२० असोज, बार्सिलोना। नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) ले आगामी २९ र ३० नोभेम्बरमा लक्जेम्बर्गमा ‘नेपाल-युरोप प्रविधि, व्यापार तथा लगानी सम्मेलन-२०२६’ आयोजना गर्ने भएको छ।
सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले युरोपमा रहेका नेपाली व्यवसायी, लगानीकर्ता तथा दोस्रो पुस्ताका युवालाई नेपालसँग जोड्दै युरोपेली लगानी र प्रविधि नेपाल भित्र्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको जनाएको हो।
नेबा युरोपका सदस्य चिरन खवासका अनुसार सम्मेलनमा नेपाली सहभागी मात्र नभई स्थानीय तथा अन्य युरोपेली व्यवसायी र लगानीकर्ताको सहभागिता पनि गराउने तयारी छ। ‘नेपालबाट युरोप ल्याइने धेरै उत्पादन नेपालीले मात्रै प्रयोग गर्ने खालका छन्। हाम्रो चाहना भनेको नेपाली उत्पादनलाई युरोपको ठूलो मूलधारको बजारमा पुर्याउनु हो’, खवासले भने।
उनका अनुसार नेपाली उत्पादनको गुणस्तर र निरन्तर आपूर्तिमा सुधार आवश्यक छ। त्यसका लागि युरोपमा रहेको प्रविधि नेपालमा हस्तान्तरण गर्ने विषयलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ।
नेबा युरोपका अध्यक्ष याम निरौलाका अनुसार युरोपमा पहिल्यै नेपालमा लगानी गरिसकेका र पुनः लगानी गर्न इच्छुक लगानीकर्तालाई एउटै मञ्चमा ल्याउने प्रयास हुनेछ। ‘हामी युरोपमा भएका ती लगानीकर्तालाई एक ठाउँमा जम्मा गर्न चाहन्छौँ, जसले पहिल्यै नेपालमा लगानी गरिसकेका छन् र फेरि लगानी गर्ने तयारीमा छन्’, निरौलाले भने।
सम्मेलनमा युरोपमा हुर्किएको नेपाली दोस्रो पुस्तालाई पनि उद्यमशीलता र नेपालसँगको आर्थिक सम्बन्धमा जोड्ने विषय समेटिएको छ।
नेपालमा विदेशी तथा गैरआवासीय नेपालीको लगानी सहज बनाउन एकद्वार प्रणाली आवश्यक रहेको आयोजकको भनाइ छ। निरौलाले गैरआवासीय नेपाली नागरिकता तथा अधिकारका विषय पनि लगानीसँग जोडिने बताए ।
सम्मेलनमा करिब ३ सय सहभागी रहने प्रारम्भिक अनुमान छ । आयोजकका अनुसार प्रतिव्यक्ति करिब २०० युरो दर्ता शुल्क उठाउने योजना छ। त्यसबाट आउने रकमबाहेक करिब ४० हजार युरो प्रायोजनबाट व्यवस्थापन गर्ने योजना छ।
आयोजकले सम्मेलनलाई ठूलो खर्चको तडकभडकपूर्ण कार्यक्रमभन्दा पनि नेपाल र युरोपबीच वास्तविक व्यापार, लगानी र प्रविधि सहकार्यको सुरुवातका रूपमा लिएको जनाएको छ। ‘२९ र ३० नोभेम्बरलाई हामी पहिलो दिनका रूपमा लिएका छौँ। त्यसपछि हाम्रो वास्तविक यात्रा सुरु हुन्छ’, निरौलाले भने।
प्रतिक्रिया 4