+
+
Shares

आफैं थलिएको जनकपुर प्रादेशिक अस्पताल : आईसीयू कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान

जनकपुर प्रादेशिक अस्पतालमा ७ बेड आईसीयू र तीन बेडको भेन्टिलेटर सञ्चालनमा छन् । बिरामीको चापले बेडहरू खाली नै हुँदैनन् । जसका कारण समयमै उपचार नपाउँदा कतिपय बिरामीले ज्यान नै गुमाउनु परेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ असोज २० गते २०:०२
Listen News
0:00
0:00
🔊

२० असोज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ की ६५ वर्षीया मिथिलादेवी कर्ण सोमबार बिहान जनकपुर प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा छटपटाइरहेकी थिइन् ।

लामो समयदेखि दम रोगबाट थलिएकी मिथिलादेवीलाई आईसीयूमा भर्ना गर्नुपर्ने थियो । तर प्रादेशिक अस्पतालमा रहेको ७ बेडको आईसीयू बिरामीले भरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएकी उनलाई निजी अस्पतालको आईसीयूमा उपचार गराउने क्षमता परिवारसँग छैन । त्यसैले परिवार यही अस्पतालको आईसीयू खाली हुने प्रतीक्षामा थियो ।

‘मधेश सरकारको ठूलो अस्पताल हो भन्छन्, तर आईसीयू खाली छैन । हामी जस्ता गरिबले कहाँ, कुन अस्पतालमा गएर उपचार गराउने ?,’ कुरुवा बसेकी मिथिलादेवीकी छोरी रिताले प्रश्न गरिन्, ‘हामीलाई यही अस्पतालमा प्रतीक्षा गर्नुको विकल्प छैन ।’

जनकपुर प्रादेशिक अस्पतालको आकस्मिक कक्षको अर्को शय्यामा आइतबार बिहान ९ बजे भर्ना भएका लोहारपट्टी नगरपालिकाका ५५ वर्षीय राजीव मुखिया बिरामले सिकिस्त छन् । चिकित्सकले उनलाई जतिसक्दो चाँडो आईसीयूमा भर्ना गराउनुपर्ने बताइरहेका छन् ।

तर उनको पनि आर्थिक अवस्था कमजोर छ । परिवारलाई खान–लाउनसमेत मुस्किल छ । अर्को अस्पतालमा गएर आईसीयूमा भर्ना गराउने अवस्था छैन । त्यसैले प्रादेशिक अस्पतालकै आईसीयू कुर्नुपर्ने बाध्यता मुखियाको परिवारलाई छ । त्यसैले उनी आईसीयूको बेड पर्खिरहेका छन् ।

धनुषाकै बटेश्वर गाउँपालिका–२ पाटोटोलका ७४ वर्षीय रामप्रसाद साह सोमबार बिहान ९ बजे प्रादेशिक अस्पतालमा भर्ना भए । रेड बेड नम्बर–४ मा भर्ना भएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित छन् । उनी सिकिस्त छन् । चिकित्सकले आईसीयूमा राख्नुपर्ने सुझाव दिएका थिए । तर आईसीयू बेड खाली नभएपछि उनी कुरिरहेका थिए ।

रामप्रसादका छोरा विजेन्द्रकुमार साहले यत्रो ठूलो सरकारी अस्पतालमा आईसीयू बेड कुर्नुपर्ने बाध्यता दुर्भाग्यपूर्ण रहेको बताए । ‘ठूलो अस्पताल भन्छन् । अस्पताल अनुसारको आईसीयू पनि हुनुपर्‍यो नि ! नामका लागि ठूलो भनेर के गर्नु । हेर्नुस्, मेरो बुबा जस्ता धेरै सिकिस्त बिरामीहरू आईसीयू कुरिरहनुभएको छ,’ उनले भने, ‘गरिब मान्छे बिना पैसा कहाँ, कुन अस्पतालमा उपचार गराउन जान सक्छ ? सरकार जिम्मेवार बन्नुपर्छ ।’

बिहान ११ बजेसम्म उनीहरू जस्तै चार जना सिकिस्त बिरामी आईसीयू कुरिरहेका थिए । तर उनीहरू गरिब तथा विपन्न परिवारका भएकाले प्रादेशिक अस्पतालमै सकभर चाँडो आईसीयू पाउने प्रतीक्षामा थिए ।

प्रादेशिक अस्पतालमा ७ वटा आईसीयू र तीन बेडको भेन्टिलेटर सञ्चालनमा छन् । बिरामीको चापले बेडहरू खाली नै हुँदैनन् । यसले कतिपय बिरामीले समयमै आईसीयूमा उपचार नपाउँदा ज्यान नै गुमाउनु परेको छ । यसको उदाहरण हो, गत असोज १३ गते राति सर्पले डसेपछि आफैं उपचार गराउन आएका एक युवकले अनाहकमै ज्यान गुमाउनुपर्‍यो ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादवलाई राति साढे १२ बजे सर्पले टोकेपछि उनी आफैं स्कुटी चलाएर प्रादेशिक अस्पताल जनकपुर आइपुगेका थिए । आफैं पुर्जी कटाएर भर्ना भएका उनलाई १० वटा एन्टीस्नेक भेनम चलाइसकिएको थियो ।

