हामीले हाम्रो देश बनाउने सङ्कल्प गर्यौं। अन्तर्राष्ट्रिय दुनियाँमा आफ्नो देशको छुट्टै पहिचान खोज्यौं र स्वाधीन तथा स्वाभिमानी नेपाली भएको अभ्यास गर्न थाल्यौं। जुन कुरा विश्व राजनीतिको रङ्गमञ्चमा शक्तिसङ्घर्षको खेल खेलिरहेका पश्चिमा शक्ति राष्ट्रहरूलाई चित्त बुझेको थिएन।
हाम्रो पार्टी नेकपा एमाले र त्यसको नेतृत्व केपी शर्मा ओलीलाई निसानमा पारियो। उनीहरूको स्वार्थको कैदी बन्न नसक्दा केपी ओलीको नेतृत्वको पार्टी र सरकार आक्रमणको सिकार हुन पुग्यो।
पार्टीभित्रको अन्तरविरोध र नेतृत्वको कार्यशैलीगत कमजोरीहरूको आधारभूमिमा मोबाइलको भाँडोभित्र भ्रामक कन्टेन्ट तयार गरी सिर्जना गरिएका भ्रमको भुलभुलैयामा जनतालाई पारियो र भदौ २३ र २४ को जाल रचेर देशको अस्मिता जलाइयो।
गैरसंवैधानिक सरकार गठन, सोही सरकारद्वारा संसद्को विघटन गरी जबर्जस्ती निर्वाचनमा धकेलियो। बाध्य भएर हामी पनि निर्वाचनमा सामेल हुने परिस्थिति आयो। निर्वाचन परिणाम हाम्रो हातमा पर्न सकेन। निर्वाचनपछि पार्टीभित्र पुनर्गठनको बहस चल्यो र लामो समय पार्टीले गति पाएको थिएन।
निर्वाचनको हार, पार्टी अध्यक्षको पिताको निधन, बालेन सरकारद्वारा अध्यक्षको गिरफ्तारी र उपचारका कारण विलम्ब भइरहेको पार्टी केन्द्रीय कमिटीको बैठक पुनर्गठनको बहस गलत बाटोतिर डोरिँदा अझै ढिलो हुन पुगेको थियो।
सबै यी अप्ठ्याराहरूलाई छिचोल्दै हामीले भर्खरै असोज ५ देखि ८ गतेसम्म ललितपुरमा पार्टीको तेस्रो पूर्ण बैठक सम्पन्न गरेका छौं। १३ वटा शीर्षकमा तयार पारिएको ८७ पृष्ठ लामो पार्टी अध्यक्षको सम्बोधनको रूपमा आएको प्रतिवेदनमाथि पूरै दुई दिन बहस भयो। केन्द्रीय कमिटीमा आएका उपयुक्त सुझावहरूलाई समावेश गरी प्रतिवेदन पारित गरिएको थियो।
समग्रमा यो बैठकले पार्टीलाई एकताबद्ध भएको सकारात्मक सन्देश प्रवाह गरेको छ। पार्टी जीवनभित्र छिरोलिएको बहसको अन्त्य भएको छ। पार्टीले आफ्नो तनाव समाधान गरेको छ; तर समस्या पार लागेको छैन। समस्याहरूलाई पर्गेल्न इमानदारीका साथ प्रतिवेदनमा उल्लेखित कामको प्रभावकारी कार्यान्वयन गर्नैपर्दछ। उक्त प्रतिवेदनको गर्नैपर्ने १५ काममध्ये एउटा विषय वैचारिक पुनर्पाठलाई केन्द्रमा राखेर यो विचार प्रस्तुत गर्न खोजिएको छ।
१. विषय प्रवेश : पुनर्निर्माणको केन्द्रमा विचार
नेकपा एमाले अहिले एउटा महत्त्वपूर्ण राजनीतिक मोडमा उभिएको छ।
