१९ भदौं, काठमाडौं । फरेन्सिक मेडिसिन विशेषज्ञहरूको संस्था कानुनी चिकित्सक संघको अध्यक्षमा डा. सिर्जना कुँवर पुनः चयन भएकी छन्।
संघको ११औँ साधारण सभाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा डा. कश्यप श्रेष्ठ, सचिवमा डा. आयुष पौडेल उपाध्याय र कोषाध्यक्षमा डा. देवेन्द्रमान पालिखे चयन भएका छन्।
कार्यसमिति सदस्यमा डा. आहाना श्रेष्ठ, डा. सन्तोष कोइराला, डा. शर्मिष्ठा धौडेल र डा. वीरेन्द्र मण्डल चयन भएका छन्। तत्कालीन अध्यक्ष डा. नुवादत्त सुवेदी संघको इमिडिएट पास्ट प्रेसिडेन्टका रूपमा रहनेछन्।
अध्यक्ष डा. कुँवरका अनुसार संघमा औपचारिक रूपमा करिब ७० जना सदस्य छन्। तीमध्ये करिब ५० जना सक्रिय रूपमा फरेन्सिक तथा मेडिको–लिगल सेवामा संलग्न छन्।
संघले नेपालमा मेडिको–लिगल अभ्यासलाई व्यवस्थित र एकरूप बनाउने, फरेन्सिक चिकित्सकबीच ज्ञान तथा सीप आदानप्रदान गर्ने र चिकित्सकको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यशाला सञ्चालन गर्दै आएको छ।
विशेषगरी पोस्टमार्टम, क्लिनिकल फरेन्सिक परीक्षण तथा यौन दुर्व्यवहारसम्बन्धी परीक्षणमा चिकित्सकको क्षमता बढाउने कामलाई संघले प्राथमिकतामा राख्दै आएको छ। यसका साथै कानुनी चिकित्सासम्बन्धी जर्नल प्रकाशन तथा राष्ट्रियस्तरका सम्मेलन र कार्यशाला आयोजना गर्दै आएको छ ।
संघले सरकारलाई मेडिको–लिगल सेवासम्बन्धी नीति, निर्देशिका तथा प्रतिवेदनका ढाँचा निर्माणमा समेत प्राविधिक सहयोग गर्दै आएको छ। सरकारी निकायले प्रयोग गर्ने विभिन्न मेडिको–लिगल रिपोर्टका ढाँचा तथा निर्देशिका तयार गर्न संघले विगतदेखि नै सहयोग गर्दै आएको हो।
प्राकृतिक विपद्का समयमा पनि संघले फरेन्सिक चिकित्सकलाई परिचालन गर्दै आएको छ। पछिल्लो समय विपद्का घटनामा शव पहिचान, पोस्टमार्टम तथा आवश्यक मेडिको–लिगल प्रक्रिया व्यवस्थापनका लागि विभिन्न स्थानमा चिकित्सक परिचालन गर्न संघले समन्वय गर्दै आएको डा. कुँवरले बताइन् ।
संघको नयाँ नेतृत्वले मेडिको–लिगल सेवालाई थप व्यवस्थित बनाउँदै फरेन्सिक चिकित्सकको क्षमता विकास, सरकारी निकायसँगको समन्वय र सेवा प्रवाहमा एकरूपता कायम गर्ने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ।
प्रतिक्रिया 4