+
+
Shares

बैंकले लिलाम गरेको घरमा टोलवासीले भित्र्याए पूर्व घरधनीलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १२:४१

१९ असोज, बुटवल । लुम्बिनी विकास बैंकले लिलाम गरेको बुटवल मिलनचोकको एक घरमा टोलवासी लगायतको समूह मिलेर पूर्व घरधनीलाई भित्राएका छन् ।

व्यवसायी दुर्गाबहादुर पौडेल र लक्ष्मी बस्नेत पौडेलले छापाखाना सञ्चालनका लागि ४८ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको ब्याज समेत गरी ५८ लाख रुपैयाँ तिर्न नसकेको भन्दै बैंकले सो घर ५३ लाख रुपैयाँमा लिलाम गरेको थियो । उक्त घर सुर्खेत ठेगाना भएका गोविन्द लामिछानेले खरिद गरेका थिए ।

पूर्व घरधनी लक्ष्मी विष्ट र स्थानीय टोलवासीले समेत हालको चलनचल्तीको दर अनुसार पनि उक्त घरको मूल्य कम्तीमा डेढ करोड पर्ने दावी गर्छन् ।

तर बैंकले अति न्यून मूल्यमा लिलाम गरेर पौडेल दम्पत्तिलाई घरवारविहीन बनाई अन्याय गरेको भन्दै टोलवासी, नागरिक समाज र दुर्गा प्रसाई नेतृत्वको अभियानका स्थानीय व्यक्ति समेतले पूर्व घरधनी पौडेललाई सोमबार घर भित्राएका हुन् ।

त्यसअघि उनीहरुले देवीनगरस्थित बैंकको शाखा कार्यालयमा केहीबेर ब्यानरसहित धर्ना दिएका थिए । पूर्व घरधनी लक्ष्मी विष्टले कोरोना महामारीको असर लगायतले व्यवसायमा मन्दी आएपछि बैंकको सावा ब्याज तिर्न समस्या भएको तर घर बिक्री गरेर ऋण चुक्ता गर्ने समझदारी हुँदाहुँदै बैंकको बुटवल शाखा प्रमुख कर्मचारी र लामिछानेबीच मिलेमतोमा निकै सस्तो मूल्यमा लिलाम गरिएको आरोप लगाइन् ।

बैंकका बुटवल शाखा प्रमुख चन्द्रबहादुर सारुसँगको समन्वयमा घरजग्गा बिक्री गरेर ऋण चुक्ता गर्ने समझदारीसमेत भएको र सोहीअनुसार घरजग्गा बिक्रीका लागि बैना गरिसकेको अवस्थामा बैंकले आफूलाई जानकारी नदिई गोप्य रूपमा लिलामी गरेको पौडेलको आरोप छ ।

घर लिलाम भएपछि पौडेल दम्पती दुवैजना डिप्रेसनको शिकार बनेको र अरूको घरमा शरण लिएर बस्न वाध्य भएको थाहा पाएपछि घर खरिद गर्ने व्यक्तिलाई पैसा फिर्ता गर्ने गरी पूर्व घरधनीलाई घर भित्राइएको टोलवासी गौरा केसीले बताइन् ।

घर लिलाम गर्दा घरमा सूचना टाँस नगरिएको र टोलवासीलाई समेत जानकारी नभएको केसीले बताइन् । ‘बुटवलको मिलनचोकमा ५३ लाख मूल्यमा तीन धुर जग्गा पनि पाइँदैन, अहिलेको बजार मूल्य अनुसार लिलाम भएको घरको मूल्य कम्तीमा डेढ करोड पर्छ,’ टोलवासी गौराले भनिन्, ‘उनीहरू अन्यायमा परेको महसुस भएपछि लिलाम सकार्ने व्यक्तिलाई लगानी फिर्ता दिने गरी पौडेल दम्पत्तीलाई घर भित्राएका हौं ।’

टोल विकास संस्थाका अध्यक्ष अशोक ढेंगामगरले टोलवासीलाई जानकारी नदिई कौडीको मूल्यमा घर लिलाम गरी कसैलाई घरवारविहीन बनाउन नहुने बताए ।

राष्ट्रिय नागरिक समाजका अध्यक्ष दीपक पौडेलले बैंक स्वयंले आफ्नो मूल्यांकनमा ८१ लाख ९१ हजार रुपैयाँ कायम गरेको र ५८ लाख रुपैयाँ कर्जा असुल गर्नुपर्ने अवस्थामा ५३ लाख रुपैयाँमा लिलाम गर्नुले लिलाम प्रक्रियामा मिलेमतोको आशंका रहेको बताए ।

‘बैंकको मूल्यांककन र लिलामी मूल्यबीचको अन्तरले लिलामी प्रक्रिया र त्यसमा संलग्न कर्मचारीको भूमिकामाथि प्रश्न उठेको छ,’ पौडेल भन्छन्, ‘अब बैंकलाई कुनै दोषारोपण गर्दैनौं, लिलाम सकार्ने लामिछानेले आफ्नो लगानी फिर्ता लिएर घर पुरानै घरधनीलाई फिर्ता दिनुपर्छ, यही नै सामाजिक न्याय हो ।’

बैंकका शाखा प्रमुख सारुले भने लिलामी सूचना निकालेर ऋणीलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गर्दा लिलाम हुन पुगेको बताए ।

लिलाममार्फत घर सकारेका लामिछानेले आफूले गरेको लगानी र त्यस यताको बैंक ब्याज पाए घर फिर्ता गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?