निर्वाचनमा प्राप्त परिणाम, बदलिँदो सामाजिक मनोविज्ञान, नयाँ पुस्ताको राजनीतिक अपेक्षा, डिजिटल सञ्चारको तीव्र विस्तार, आर्थिक–सामाजिक संरचनामा आएको परिवर्तन र लोकतान्त्रिक व्यवस्थाप्रतिको नयाँ बहसले एमालेलाई केवल सङ्गठनात्मक पुनर्संरचनाको प्रश्नबाट माथि उठेर वैचारिक पुनर्निर्माणको प्रश्नमा प्रवेश गर्न बाध्य बनाएको छ।
केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीका तत्कालका दुई प्रमुख कार्यभार (संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षा र आगामी निर्वाचनको तयारी) निर्धारण गरेको छ। यी दुई कार्यभार पूरा गर्न १५ वटा प्रमुख काम अघि सारिएका छन्। तीमध्ये पन्ध्रौं कामका रूपमा वैचारिक पुनर्पाठलाई राखिएको छ। यसको गहिरो अर्थ रहेको छ।
सत्य संवाद, जनजीविका केन्द्रित प्रतिपक्ष, डिजिटल पुनर्निर्माण, नतिजामुखी सङ्गठन, युवा नेतृत्व, महिला तथा सामाजिक प्रतिनिधित्व, आन्तरिक लोकतन्त्र, वैकल्पिक शासन–खाका, जनसेवा, ज्ञानमा आधारित पार्टी, नैतिक पुनर्निर्माण, स्थानीय मुद्दा, प्रवासी नेपालीसँग नयाँ सम्बन्ध र राष्ट्रिय स्वाधीनताको नीति- यी सबैको अन्तिम आधार विचार हो। त्यसैले वैचारिक पुनर्पाठ १५औं नम्बरको एउटा सामान्य कार्यक्रम होइन; बरु पहिला १४ वटा कामलाई दिशा दिने वैचारिक आधार हो।
बैठकमा प्रस्तुत प्रतिवेदनले स्पष्ट रूपमा भनेको छ- जनताको बहुदलीय जनवादलाई केवल ऐतिहासिक दस्ताबेजमा सीमित गर्न हुँदैन। डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, स्वचालन, जलवायु सङ्कट, युवा पलायन, सहरी असमानता, गिग अर्थतन्त्र, शिक्षा बजार, स्वास्थ्य खर्च, लैङ्गिक न्याय र सांस्कृतिक परिवर्तनजस्ता नयाँ प्रश्नमा विचारको नयाँ व्याख्या आवश्यक छ।
यहीँबाट वैचारिक पुनर्पाठको वास्तविक यात्रा आरम्भ हुन्छ।
२. वैचारिक पुनर्पाठ भनेको के हो ?
वैचारिक पुनर्पाठ भन्नाले पुरानो विचारलाई त्याग्नु होइन, त्यसको मूल मर्मलाई कायम राख्दै नयाँ सामाजिक, आर्थिक, राजनीतिक र प्राविधिक यथार्थसँग पुनःव्याख्या गर्नु हो। समय बदलिन्छ, उत्पादनका साधन बदलिन्छन्, श्रमको स्वरूप बदलिन्छ, वर्गीय सम्बन्धका अभिव्यक्ति बदलिन्छन्, सञ्चारका माध्यम बदलिन्छन्, नागरिकका अपेक्षा बदलिन्छन् र राज्य अनि बजारबीचको सम्बन्ध बदलिन्छ।
तर मानिसको मुक्ति, सामाजिक न्याय, समान अवसर, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्धिको प्रश्न समाप्त हुँदैन।
त्यसैले आजको प्रश्न हो- मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादका मूल मान्यतालाई एक्काइसौं शताब्दीको नेपाली समाजसँग कसरी जोड्ने ? यो प्रश्नको उत्तर खोज्नु नै वैचारिक पुनर्पाठ हो।
३. जबज : इतिहासको दस्ताबेज कि वर्तमानको जीवित विचार ?
