१८ असोज, काठमाडौं । नेपालका होमलाल श्रेष्ठ र सुनसरी रोकायाले शनिबार एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिपको उपाधि जितेका छन् ।
भियतनामको मु चाङ चाइमा भएको एटिएम मु चाङ चाई अल्ट्रा ट्रेलको पाँचौं प्रतियोगिता हो । सो दौडमा नेपालकै गोपाल तामाङ दोस्रो र फिलिपिन्सका कि सुवेलो तेस्रो स्थानमा रहे । ४२ वर्षीय होमलाल एसिया ट्रेल मास्टर जित्ने पहिलो नेपाली हुन् ।
२४ वर्षीय सुनसरीलाई नेपालकै १९ वर्षीया कल्पना बुढाले कडा चुनौती दिएकी थिइन् । सुनसरीभन्दा केही सेकेन्डमात्र पछाडी परेकी कल्पनाले दोस्रो स्थानमा चित्त बुझाइन् । हङकङकी सेलन लोउबिरे तेस्रो स्थानमा रहिन् ।
यस प्रतियोगितामा पुरुष र महिला दौडको शीर्ष १० मा नेपालका धावकधाविकाले बाहुल्य रहेको थियो । धीरबहादुर बुढा आठौं र विशाल राई दशौं स्थानमा रहे ।
करिब ३८०० मिटर उचाइसम्म दौडनुपर्ने एसिया ट्रेल मास्टर दौडमा जङ्गलका कठिन बाटा र पहाडका उकाली ओरालो समावेश छन् ।
एटीएममा १८ देशका ३६०० धावकधाविकाले भाग लिएका थिए । जसमा दुई सय अन्तर्राष्ट्रिय धावकधावकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4