काठमाडौं । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’ को छायांकन सकिएको छ । ९० दिनमा छायांकन पूरा भएको निर्माण टिमले जानकारी दिएको छ।
फिल्मका दृश्य सर्लाही, काभ्रेको दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा छायांकन गरिएको हो ।
कलाकार तथा प्राविधिकको मेहनत र सहकार्यमा छायांकन सम्पन्न भएको जनाउँदै निर्माण टिमले अब पोस्ट–प्रोडक्सनमा पनि पर्याप्त समय र ध्यान दिने बताएको छ । दर्शकलाई उत्कृष्ट चलचित्र प्रस्तुत गर्ने उद्देश्यले निर्माणका हरेक चरणमा गुणस्तरलाई प्राथमिकता दिइएको टिमको दाबी छ ।
अस्त्र फिल्मसको ब्यानरमा निर्मित फिल्म ‘जुबा’ की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे हुन् । कथा तथा निर्देशन प्रकाश कर्णको रहेको छ भने लेखन वर्षा पौडेलले गरेकी हुन् ।
फिल्ममा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् । सुधनको यो तेस्रो चलचित्र भए पनि मुख्य भूमिकामा भने पहिलो हो । उनले यसअघि अभिनय गरेका दुई चलचित्र प्रदर्शन हुन बाँकी छन् ।
‘जुबा’को निर्माण घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो ।
फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । पोस्ट–प्रोडक्सनको प्रगतिसँगै उपयुक्त प्रदर्शन मिति निर्धारण गरी छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।
प्रतिक्रिया 4