एमालेको वैचारिक पहिचानको केन्द्रमा जनताको बहुदलीय जनवाद (जबज) रहेको छ। जबजलाई केवल विगतमा प्रतिपादित राजनीतिक अवधारणा भनेर सङ्ग्रहालयमा राख्ने हो भने त्यो जीवित विचार रहँदैन। विचारको जीवन उसको समयसँग संवाद गर्ने क्षमतामा हुन्छ।
आज नेपालमा प्रश्नहरू बदलिएका छन्। हिजोको प्रश्न थियो- बहुदलीय लोकतन्त्र कि एकदलीय व्यवस्था ? आजको प्रश्नसँग त्यसमा नयाँ आयाम थपिएका छन्।
डिजिटल लोकतन्त्र कसरी सुनिश्चित गर्ने ?, सामाजिक सञ्जालमा गलत सूचना र सत्यबीचको सङ्घर्ष कसरी सम्बोधन गर्ने ?, एआईले रोजगारी र उत्पादन सम्बन्धमा पार्ने प्रभाव के हुन्छ ?, स्वचालनपछि श्रमको अधिकार कसरी सुरक्षित गर्ने ?, वैदेशिक रोजगारीमा जाने लाखौं युवालाई राष्ट्रिय उत्पादनसँग कसरी जोड्ने ?, गिग अर्थतन्त्रका श्रमिकको अधिकार कसरी सुनिश्चित गर्ने ?, जलवायु परिवर्तनको भार कसले वहन गर्ने ?, सहरीकरणसँगै बढेको असमानता कसरी घटाउने ?, शिक्षा र स्वास्थ्य बजारमुखी बन्दै जाँदा सामाजिक दायित्व कसरी सुनिश्चित गर्ने ?, महिलाको प्रतिनिधित्वलाई सङ्ख्याबाट निर्णय क्षमतामा कसरी रूपान्तरण गर्ने ?
यी प्रश्नको उत्तर पुरानै भाषामा मात्र दिन सकिँदैन। त्यसैले जबजको नयाँ व्याख्या आवश्यक छ।
४. समृद्ध नेपाल, सुखी नेपाली लाई वैचारिक परियोजनासँग जोड्ने
एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली केवल आर्थिक विकासको नारा होइन; यसलाई नागरिकको जीवनस्तर, अवसर, सामाजिक न्याय, राष्ट्रिय आत्मनिर्भरता र लोकतान्त्रिक अधिकारसँग जोडेर वैचारिक परियोजनाका रूपमा विकास गर्नुपर्छ।
समृद्धि भनेको जीडीपी वृद्धि मात्र होइन। समृद्धिको अर्थ- रोजगारी, उत्पादन, न्याय, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, प्रविधि, वातावरणीय सुरक्षा, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार हो। यसर्थ अब एमालेले विकासको आफ्नो वैचारिक परिभाषा अझ स्पष्ट बनाउन आवश्यक छ।
उदाहरणका लागि : उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, अवसरमा समानता बढाउने, सामाजिक सुरक्षा सुनिश्चित गर्ने र नागरिकको जीवनमा लोकतन्त्रको प्रत्यक्ष अनुभूति गराउने विकास नै समाजवादउन्मुख विकास हो। यसरी जबज, समाजवादउन्मुख संविधान र समृद्ध नेपाल, सुखी नेपाली बीच वैचारिक सम्बन्ध स्पष्ट गर्न सकिन्छ।
५. डिजिटल युगमा लोकतन्त्रको नयाँ प्रश्न
आज राजनीतिक चेतना निर्माणको ठूलो हिस्सा मोबाइलको स्क्रिनमा भइरहेको छ। बैठकको प्रतिवेदनले पनि डिजिटल पुनर्निर्माणलाई प्रमुख कामका रूपमा अघि सारेको छ र सत्यलाई तीव्र गतिमा जनतासम्म पुर्याउने आवश्यकता औंल्याएको छ।
तर डिजिटल राजनीति केवल प्रचारको विषय होइन। यसले लोकतन्त्रकै स्वरूप परिवर्तन गरिरहेको छ। अब एमालेले प्रश्न गर्नुपर्छ- डिजिटल लोकतन्त्र कस्तो हुन्छ ? नागरिकले सरकारलाई प्रश्न गर्न पाउने अधिकार डिजिटल माध्यमबाट कसरी विस्तार गर्ने ? पार्टीका सदस्यले नीति निर्माणमा डिजिटल माध्यमबाट कसरी सहभागिता जनाउने ? जनमत अध्ययन कसरी वैज्ञानिक बनाउने ? एआई प्रयोग गर्दा तथ्य, गोपनीयता, नैतिकता र मानवअधिकार कसरी सुरक्षित गर्ने ?
