२० असाेज, विराटनगर । मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाकाे मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
सोमबार मोरङको धनपालथान गाउँपालिका–६ रङ्गकालीस्थित हुलाकी सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । रंगेलीबाट विराटनगरतर्फ जाँदै गरेको को १९ प ७७४७ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा को १९ प ७७४७ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका–७ मिलन चोक बस्ने २२ वर्षीय दिलिप विकको मृत्यु भएको हो । को १९ प २ नम्बरको मोटरसाइकल चालक धनपालथान गाउँपालिका–५ बस्ने २५ वर्षीय रुपेश सरदारको उपचार भइरहेको छ ।
दुवै मोटरसाइकल प्रहरी चौकी कर्सियाको नियन्त्रणमा राखिएको छ। तीव्र गतिको कारण यो दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
त्यस्तै बुढीगंगा गाउँपालिका–२ स्थित नेपाल फ्युल सेन्टर अगाडि कोशी लोकमार्गमा दुर्घटना हुँदा सिरहाको लहान नगरपालिका–३ बस्ने १८ वर्षीय डाइमन कुमार कुश्वाहाको मृत्यु भएको हो ।
विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्र.०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले विपरीत दिशा तर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार सिरहाको लहान नगरपालिका–३ बस्ने १८ वर्षीय डाइमनकुमार कुश्वाहा गम्भीर घाइते भएका थिए । उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा चालक सिरहा लहान नपा–२ बस्ने १७ वर्षीय राहुल कुश्वाहा र साइकल यात्री सुनसरीको दुहबी नगरपालिका–१ बस्ने २२ वर्षीय साहजित मियाँ घाइते भएका छन् ।
त्यस्तै मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–६ किराँत चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार इटहरीबाट गाईघाटतिर जाँदै गरेको को १ क ३४१८ नम्बरको ट्रकको अगाडिको टायर पन्चर हुँदा सोमबार दिउँसो ३ः३० बजेतिर दुर्घटना भएको थियो ।
विपरीत दिशाबाट आउँदै गरेको लु प्र–०२–००२ प २८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रोल्पा घर भएका अन्दाजी ५६ वर्षीय दले पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4