१९ असोज, काठमाडौं । आईएमई ग्रुप सिनर्जी कप उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ ।
खेलमा स्वीफ्ट टेक्नोलोजीले आईएमई वारियर विरुद्ध ५–१ को फराकिलो जित निकाल्न सफल भएको हो ।
काठमाडौं धन्वन्तरी फुटसल मैदानमा आईएमई ग्रुपले आयोजना गरेको सिनर्जी कप अन्तर्गत पहिलो खेल भने आईएमई ग्रुप म्यानेजमेन्ट समूह र ग्रुप कम्पनी अन्तर्गतका कम्पनी सीईओबीच भएको थियो । जसमा आईएमई ग्रुप म्यानेजमेन्ट समूहले २–० को जित निकाल्न सफल भएको हो ।
आईएमई ग्रुप अन्तर्गत रहेका १८ कम्पनीले खेलमा सहभागिता जनाएका थिए । खेलमा पहिलो उपाधि रक्षा गरेको स्वीफ्ट टेक्नोलोजीले १ लाख नगद प्राप्त गर्दा दोस्रो र तेस्रो हुने समूहले क्रमश: ५० हजार र ३५ हजार नगद प्राप्त गरेका छन् ।
खेल सुरु हुनुअघि सिनर्जी कप उद्घाटन सत्रमा बोल्दै आईएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई ग्रुपको आयोजनामा भएको यो खेलले ग्रुपका प्रत्येक कर्मचारीबीच सौहार्द्रता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा ट्रफी हस्तान्तरण गर्दै आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले खेलमा सहभागी प्रत्येक समूहले उत्तिकै शानदार प्रदर्शन गरेको उल्लेख गरे । उनले आगामी वर्षको खेलका लागि थप ऊर्जासाथ सहभागिता जनाउन प्रत्येक समूहलाई शुभकामना दिए ।
आईएमई ग्रुपको आयोजनामा पहिलो पटक भएको सिनर्जी कप २०८३ को डिसहोम अन्तर्गतको एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
प्रतिक्रिया 4