यी प्रश्नमा एमालेले अरूको पछि लाग्ने होइन; नीति निर्माणमा अग्रणी भूमिका खेल्ने वैचारिक क्षमता विकास गर्नुपर्छ।
६. एआई र स्वचालन : श्रम राजनीतिलाई नयाँ ढङ्गले सोचौं
कृत्रिम बुद्धिमत्ता र स्वचालनले उत्पादनशीलता बढाउन सक्छ। तर यसले केही परम्परागत रोजगारी विस्थापित गर्ने सम्भावना पनि राख्छ। कम्युनिस्ट आन्दोलनको ऐतिहासिक केन्द्रमा श्रम र श्रमिक छन्। त्यसैले नयाँ युगमा प्रश्न अझ गम्भीर हुन्छ।
एआईको लाभ कसले पाउने ? प्रविधिको स्वामित्व कसको हुनेछ ? उत्पादनशीलता बढ्दा त्यसको लाभ श्रमिकसम्म कसरी पुग्ने ? नयाँ सीप कसरी विकास गर्ने ?
यसमा एमालेले प्रविधि विरोध होइन, मानवकेन्द्रित प्रविधि नीति विकास गर्नुपर्छ। अर्थात्- एआई मानवको विकल्प होइन, मानव क्षमताको विस्तार गर्ने साधन बनोस्। यस विषयमा एमालेले श्रम, शिक्षा, प्रविधि र उद्योग नीतिलाई एउटै वैचारिक फ्रेममा जोड्न सक्छ।
७. मतदाता मात्र होइन, विचार निर्माता युवा
आजको युवा पुस्ता विगतको राजनीतिक पुस्ताभन्दा फरक छ। उसको सूचना स्रोत फरक छ। रोजगारीको सोच फरक छ। नेतृत्वप्रतिको अपेक्षा फरक छ। सामाजिक सम्बन्ध फरक छन्। त्यसैले युवालाई केवल चुनावको समयमा परिचालन गर्ने राजनीतिक संस्कृतिले नयाँ पुस्तालाई लामो समय आकर्षित गर्न सक्दैन।
बैठकले युवा नेतृत्व निर्माणलाई पाँचौं प्रमुख कामका रूपमा राख्दै युवालाई नीति निर्माण र वास्तविक जिम्मेवारीमा ल्याउनुपर्ने कुरा स्पष्ट गरेको छ। यसलाई वैचारिक पुनर्पाठसँग जोड्नुपर्छ। युवा नीति होइन, नीति निर्माता। युवा कार्यकर्ता मात्र होइन, विचार निर्माता। युवा दर्शक होइन, निर्णयकर्ता। एमालेले युवा र पार्टी विषयमा अलग वैचारिक बहस सञ्चालन गर्नुपर्छ।
८. नयाँ सामाजिक संरचनालाई बुझ्न नसके विचार जनताबाट टाढिन्छ
आज नेपाली समाजमा परम्परागत वर्गीय संरचनासँगै नयाँ सामाजिक समूह र नयाँ आर्थिक सम्बन्ध विकसित भएका छन्। वैदेशिक रोजगारीमा रहेका नेपाली, गिग श्रमिक, डिजिटल उद्यमी, स्टार्टअप पुस्ता, साना उद्यमी, सहरी मध्यम वर्ग, नयाँ पेसागत समूह, स्वरोजगार युवा- यी सबै नेपाली समाजको नयाँ राजनीतिक यथार्थ हुन्।
त्यसैले एमालेको वैचारिक पुनर्पाठले समाजको आजको वास्तविक वर्ग–सामाजिक संरचना को अध्ययन गर्नुपर्छ। नयाँ समाजलाई पुरानो वर्गीकरणले मात्र बुझ्न खोज्दा नीति र सङ्गठनबीच दूरी बढ्न सक्छ।
९. समाजवादको नयाँ नेपाली व्याख्या
