१९ असोज, चितवन । बर्खाका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको जंगल सफारी २३ असोज शुक्रबारदेखि खोल्ने तयारी गरिएको छ ।
गत १७ असारदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आउने भलबाढीले बिगारेको बाटो मर्मत गर्ने, ढलेका रुखहरू पन्छाउने जस्ता कामहरू निकुञ्जले धमाधम गरिरहेको छ ।
असोजको दोस्रो साता आएको बाढीले जंगल सफारी गर्ने रुटहरू भत्काएका कारण जंगल सफारी खुला गर्न समय लागेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
‘असोजको दोस्रो साताबाट नै जिप सफारी सञ्चालन गर्ने भन्ने तयारी थियो, तर त्यहीँ समयमा ठूलो पानी परेका कारण निकुञ्ज भित्रका विभिन्न खोल्सा तथा खोलामा आएको बाढीले रुटहरू बिगारेको छ, त्यसलाई बनाउँदै छौं,’ सूचना अधिकारी थापामगरले भने, ‘अब असोज २३ गतेदेखि सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेका छौं ।’
असोज दोस्रो साता रिउ खोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्रमा जाने रुट बढी बिगारेको छ । सो ठाँउमा ग्राभेल हालेर रुट तयार गर्ने काम भइरहेको सूचना अधिकारी थापामगरले जानकारी दिए ।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी यथावत नै सञ्चालन हुँदै आएको छ ।
निकुञ्जभित्र हात्ती सफारी भने अरू समयमा पनि गर्न पाइँदैन । बर्खाका तीन महिना जिप सफारी बन्द भए पनि जंगल वाक भने रोकिँदैन ।
निकुञ्जले हरेक वर्ष जिप सफारीबाट करोडौं रकम आम्दानी गर्दै आएको छ ।
निकुञ्ज घुम्न आउने अधिकांश विदेशी पर्यटकहरूले जिप सफारी गर्ने गर्दछन् । नेपालीहरूको पनि आर्कषण उस्तै छ ।
चितवन निकुञ्जमा वर्षमा औंसत दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरू आउने तथ्यांक छ ।
निकुञ्जले प्रतिजिप प्रवेश शुल्क ५ हजार, विदेशी पर्यटकले प्रवेश शुल्कवापत २ हजार, सार्क मुलुकका पर्यटकले एक हजार र नेपालीलाई १५० रुपैयाँ लिदै आएको छ ।
सौराहा क्षेत्रबाट ३०, कसाराबाट १० वटा यस्तैं मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् । एउटा जिपमा १० जनासम्म अट्छन् ।
प्रतिक्रिया 4