+
+
Shares

मौसम खुलेपछि एबीसीमा पर्यटक भरिभराउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ९:०७

१९ असोज, कास्की । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन् ।

निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीको भनाइ छ ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक ३०० हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन् । एबिसीमा पर्यटकलाई राख्न सकिने ६ वटा होटल तथा लज रहेका छन् । यहाँका होटलमा ३५० सम्म पर्यटक राख्न सक्ने क्षमता छ । ‘स्वदेशी पर्यटक छैनन् तर  विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ । अहिले यहाँ आउने सबै सडकहरु पनि खुलेका कारणले पदयात्रा सहज भएको छ’, गुरुङले भने ।

यसअघि वर्षा र बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो । अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सडक अवरुद्ध भएको थियो । गाउँपालिकाले झन्डै डेढ महिना लगाएर असोज पहिलो साता सडक खुलाएको हो ।

मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सडक तथा पदयात्रा मार्ग पहिरोका कारण अवरुद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेको सचिव गुरुङले बताए । ‘मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ । त्यसकारण पनि साउथ एसियन मुलुकका पर्यटकको पर्यटकको रोजाइ एबिसीमा बढेको हो । नेपाली पर्यटन दसैँ सुरु भएपछि आउने अपेक्षामा छौं’, छोम्राङ पर्यटन व्यवस्थापन समितिका सचिव गुरुङले भने ।

अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्न पनि सहज भएको छ । सडक यातायात सहज हुनु र पदयात्रा मार्गमा समेत अवस्था सामान्य बन्दै जानुले पर्यटकको आवागमन बढाएको हो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पोखरादेखी–घान्द्रुक–एबिसीसम्मको सबै सडक अहिले खुला रहेको बताए । उनले कतिपय स्थानमा अस्थायी प्रबन्ध गरेर भए पनि पदमार्ग खुला गरिएको बताए ।  ‘बिरेठाँटी र स्याउली बजार खुल्यो । घान्द्रुकबाट माथि पनि अब समस्या छैन । अब एबिसी ट्रेक आउने स्थायी र अस्थायी सबै सडक खुलेको । नयाँपुल, घान्द्रुक, छोमरुङ सबै ठाउँबाट आउन सकिन्छ’, वडाध्यक्ष गुरुङले भने ।

यसैगरी, दुई महिनाअघि किम्रुङखोलाले पक्की झोलुङ्गे पुल बगाएर अवरुद्ध बनेको पदमार्ग किम्रुङ खोलामाथि काठे फड्के निर्माण गरी पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट करिब चार हजार १३० मिटरको उचाइमा रहेको छ । हिमालको काखमै पुगेर अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे हिमालको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले एबिसी पदयात्रा विश्वका चर्चित पदयात्रा गन्तव्यमा मानिन्छ ।

विशेषगरी हिमालको नजिकबाट सूर्योदय तथा हिमशृङ्लाको दृश्यावलोकन, स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्न सकिने भएकाले एबिसी पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, स्थानीय जीवनशैली, हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला र हिमाली भू-दृश्यको अवलोकन गर्न पाउँछन् ।

माछापुच्छ्रे आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो । पदयात्राका क्रममा माछापुच्छ्रे, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम लगायतका हिमालहरु नजिकबाट अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेसँगै गाउँपालिकाले पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर हालै प्राथमिक उपचार केन्द्र पनि सञ्चालनमा ल्याएको छ ।

माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीबाट तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराउन सहज हुनेछ ।

एबिसी पदयात्रामा आउने पर्यटकहरु बिरामी पर्ने तथा हाई अल्टिच्युड (उच्च उचाइ)का कारणले लेक लागेर ज्यान पनि जाने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?