२० असोज, पोखरा । कमला थापा मगरको घर पुरानो फर्से बजारको एक छेउमा थियो । उनका श्रीमान् बितेको ११ दिन मात्र भएको थियो । आफन्त र छिमेकीहरूले उनको दु:खमा साथ दिइरहेका थिए । बिहानीपख एक्कासि कालीगण्डकी उर्लिन थाल्यो र भागदौड मच्चियो ।
हेर्दाहेर्दै बाढी उनकै घरछेउबाट सोहोर्दै बजार पस्यो र क्षणभरमै क्षतविक्षत बनाइदियो । आइतबार अनलाइनखबरको टिम फर्से बजार पुग्दा आफ्नो भत्किएको घर हेरेर गहभरि आँसु पार्दै थिइन्, कमला । आफ्नो घरबाट कालीगण्डकीलाई हेर्दै टोलाइरहेकी उनले यस्तो बिपत्ति आइपर्ला भन्ने सोचेकै थिइनन् ।
‘घरमा आफन्त र छिमेकीहरू थिए । श्रीमान् बितेकाले अन्तिम दिनको कर्म गर्न जमघट भएको थियो । त्यसैले एकले अर्कालाई उठाउँदै बाढीबाट भाग्न सफल भयौं,’ कमलाले भावुक हुँदै त्यो दिन सम्झिइन्, ‘एकातिर श्रीमान् बितेको चोट, अर्कोतिर सबथोक गुमाउँदाको पीडा कसरी सहनु ? तैपनि ज्यान त बाँच्यो भन्नुपर्ने स्थिति छ ।’
असोज ११ गते उर्लिएको कालीगण्डकीले म्याग्दी बेनीदेखि नै विध्वंश मच्चाइरहेको थियो । पर्वतको जलजला गाउँपालिका–८ को फर्से बजार नजिकै लस्दी खोलामा पनि पहिरोसहित बाढी आयो र कालीगण्डकीमै मिसियो ।
लस्दी खोलाको बाढीसँगै कालीगण्डकी अर्को किनारको ढिस्को हुँदै ठोक्कियो र ११ गते एकाबिहानै पर्वतकै पुरानो बजारमध्येको एक फर्से बजारमा पस्यो । भकारीले बारेका, खरले छाएका घरहरू रहेको फर्सेमा आधुनिक घरहरू थपिँदै थिए ।

पुरानो फर्से बजारको बीचबाट गएको ऐतिहासिक रुटदेखि तल नदी किनारतिर कच्ची घर धेरै थिए भने बाटोमाथि पक्की घर बन्ने क्रम जारी थियो । भारतको नाका त्रिवेणीदेखि चीनको तिब्बतसम्म पुग्ने, कालीगण्डकीको किनारैकिनार मुक्तिनाथ मन्दिरसम्म पुग्ने र बटौलीदेखि पर्वतको पश्चिमी क्षेत्र र बागलुङ, म्याग्दीसम्म नुन बोकेर जाने ऐतिहासिक बाटो पनि यही फर्से बजार हुँदै जान्थ्यो ।
अब भने फर्से बजारको त्यो विगत र विरासतमाथि कालीगण्डकीले धाबा बोल्दै १०० घरलाई विस्थापित पारिदिएको छ । अब फेरि त्यहीँ ठाउँमा जाने कि राज्यले अन्तै व्यवस्था गर्छ भनेर भन्न सक्ने अवस्थामा प्रभावित नागरिक पुगिसकेका छैनन् ।
११ गतेको बाढीले पुरानो फर्से बजार बगर बनाउँदा धेरै नागरिक बेघर हुन पुगेका छन् भने वर्षौं लगाएर किनेको, निर्माण गरेको घरजग्गा नै बगाइदिँदा भक्कानिइरहेका छन् ।
विदेशमा १३ वर्षसम्म दु:ख गरेर जोडेको घरजग्गा बाढीले बगाइदिएपछि वसन्ती विकको आँखा ओभाएका छैनन् ।
‘नेपालमा भारी बोकेर २–४ वर्ष धेरथोर कमाएँ । त्यसले नपुगेपछि इराकमा गएर थोरै तलबले पनि ३ वटा छोराछोरी हुर्काएकी थिएँ । घरजग्गा जोडेकी थिएँ । ६ लाखको तमसुक छ,’ वसन्ती भक्कानिइन्, ‘सरकारले बस्ने बाससम्म छिटो मिलाइदिए हुन्थ्यो ।’