नेपालको संविधानले समाजवादउन्मुख राज्यको दिशा स्वीकार गरेको सन्दर्भमा एमालेले समाजवादको नेपाली व्याख्यालाई अझ स्पष्ट बनाउनुपर्ने आवश्यकता छ। समाजवाद भन्नाले केवल राज्यको नियन्त्रण होइन।
समाजवादका व्यावहारिक सूचकहरू के हुन् ? सबैका लागि गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा, उत्पादनमा वृद्धि, अवसरमा समानता, गरिबी र असमानता न्यूनीकरण, श्रमको सम्मान, सार्वजनिक सेवाको गुणस्तर, सामाजिक न्याय, राष्ट्रिय उत्पादन र आत्मनिर्भरता अनि लोकतान्त्रिक अधिकारको विस्तार। यसरी समाजवादलाई नागरिकले आफ्नो दैनिक जीवनमा अनुभूति गर्ने व्यवस्थाका रूपमा व्याख्या गर्नुपर्छ।
१०. वैचारिक पुनर्पाठका लागि अध्ययनका क्षेत्रहरू र आवश्यक प्रक्रिया
वैचारिक पुनर्पाठ केवल भाषण र प्रशिक्षण कार्यक्रमबाट पूरा हुँदैन। यसका लागि पार्टीभित्र स्थायी वैचारिक अध्ययन तथा नीति अनुसन्धान संयन्त्र आवश्यक छ; जुन हामीले बनाइसकेका छौं।
यसले जबज र समकालीन लोकतन्त्र, समाजवाद र नेपाली अर्थतन्त्र, एआई तथा डिजिटल अर्थतन्त्र, युवा र रोजगारी, कृषि तथा उत्पादन, शिक्षा र स्वास्थ्य, जलवायु परिवर्तन, सङ्घीयता र स्थानीय शासन, राष्ट्रिय स्वाधीनता तथा परराष्ट्र नीति र सामाजिक न्याय र समावेशिताको क्षेत्रमा अध्ययन गर्नुपर्दछ।
प्रत्येक विषयमा तथ्य, अनुसन्धान, नीति र वैकल्पिक कार्यक्रम तयार हुनुपर्छ। बैठकको प्रतिवेदनले पनि ज्ञानमा आधारित पार्टी निर्माणका लागि तथ्य, अनुसन्धान, डाटा, नीति विश्लेषण, सामाजिक मनोविज्ञान, अर्थशास्त्र र प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गरेको छ।
११. वैचारिक पुनर्पाठको पाँच सूत्र
मेरो विचारमा एमालेको वैचारिक पुनर्पाठलाई पाँच सूत्रमा अघि बढाउन सकिन्छ :
पहिलो : जरा नछाड्ने
मार्क्सवाद–लेनिनवाद, जनताको बहुदलीय जनवाद, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवादउन्मुख दृष्टिकोण वैचारिक आधार हुन्।
दोस्रो : समय बुझ्ने
एआई, डिजिटल अर्थतन्त्र, जलवायु, युवा, गिग अर्थतन्त्र, नयाँ सामाजिक सम्बन्ध र विश्व व्यवस्थालाई गहिरो रूपमा अध्ययन गर्ने।
तेस्रो : जनजीवनसँग जोड्ने
विचार पुस्तकमा होइन; किसानको खेतमा, श्रमिकको काममा, विद्यार्थीको भविष्यमा, युवाको रोजगारीमा र नागरिकको दैनिक जीवनमा देखिनुपर्छ।
चौथो : नीतिमा रूपान्तरण गर्ने
वैचारिक निष्कर्षलाई बजेट, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग, कृषि, प्रविधि र सामाजिक सुरक्षाका नीतिमा रूपान्तरण गर्ने।
पाँचौं : सङ्गठनमा कार्यान्वयन गर्ने