अवस्था सिकिस्त भएपछि आईसीयूमा राखेर उपचार गर्नुपर्ने सल्लाह चिकित्सकले दिए । तर अस्पतालमा आईसीयू तथा भेन्टिलेटर खाली थिएन । अस्पतालले रेफर गरेपछि उनलाई जनकपुरकै ओम दीर्घायू अस्पताल लगियो । तर त्यहाँ एन्टीस्नेक भेनम नभएको भन्दै भर्ना नलिएपछि बर्दिबास सर्पदंश उपचार केन्द्रमा लैजाँदा चिकित्सकले मृत घोषणा गरे ।

आर्थिक क्षमता वा बाध्यताले यस अस्पतालमा आएका बिरामीहरू निजीमा अस्पतालमा भर्ना गराउन बाध्य हुन्छन् ।

आकस्मिक कक्षमा दैनिक १०० देखि १२५ जनासम्म सिकिस्त बिरामी भर्ना हुने गर्छन् । आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूका अनुसार आईसीयू र भेन्टिलेटर अभावमा कतिपय बिरामीको ज्यान जान्छ ।

‘यहाँ प्राय: सिकिस्त किसिमकै बिरामी आउँछन् । अन्य ठाउँबाट रेफर भएर आएका हुन्छन् । त्यसैले उनीहरूको लागि आईसीयू–भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर यहाँको अवस्था यस्तो छ । आईसीयू नपाएर कतिपयले ज्यान नै गुमाउनुपरेको छ,’ एक चिकित्सकले भने ।

जनशक्ति पनि अभाव

प्रादेशिक अस्पताल  जनकपुरमा ७ बेड आईसीयू र तीन बेड भेन्टिलेटर सञ्चालनमा छन् । जसमा अहिले १६ जना स्टाफ नर्स छन् । जबकि, संघीय सरकारको गाइडलाइनअनुसार कम्तीमा ४५ जना नर्स चाहिन्छ ।

एउटा भेन्टिलेटरअनुसार एक सिफ्टमा एक जना स्टाफ नर्स चाहिन्छ । यसरी चार सिफ्टको लागि एउटै भेन्टिलेटर बेडको लागि चार जना चाहिन्छ । तर अहिले जम्मा ६ जनाले पूरै काम चलाइरहेको प्रादेशिक अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहको भनाइ छ । जनशक्ति थपिए तुरन्तै आईसीयू र भेन्टिलेटर थपिने उनले बताए ।

‘मूलत: जनशक्तिको समस्या छ । जनशक्ति थपियो भने अहिले आईसीयू र भेन्टिलेटर बेड थप्न सक्छौं,’ उनले भने ।

२०४८ सालमा १०० बेड स्वीकृत यस अस्पताल अहिलेसम्म स्तारोन्नति भएको छैन । नयाँ दरबन्दी स्वीकृत पनि भएको छैन । अस्पतालका सूचना अधिकारी डा. रामज्ञान यादवका अनुसार अहिले ३९० बेडको अस्पताल सञ्चालनमा छ । जेनतेन आन्तरिक स्रोतबाट व्यवस्थापन गरी जनशक्ति व्यवस्थापन भइरहेको छ । दैनिक दुई हजारको हाराहारीमा बिरामी आएको कारण अहिले अस्पताललाई ८०० बेड आवश्यक छ ।

मधेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेर साविक जनकपुर अञ्चल अस्पताललाई आफ्नो मातहत ल्याए पनि अहिलेसम्म न कानुनत: बेड थप गरेको छ, न त नयाँ स्वीकृत दरबन्दी कायम गरेको छ ।

मधेश सरकारले पनि बिरामीको चापअनुसार प्रादेशिक अस्पताललाई जनशक्ति व्यवस्थापनको लागि बजेट दिने गरेको छैन । यसकारण प्रादेशिक अस्पतालको उपचार सेवा अस्तव्यस्त छ । पछिल्लो समय यो अस्पताल रेफर सेन्टर बन्दै गएको छ ।

अस्पतालका निर्देशक डा. जामुन प्रसादले भएको साधनस्रोतबाट सकभर प्रभावकारी उपचार सेवा प्रदान गर्ने प्रयास गरिरहेको दाबी गरे ।

‘भएको साधनस्रोतबाटै प्रभावकारी उपचार सेवा दिने प्रयास गरिरहेका छौं । तर आवश्यक जनशक्ति नहुँदा बिरामीको चापअनुसार कठिनाइ छ । सुधार गर्ने प्रयासमा छौं,’ उनले भने ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?