फर्से बजार चोकमा राहत सामग्री लिएर विभिन्न संस्थाहरू पुगिरहेका छन् । घरजग्गा र सम्पत्ति भए पनि घरसहित अन्न उब्जनीसहित सबै बगाएका धेरै फर्सेवासी त्यसैमा चित्त बुझाइरहेका छन् । हामी पुग्दा फर्से बजार चोकमा राहत लिन र छलफल गर्न स्थानीय भेला भएका थिए । उनीहरूको माग थियो, ‘सरकारले छिटो बासको व्यवस्था गरिदेओस् ।’
आफन्त र अन्य ठाउँमा बास नहुनेहरूलाई संघ, प्रदेश र स्थानीय सरकार मिलेर टेन्ट टाँगेर अस्थायी क्याम्प खडा गरिदिएका छन् ।
अहिले अस्थायी क्याम्पमा २७ घरपरिवार मिलेर बसेका छन् । उनीहरूलाई राहत र जलजला गाउँपालिकाले पनि खाने प्रबन्ध मिलाइरहेको छ । कतिपय भने घर बगेर पनि गोठ बँचेको छ भने त्यहीं बस्तुभाउसँगै बस्ने प्रबन्ध मिलाएर दिन कटाइरहेका छन् । फर्से बजार चोकमा भेला भएका स्थानीयहरू यस पटक किन र कसरी वर्षौं पुरानो बस्ती नै बगाउने गरी बाढी आयो भनेर चकित गर्दै बहस गरिरहेका थिए ।
‘पोहोरै पनि त योभन्दा ठूलो बाढी आएको थियो तर कुनै डर थिएन । योभन्दा ठूलो बाढी त कति आयो, आयो । तर कत्ति पनि जोखिम थिएन । किनारबाट धेरै नै टाढा थियो,’ प्रभावित खड्कबहादुर केसीले भने, ‘यो भोटेकोशी जस्तो ठाडो खोला पनि होइन, तीव्र गति पनि हुँदैन । यो ढुंगा, गिटी बालुवाको उत्खननका कारण नदीले धार परिवर्तन गर्दा भएको हो ।’

नदीजन्य पदार्थको उत्खननले नदीले धार परिवर्तन गर्दा क्षति पुगेको बताउने फर्से बजारका अधिकांश मानिस भेटिन्छन् ।
बाढीले करिब १५० वर्षभन्दा पहिले बनेको भनिएको एउटा झोलुंगे पुलको पिल्लरै ढलाइदियो । जुन पहिले कालीगण्डकीको किनारभन्दा धेरै माथि थियो । बाढीले कृषि उपज संकलन केन्द्र, डेढ सताब्दी पुरानो भनिएको मन्दिरसहित धेरै संरचना भत्काइदिएको छ ।
बाढीका कारण अब फेरि त्यहीं बस्ती बसाल्ने कि नबसाल्ने भन्नेबारे सरकारले निर्णय गरिनसकेको पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री बताउँछन् ।
‘बस्न मिल्ने घर छन् भने त्यहीं बस्ने, बस्नै नमिल्ने घरका कोही आफन्तकोमा बस्नुभएको छ । केही पनि नहुनेलाई अहिले टेन्टमा राखिएको छ,’ सीडीओ क्षेत्रीले भने, ‘बेघर हुनेहरूलाई स्थायी बासका निम्ति केही निर्णय आइसकेको छैन ।’






प्रतिक्रिया 4