केन्द्रीय कमिटीदेखि वडा कमिटीसम्म वैचारिक प्रशिक्षण र व्यवहारबीच सम्बन्ध स्थापित गर्ने।
१२. कार्यान्वयनका लागि पार्टीले गर्ने काम
वैचारिक पुनर्पाठलाई व्यवहारमा उतार्न पहिलो चरणमा पार्टीले सबभन्दा पहिले केन्द्रीय वैचारिक कार्यदल गठन गर्नुपर्दछ।
जबजको कार्यक्रम पास गरेपछि हामी पटकपटक सरकारमा गएका छौं। अल्पमतको एकल र दुईतिहाइ नजिकको जनमत प्राप्त गरेर सरकार चलाएका छौं। स्थानीय सरकारमा बलियो उपस्थिति जनाएका छौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि प्रदेश सरकार बनाएका छौं।
सरकारमा गएर हामीले केके गर्यौं ? हाम्रा नीतिगत मान्यताहरूको कार्यान्वयन कसरी भयो ? हामीले उठाएका वैचारिक मान्यताहरू कति पूरा भए र कति बाँकी छन् ? अवरोध कोकोबाट भयो ?
यो दृष्टान्त तयार पार्ने र पार्टीपङ्क्तिको बीचमा सघन छलफल र संवाद गराउने कार्य गर्नुपर्दछ। युवा र विद्यार्थी केन्द्रित बहस र डिजिटल विचार मञ्च सञ्चालन गरी नयाँ पुस्तासँग खुला वैचारिक संवादको माध्यमबाट विचार संश्लेषण गरी निम्न चारवटा नीतिगत दस्ताबेज तयार पार्नुपर्दछ :
- जबजको समकालीन व्याख्याको प्रारम्भिक दस्ताबेज
- समाजवादको नेपाली मोडेलको अवधारणा
- एआई तथा डिजिटल अर्थतन्त्रसम्बन्धी नीति
- युवा रोजगारीसम्बन्धी नीति
राष्ट्रिय वैचारिक सम्मेलनको आयोजना गरी यी चार नीतिगत दस्ताबेजहरूलाई समकालीन एमालेको वैचारिक दस्ताबेज को रूपमा तयार गर्नुपर्दछ। यो नयाँ वैचारिक दस्ताबेजलाई पार्टी स्कुलको पाठ्यक्रममा अद्यावधिक गर्ने, नेतृत्व तथा कार्यकर्ताको वैचारिक प्रशिक्षण सञ्चालन गर्ने र नीतिगत दस्ताबेजलाई निर्वाचन र सरकारको वैकल्पिक कार्यक्रमसँग जोड्नु पर्दछ।
१३. निष्कर्ष : वैचारिक पुनर्पाठ नै पुनर्जागरणको मुटु
एमालेको पुनर्निर्माण केवल कार्यालय पुनर्संरचना, सदस्यता विस्तार वा चुनावी तयारीबाट पूरा हुँदैन। सङ्गठन आवश्यक छ, तर सङ्गठनलाई दिशा विचारले दिन्छ। प्रचार आवश्यक छ, तर प्रचारलाई सामग्री विचारले दिन्छ। निर्वाचन आवश्यक छ, तर निर्वाचनको एजेन्डा विचारले निर्माण गर्छ। नेतृत्व आवश्यक छ, तर नेतृत्वको ऐतिहासिक औचित्य विचारले स्थापित गर्छ। त्यसैले पन्ध्रौं कामलाई अन्तिम नम्बरमा राखिएको भए पनि यसको राजनीतिक महत्त्व पहिलो नम्बरको हुन सक्छ।
वैचारिक पुनर्पाठ भनेको एमालेले आफूलाई प्रश्न गर्ने प्रक्रिया हो। हामीले आफैंलाई सोध्नुपर्छ- आजको नेपाली समाजलाई हामी कति बुझिरहेका छौं ? आजको युवालाई हाम्रो विचारले कति छुन्छ ? डिजिटल पुस्तासँग हाम्रो राजनीतिक भाषा कति जोडिएको छ ?
