी क्षेत्रलाई नै भिडियोमार्फत चिनाउनुपर्छ भन्ने सोच आयो ।’

त्यसपछि उनी नयाँ र स्तरीय होटल खोज्दै हिंड्न थाले । उद्देश्य एउटै थियो –त्यहाँको सेवा, वातावरण, खाना, आतिथ्यता र सम्भावनालाई भिडियोमार्फत आम मानिससम्म पुर्याउनू ।
एक वर्षको अवधिमा उनी ७ सयभन्दा बढी होटल तथा हस्पिटालिटी व्यवसायसम्म पुगेको बताउँछन् । रुपन्देही, चितवन, कपिलवस्तु, काठमाडौं ललितपुर पाल्पा, नवलपरासी, तनहुँ लगायतका जिल्लामा पुगेर उनले भिडियो बनाएका छन् ।
उनको यात्रा यतिमै रोकिएको छैन । सामान्य स्तरका होटलदेखि पाँचतारे मान्यता प्राप्त होटलसम्मलाई उनले नेपालको आतिथ्य संस्कृतिको प्रतिनिधिका रुपमा लिएर निशुल्क प्रचार गरिदिएका छन् ।
प्रचारको मूल्य ‘शून्य’
व्यवसायिक दुनियाँमा प्रचारको आफ्नै मूल्य हुन्छ । होटल तथा रेस्टुरेन्टले सामाजिक सञ्जालमा प्रचार गर्न विज्ञापन बजेट छुट्याउँछन् । कन्टेन्ट क्रियटरलाई शुल्क तिर्छन् । तर तिरासको अभ्यास फरक छ ।
उनी आफ्नै खर्चमा होटल पुग्छन् । मोबाइल र ल्यापटप लिएर भिडियो खिच्छन् । आवश्यक परे एक जना सहयोगी साथमा हुन्छन् । त्यसपछि भिडियो सम्पादन गर्छन् र सामाजिक सञ्जालमा राख्छन् । होटलबाट कुनै शुल्क लिँदैनन् । कहिलेकाहीँ होटल व्यवसायीले ‘कति पारिश्रमिक दिने ?’ भनेर सोध्दा उनको जवाफ हुन्छ, ‘यो मेरो शोख हो र नेपालको हस्पिटालिटी प्रवर्द्धन गर्ने अभियान हो, पैसा कमाउन होइन ।’
उनका लागि होटलको प्रचार नेपालको पर्यटन, खानपान, आतिथ्यता, संस्कृति र स्थानीय सम्भावनालाई बाहिरी संसारसम्म पुर्याउने माध्यम हो ।
‘नेपालमा यति धेरै राम्रो हस्पिटालिटी छ भन्ने कुरा हामीले नै विश्वलाई देखाउनुपर्छ,’ उनी भन्छन्, ‘मेरो उद्देश्य र अभियान यत्ति मात्र हो ।’
पाल्पाको गाउँदेखि बुटवलसम्म
पाल्पाको रिब्दीकोट गाउँपालिका–८, सोमहरमा २०४९ सालमा जन्मिएका उनले पाल्पाको बतासेस्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी गरे । त्यसपछि तानसेनको न्यू होराइजनमा होटल म्यानेजमेन्ट विषयमा प्लस टु अध्ययन गरे ।
होटल म्यानेजमेन्टप्रतिको रुचि बढ्दै गएपछि उनी काठमाडौं पुगे । आईएसडी कलेजबाट बीएचएम अध्ययन पूरा गरे । अध्ययनकै क्रममा एक वर्ष चीनमा इन्टर्नसिप गर्ने अवसर पनि पाए । पढाइ सकेपछि उनको उद्देश्य होटल व्यवसायमै केही गर्ने थियो । त्यही क्रममा २०७२ सालमा बुटवलको सुख्खानगरमा करिब १० लाख रुपैयाँभन्दा बढी लगानी गरेर ‘एशियन भिलेज फाइन डाइनिङ रेस्टुरेन्ट’ सञ्चालन गरे । तर व्यवसायले अपेक्षित गति लिन सकेन । भूकम्पको प्रभाव र नयाँ ठाउँमा व्यवसाय सञ्चालनको कठिनाइले उनी लामो समय टिक्न सकेनन् । अन्तत: लगानीमा करिब दश लाख रुपैयां घाटा सहँदै व्यवसायबाट बाहिरिए ।
