२१ असोज, काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले नेपाल निर्माण व्यवसायी महासंघको वर्तमान कार्यसमितिले ६ निर्माण व्यवसायीको दीर्घकालीन समस्या समाधानमा महत्त्वपूर्ण काम गरेको भन्दै महासंघ कार्यसमितिलाई बधाई दिएको छ ।
परिषद् अध्यक्ष बलिभद्र राना नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार महासंघ अध्यक्ष निकोलस पाण्डेलाई भेट्दै बधाई सहित सम्मान व्यक्त गरेको महासंघले जनाएको छ ।
पाण्डे नेतृत्वको कार्यसमितिले पूर्वाधार क्षेत्रको समग्र सुधारका लागि देखाएको सक्रियता, दृढ इच्छाशक्ति, समन्वयकारी भूमिका तथा परिणाममुखी कार्यसम्पादनप्रति परिषद्तर्फबाट बधाई सहित सम्मान व्यक्त गरिएको परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार करिब दुई दशक अघिदेखि निर्माण व्यवसायीले उठाउँदै आएका सार्वजनिक खरिद ऐन २०८३ संशोधनका विषयलाई निर्णायक रूपमा अघि बढाइ व्यवसायीका दीर्घकालीन मागलाई कानुनी सम्बोधन गराउन महासंघ वर्तमान कार्यसमितिको अहम् भूमिका रहेको छ ।
निर्माण व्यवसायीहरूको मुख्य एजेन्डाका रूपमा रहेको सार्वजनिक खरिद प्रणालीमा औसत दर प्रणाली लागु गराउनु पनि वर्तमान कार्यसमितिको महत्त्वपूर्ण उपलब्धि भएको परिषद्को निचोड छ ।
महासंघ पहलमा व्यवसाय अनुकूल हुने गरी सार्वजनिक खरिद नियमावलीको पन्ध्रौं तथा सोह्रौं संशोधन आएको तथा नेपाल राष्ट्र बैंकबाट व्यवसायमैत्री मौद्रिक नीति जारी भएको परिषद्को भनाइ छ ।
सार्वजनिक उत्तरदायित्व बोध गर्दै सामाजिक कार्यमा समेत अर्थपूर्ण सहभागिता जनाइरहेको महासंघ कार्यसमितिले स्वदेशी तथा विदेशी मञ्चहरूमा मुलुकको पूर्वाधारका एजेन्डा जोडदार रूपमा प्रस्तुत गरेको परिषद्को भनाइ छ ।
लामो समयदेखि विविध प्राविधिक तथा कानुनी समस्या झेल्दै आएका व्यवसायीलाई सम्बन्धित प्रदेशमै समस्या समाधान गर्ने उद्देश्यले सबै प्रदेशमा प्राविधिक तथा कानुनी शाखा स्थापना गर्नु महासंघको महत्त्वपूर्ण उपलब्धि भएको परिषद् अध्यक्ष रानाले बताए ।
प्रतिक्रिया 4