समाजवादलाई नागरिकको जीवनसँग कसरी जोड्ने ? जबजलाई इतिहासबाट वर्तमान र वर्तमानबाट भविष्यमा कसरी लैजाने ? यी प्रश्नबाट भागेर एमालेको पुनर्जागरण सम्भव छैन। तर यसको अर्थ विगतलाई अस्वीकार गर्नु पनि होइन। इतिहास हाम्रो आधार हो, विचार हाम्रो दिशा हो, सङ्गठन हाम्रो शक्ति हो र जनताको विश्वास हाम्रो अन्तिम परीक्षा हो।
त्यसैले अब एमालेले इतिहासको सम्मानसहित भविष्यको निर्माण गर्ने वैचारिक अभियान सञ्चालन गर्नुपर्छ। जनताको बहुदलीय जनवादलाई सङ्ग्रहालयमा होइन, नयाँ पुस्ताको जीवनमा लैजानुपर्छ। समाजवादलाई नारामा होइन, नागरिकको अनुभूतिमा उतार्नुपर्छ। लोकतन्त्रलाई निर्वाचनको दिनमा मात्र होइन, दैनिक शासन र नागरिक सहभागितामा स्थापित गर्नुपर्छ। प्रविधिलाई केवल प्रचारको माध्यम होइन, उत्पादन, शिक्षा, रोजगारी र लोकतान्त्रिक सहभागिताको साधन बनाउनुपर्छ। र अन्ततः विचारलाई समयसँग जोडौं।
समयलाई जनजीवनसँग जोडौं। जनजीवनलाई समाजवादको यात्रासँग जोडौं। यही नै वैचारिक पुनर्पाठ हो। यही नै एमालेको पुनर्जागरणको वैचारिक आधार बन्न सक्छ। र, यही आधारमा समृद्ध नेपाल, सुखी नेपाली को लक्ष्यलाई नयाँ पुस्ताको आशा, आकाङ्क्षा र भविष्यसँग जोडेर अघि बढाउन सकिन्छ।
जीवित विचारले समयसँग संवाद गर्छ; एमालेले आफ्नो विचारलाई नयाँ समयका प्रश्नसँग जोड्नुपर्छ।
बैठको राजनीतिक प्रतिवेदनमा वैचारिक पुनर्पाठको सार यही रूपमा प्रस्तुत गरिएको छ। डिजिटल अर्थतन्त्र, एआई, स्वचालन, जलवायु सङ्कट, युवा पलायन, गिग इकोनोमी, शिक्षा बजार, स्वास्थ्य खर्च, लैङ्गिक न्याय र सांस्कृतिक परिवर्तनलाई नयाँ वैचारिक व्याख्याको विषय मानिएको छ।
(लेखक ढुङ्गेल नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज हुन्।)
प्रतिक्रिया 4