+
+
Shares

डब्लूएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता उठाउने

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद क्षेत्रीय निर्देशकका लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १९:२५

१९ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद क्षेत्रीय निर्देशकका लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार उठाउने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. मिश्रालाई डब्लूएचओ सेरोको नेतृत्वमा पुर्‍याउन सरकारले निर्णय गरेर सदस्य राष्ट्रहरूसँग कूटनीतिक समन्वय र समर्थन जुटाउन लबिङ सुरु गरिसकेको छ ।

डब्लूएचओले नयाँ क्षेत्रीय निर्देशक चयनको औपचारिक कार्यतालिका चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ ।

आगामी अक्टोबर १२ मा उम्मेदवारी आह्वान गर्ने र जनवरी २४ मा निर्वाचन गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ । नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंकाले पनि आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरिरहेका छन् ।

डब्लुएचओको दक्षिण–पूर्वी एसियाली क्षेत्रमा ११ सदस्य राष्ट्र छन् । तर, यसपटक १० देशले मात्रै मतदान गर्न पाउनेछन् । सन् २०२१ को सैन्य ‘कु’ पछि संयुक्त राष्ट्रसंघको प्रतिबन्धमा रहेका कारण म्यानमार मतदान प्रक्रियाबाट बाहिर रहनेछ ।

नेपाल, भारत, भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेलगायतका देश निर्वाचनमा निर्णायक मतदाता मानिन्छन् ।

विशेषगरी भारतको समर्थन कसलाई रहन्छ भन्ने विषयले निर्वाचनको परिणाममा ठूलो प्रभाव पार्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँलाई निर्देशकको उम्मेदवारका लागि मन्त्रीपरिषद्ले समेत निर्णय समेत गरेको छ । अब सदस्य राष्ट्रहरूसँग मत जुटाउने गृहकार्यमा जुटेका छौं ।’

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका पालामा डा. मिश्रालाई स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रस्ताव गरिएको थियो । उनको नाम अनुमोदनका लागि राष्ट्रपतिको कार्यालयमा समेत पठाइएको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेर छानबिन भइरहेको जानकारी पाएपछि उनलाई मन्त्री नियुक्त गर्ने निर्णयबाट कार्की पछि हटेकी थिइन् ।

विशेष अदालतले गत १ असारमा उनलाई उक्त मुद्दामा सफाइ दिएको थियो ।

यसअघि सन् २०२३ मा भएको सेरो क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट डब्लूएचओ मुख्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य उम्मेदवार बनेका थिए । तर, तत्कालीन बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले ८ मत प्राप्त गर्दा आचार्यले २ मत मात्रै पाएका थिए ।

बंगलादेशमा भएको राजनीतिक परिवर्तन, वाजेदमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोप तथा डब्लूएचओको आन्तरिक छानबिनपछि उनलाई पदबाट निलम्बन गरिएको थियो । त्यसपछि उनले सेप्टेम्बर ९ मा क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?