२० असोज, काठमाडौं । दसैंका अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ ।
पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो ।
बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान), होटल व्यवसायी महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्था सहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको छ ।
सम्झौता अनुसार विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरी दसैं अवधिभरि सञ्चालन गरिने छ । विशेषगरी पर्यटक आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो ।
पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा संस्थाबीच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भिड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने उल्लेख छ ।
दसैं सकिएपछि पिङ हटाइ निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारी समेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ ।
पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्व संरक्षण तथा प्रवर्द्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले दसैंमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन कार्यक्रम अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया 4