१९ असोज, काठमाडौं । ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्का प्रक्रियामा चलखेल गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र केन्द्रीय साइबर ब्युरो भोटाहिटीले संयुक्त रूपमा दोस्रो चरणको अनुसन्धान गरिरहेका छन् ।
दोस्रो चरणमा अहिलेसम्म ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबरा बताउँछन् । ‘हामीले ८ जनालाई विभिन्न मितिमा पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं । कसको के भूमिका छ, कसरी चलखेल भएको छ भन्ने अनुसन्धान जारी छ,’ एसएसपी जबराले अनलाइनखबरसँग भने ।
पक्राउ पर्नेमा भक्तबहादुर लामा, विष्णुमान लामा, किरण मल्ल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल, गंगाबहादुर सिलवाल र रितुबहादुर कार्की छन् ।
पक्राउ परेकाहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको थियो ।
ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको बताइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो संगठित अपराध भइरहेको खुलेपछि यसको अनुसन्धान साइबर ब्युरोभन्दा माथिल्लो निकाय सीआईबीसमेतको संयुक्त टोलीले गरिरहेका छन् ।
बोलपत्रको अन्तिम समय सकिएपछि अनधिकृत रूपमा पहुँच पुर्याएर सबैको विवरण हेर्ने र आफ्नो बोलपत्र प्रस्ताव स्वीकृत गर्न संशोधन गरी सबैभन्दा कम मूल्य राख्ने र टेन्डर हात पार्ने गरेको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थी बताउँछन् ।

यसका लागि ठेकेदार कम्पनीहरूसँग सम्पर्क गरी बार्गेनिङ गरेर रकममा कुरा मिलेपछि अनलाइन बोलपत्रमा डिजिटल गुण्डा (ह्याकर)हरूले पहुँच पुर्याएर विवरण संशोधन गर्दै ठेक्का हत्याउने गरेको सीआईबीको भनाइ छ ।
यो प्रकरणमा यसअघि नासु तथा कम्प्युटर अपरेटर दिवाकर देउजा पक्राउ परेका थिए । जो ई–बिडिङ ह्याकिङ प्रणालीका मुख्य ‘डिजिटल गुण्डा’ थिए ।
प्रोग्रामिङ, क्लाउड सर्भर र पीएचपी प्रयोग गरी आईएमएस सर्भर ह्याक गर्ने र ब्याकडोर सिर्जना गर्ने मुख्य काम उनै देउजाले गरेका थिए । उनले सञ्चालक व्यवस्थापकको रूपमा जीवन लिम्बू नामको नक्कली पात्र खडा गरी ठेकेदारहरूसँग ह्वाट्स एपमा सम्पर्क गर्ने, इमेलमार्फत बार्गेनिङ गर्ने र ठेक्का मिलाइदिने प्रलोभन देखाउँदै रकम असुलेको आरोप छ ।
यसरी सन् २०२३ देखि नै पीपीएमओको ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ई–टेन्डरमा पेस भएका बोलपत्रका विवरण हेरफेर गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार ठेक्का मिलाइदिने उद्देश्यले बोलपत्रका गोप्य विवरण हेर्ने, कम मूल्य राखेर प्रस्ताव संशोधन गर्ने तथा त्यसवापत आर्थिक लेनदेन हुने गरेको छ ।
यसरी आर्जन गरेको रकम बिटक्वाइनमार्फत विदेशसमेत पुग्ने गरेको छ । पहिलो चरणको अनुसन्धानमा भाष्करराज अर्याल नाम गरेका कम्प्युटर इन्जिनियरले बिटक्वाइनमार्फत कारोबारका लागि अमेरिकामा बसेका साथीमार्फत भुक्तानी गर्ने र नेपालमा नगदमा मिलान गर्ने गरेको खुलेको थियो ।
डिजिटल गुण्डागर्दी
नेपालमा गुण्डागर्दी लागेका व्यक्तिको पृष्ठभूमि केलाउने हो भने अधिकांशको नेक्सस ठेक्कापट्टासँग जोडिन्छ । अर्थात् गुण्डाहरू उत्पत्ति नै ठेक्कापट्टाबाट भएको देखिन्छ । आफ्नो क्षेत्रमा भएका ठेक्कापट्टामा कमिसन लिने, सलामी खानेदेखि दादा भत्ता भन्दै व्यवसायीबाट असुली गर्ने प्रवृति देखिन्छ ।
एक जमाना यस्तो थियो, गुण्डाहरूलाई खुसी नपारी ठेकेदारले काम गर्नसक्ने अवस्था नै थिएन । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैटेदेखि दिनेश अधिकारी (चरी) हुन् वा अहिले केन्द्रीय कारागार सुन्धारामा रहेका समीरमानसिंह बस्नेत हुन्, यी सबैको पृष्ठभूमि ठेक्कापट्टाको कसिमनमा जोडिन्छ ।
प्रहरी इन्काउन्टरमै मारिएका मनोज पुनदेखि अहिले राजनीतिमा लागेका मिलन गुरुङ (चक्रे मिलन, दीपक मनाङे (राजीव गुरुङ), गणेश लामा, रमेश बाहुन (रमेश पौडेल) परशुराम बस्नेतलगायत ठेक्कापट्टामा हुने गुण्डागर्दीमा नाम जोडिएका व्यक्ति हुन् ।
अझ गुण्डा नाइक समीरमानसिंह बस्नेतले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या गर्नुको कारण नै यही ठेक्कापट्टाको गुण्डागर्दी तथा कमिसनसँग जोडिएको थियो ।
निर्माण व्यवसायी गौचनको २३ असोज २०७४ मा हत्या भयो । राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी गौचनको हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्ति गाडीमा सवार गौचनलाई गोली प्रहार गरी फरार भएका थिए ।