त्यसपछि उनी शिक्षण पेसामा फर्किए । उनले बुटवलको क्यानन इङ्लिस बोर्डिङ स्कुलबाट होटल म्यानेजमेन्ट पढाउन सुरु गरे । त्यसपछि उनले न्यू होराइजन कलेज, ग्लोरियस, मणिमुकुन्द, प्यारामाउन्टलगायतका शिक्षण संस्थामा अध्यापन गरे । अध्यापनसँगै होटल म्यानेजमेन्टमै मास्टर तहको अध्ययनलाई पनि अघि बढाए । करिब १२ वर्ष उनले बुटवलमा होटल म्यानेजमेन्ट पढाए । कोरोना महामारीका कारण निजी कलेजमा अध्यापनको बाटो अवरुद्ध भएपछि सुरु भएको उनको व्यवसायिक यात्राले फेरि उनलाई हस्पिटालिटीमै ल्याएको हो ।

तिरासले द कफी हबबाट हालसम्म १० हजारभन्दा बढीलाई रोजगारमूलक तालिम दिएका छन् । जसमध्ये आर्थिक रूपमा कमजोर, विपन्न तथा पछाडि परेका युवा र गृहिणी महिला गरी करिब ६ हजार जनालाई उनले निशुल्क र ४ हजार जनालाई स:शुल्क तालिम दिएको बताउँछन् ।
पछिल्लो एक वर्ष कन्टेन्ट क्रियटरको यात्राले उनलाई नेपालको हस्पिटालिटी क्षेत्रमा भएको ठूलो लगानी भएको तर लगानीको अनुपातमा प्रतिफल प्राप्त गर्न नसकेको आफूले देखेको तिरास सुनाउँछन् । दक्ष जनशक्ति टिकाउन कठिन हुनु, पर्यटन पूर्वाधारको कमी र प्रचारको कमजोर अभ्यासजस्ता समस्या पनि उनले नजिकबाट देखेका छन् ।
त्यसैले उनको कन्टेन्ट केवल प्रशंसामा सीमित छैन । हस्पिटालिटी क्षेत्रका चुनौतीलाई पनि उनी सामाजिक सञ्जालमार्फत उठाउने गर्छन् ।
पाँच वर्षमा विश्व बजारसम्म
तिरास अबको पाँच वर्षभित्र नेपालको ७७ वटै जिल्लाको सम्पूर्ण हस्पिटालिटी क्षेत्रलाई विश्वमा चिनाउने लक्ष्य रहेको बताउँछन् । ‘नेपालको पर्यटन काठमाडौं, पोखरा वा केही चर्चित शहरमा मात्र सीमित हुन हुँदैन, गाउँका होमस्टे, स्थानीय खानाका परिकार, साना होटल, रिसोर्ट, धार्मिक तथा ऐतिहासिक स्थल र त्यहाँको मौलिक आतिथ्य पनि नेपालको पर्यटन उत्पादन हुन्’, तिरास भन्छन्, ‘त्यसलै मैले अबको ५ वर्षभित्र देशका ७७ वटै जिल्लामा पुगेर सिंगो नेपालको हस्पिटालिटीलाई नि:शुल्क प्रचार गरेर विश्वमाझ पुर्याउनेछु ।’
सरकारले पनि धार्मिक तथा ऐतिहासिक क्षेत्रमा सहज पहुँच, पर्यटक सुरक्षा, पूर्वाधार र अन्तर्राष्ट्रिय प्रचारमा ध्यान दिनुपर्ने उनका सुझाव छ ।
प्रतिक्रिया 4