यो घटनाका अनुसन्धान गर्दै जाँदा नयाँनयाँ तथ्य फेला पर्यो । सीआईबीका तत्कालीन एआईजी पुष्कर कार्कीले हत्याको मुख्य कारण नै ठेक्काको कसिमन रहेको खुलासा रहेका थिए । गौचनले सञ्चालन गर्दै आएको डााँफे कन्स्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्स्ट्रक्सनका त्यतिखेरका मुख्य लगानीकर्ता कुमार घैटेमार्फत साढे २ करोड लिएकोसमेत सीआईबीले त्यतिबेला बताएको थियो ।
घैटे प्रहरी इन्काउन्टरमा मारिएपछि उनकै समूहका गुण्डा नाइके बस्नेतले उक्त सेयर आफूले पाउनुपर्नेदेखि ठेक्काको कमिसनसमेत माग गरेको तर नपाएपछि योजना बनाएर हत्या गरेको खुलेको थियो । यसका मुख्य योजनाकार अहिले कारागारमा रहेका बस्नेत नै थिए ।
त्यतिबेला ठेक्कामा भौतिक तथा फिजिकल गुण्डागर्दी हाबी थियो । धम्की दिनेदेखि आक्रमण गर्ने र ज्यानै जानेसम्मको घटना हुन्थ्यो । गुण्डाहरूलाई कमिसन नबुझाई व्यवसायीले काम गर्नै पाउँदैनन्थे । तर अहिले ठेक्कामा गुण्डागर्दीको शैली परिवर्तन भएको छ । पहिले पाखुरा देखाएर कमिसन लिने गुण्डागर्दी शैली अहिले डिजिटल रूपमा देखिन थालेको छ ।
प्रविधिको विकाससँगै प्रयोगमा आएको ई–बिडिङ प्रणालीलाई नै ह्याक गरी आफू अनकूल ठेक्का हात पार्ने र त्यसरी ह्याक गरी ठेक्का पारिदिए वापत डिजिटल गुण्डा (ह्याकर)हरूलाई ठेकेदारले कमिसन बुझाउने चलन देखिएको छ । यसको दोस्रो चरणको अनुसन्धान अहिले जारी छ ।
‘पहिले कमिसन नदिए सिधै ज्यान मार्नेसम्मको धम्की दिइन्थ्यो, तर अहिले स्मार्ट ह्याकहरूको प्रयोग गरी ठेक्का नै हत्याउनेसम्मको डिजिटल गुण्डागर्दी ठेक्कापट्टामा देखिन्छ,’ अनुसन्धानमा संलग्न एक जुनियर प्रहरी अधिकारी भन्छन्, ‘प्रविधिसँगै गुण्डागर्दी पनि डिजिटलमा सिफ्ट भएको देखिन्छ ।’
पहिलो चरणको अनुसन्धान, एक मात्रै जेलमा
यसअघि यो प्रकरणमा सीआईबी र साइबर ब्युरोले नै संयुक्त अनुसन्धान गर्दै २७ वैशाखमा २२ जनाविरुद्ध मुद्दा चलाएका थिए । लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
त्यतिबेला शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्युटर अपरेटर ३३ वर्षीय दिवाकर देउजा, बझाङको दुर्गाथली गाउँपालिका–३ का २५ वर्षीय भरत धामी, तनहुँको बन्दीपुर घर भएका थुम्का निर्माण सेवा प्रालिका सञ्चालक ३९ वर्षीय सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्सन र शिवओम सप्लायर्सका सञ्चालक ४० वर्षीय सागर कटुवाल, काठमाडौंका ३५ वर्षीय भाष्कर कटुवाल प्रतिवादी थिए ।
त्यसैगरी, गीताञ्जली कन्स्ट्रक्सन दुहवीका सञ्चालक ६२ वर्षीय जीवनकुमार दास, शिभांश निर्माण सेवाका सञ्चालक ३९ वर्षीय अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका सञ्चालक ६४ वर्षीय टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक ३२ वर्षीय अमृत बोहोरा, कालिका कन्स्ट्रक्सनका सञ्चालक ७४ वर्षीय विक्रम पाण्डे, आइकोन प्रालिका सञ्चालक ३० वर्षीय स्वदेश पोखरेल छन् ।
कलपवृक्ष विल्डर्सका सञ्चालक प्रकाश ढुंगाना, आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली, केबीके कन्स्ट्रक्सनका सञ्चालक राहुलजंग कार्की, मान कन्स्ट्रक्सनका सञ्चालक नारायणप्रसाद सिटिखु, रेमिट इन्फास्ट्रक्चरका सञ्चालक इन्द्रबहादुर बोहोरा, एसके कन्स्ट्रक्सनका सञ्चालक शान्तकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको थियो ।
दक्षिणकाली अल ओभरका सञ्चालक निरञ्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माणका प्रोक्युरमेन्ट ज्योति सुवेदी, चपुर निर्माण र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिकका सञ्चालक सुजन अधिकारीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।
जसमा १२ जना पक्राउ परेका थिए भने १० जनालाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेकामध्ये एक जना मात्रै कारागार चलान भएका थिए । सरकारी कर्मचारी तथा कम्प्युटर अपरेटर नासु दिवाकर देउजा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
कालिका कन्ट्रक्सनका सञ्चालक तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख, प्रकाश ढुंगाना ४ लाख, सञ्जय भट्ट १० लाख, जीवनकुमार दास ५ लाख, अमृत बोहोरा ४ लाख धरौटी, सागर कटुवाल ५ लाख, अनिल श्रेष्ठ ४ लाख, भाष्करराज अर्याल १० लाख, टंककुमार श्रेष्ठ ४ लाख, स्वदेश पोखरेल ४ लाख र ऋषिकेश गौली ४ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया 4