+
+
Shares

फ्रान्समा विद्यार्थी आन्दोलनले देखायो ऋण संकट, युरोपभर असर पर्नसक्ने

फ्रान्समा माध्यमिक तहका विद्यार्थीहरूले कर्मचारी अभाव समाधान गर्न, कक्षाकोठामा हुने अत्यधिक भीड कम गर्न तथा जीर्ण विद्यालय पूर्वाधार सुधार गर्न माग गरिरहेका छन् ।

सीएनएन सीएनएन
२०८३ असोज २१ गते २१:३९

लन्डन । फ्रान्समा अभूतपूर्व रूपमा फैलिएको विद्यार्थी आन्दोलनले देशको बढ्दो वित्तीय दबाबलाई उजागर गरेको छ । युरोपको दोस्रो ठूलो अर्थतन्त्रले बढ्दो बजेट घाटा नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला यो समस्या समाधान गर्न झनै कठिन हुने देखिएको छ ।

फ्रान्सको सार्वजनिक वित्तीय अवस्था अहिले जोखिमपूर्ण बनेको छ । देशको तथ्यांक विभागका अनुसार जुन महिनामा फ्रान्सको सार्वजनिक ऋण ४ ट्रिलियन डलरभन्दा बढी पुगेको थियो, जुन देशको कुल अर्थतन्त्रको आकारभन्दा पनि ठूलो हो । ऋणपत्रको प्रतिफल बढेसँगै उक्त ऋणको ब्याज तथा व्यवस्थापन लागत पनि गत वर्षको तुलनामा अर्बौँ डलरले बढेको छ ।

यसैबीच, सरकारी खर्चमाथिको दबाब पनि बढिरहेको छ । वृद्ध जनसंख्याका कारण पेन्सन खर्च बढेको छ भने सरकारले रक्षा क्षेत्रमा समेत थप खर्च गर्ने तयारी गरिरहेको छ ।

उता, माध्यमिक तहका विद्यार्थीहरूले कर्मचारी अभाव समाधान गर्न, कक्षाकोठामा हुने अत्यधिक भीड कम गर्न तथा जीर्ण विद्यालय पूर्वाधार सुधार गर्न माग गरिरहेका छन् ।

फ्रान्सको वित्तीय समस्या समाधान गर्ने प्रयासले यसअघि पनि सामाजिक असन्तोष निम्त्याएको थियो । सन् २०२३ मा अवकाशको उमेर बढाउने सरकारको प्रयासविरुद्ध व्यापक प्रदर्शन भएका थिए ।

गत साता फ्रान्सेली सरकारले बजेट घाटा कम गर्ने उद्देश्यले सरकारी खर्चमा ठूलो कटौती र कर वृद्धि प्रस्ताव गरेको थियो । तर अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि सांसदहरूले यी वित्तीय उपायलाई कमजोर बनाउन सक्ने भन्दै ऋणपत्रका लगानीकर्ता चिन्तित रहेको क्यापिटल इकोनोमिक्सका प्रमुख युरोपेली अर्थशास्त्री एर्न्ड्यु केनिङहमले बताए ।

आगामी निर्वाचनमा राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई दक्षिणपन्थी वा वामपन्थी उम्मेदवारले विस्थापित गर्नसक्ने सम्भावनाले फ्रान्सको वित्तीय अनुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । दक्षिणपन्थी नेसनल र्‍याली पार्टीकी मरिन ले पेनले हालै सार्वजनिक वित्त स्थिर बनाउन ठूलो मात्रामा सरकारी खर्च कटौतीको प्रस्ताव गरे पनि उनको पार्टी महँगा कर कटौतीका योजनामा पनि प्रतिबद्ध रहेको केनिङहमले बताए ।

‘निर्वाचनपछि वित्तीय लोकप्रियतावाद बढ्न सक्ने विषयमा पनि लगानीकर्ता चिन्तित हुनेछन् । अर्को वर्षको निर्वाचनअघि वा पछि ऋणपत्रको प्रतिफलबीचको अन्तर निकै बढ्ने ठूलो जोखिम छ,’ उनले भनेका छन् ।

ऋणपत्रको प्रतिफलमा ठूलो वृद्धि

फ्रान्समा सम्भावित ऋण संकटबारेको चिन्ता गत साता उत्कर्षमा पुग्यो । यसले फ्रान्सेली सरकारी ऋणपत्रमा ठूलो बिक्री चाप सिर्जना गर्नुका साथै प्रतिफलमा तीव्र वृद्धि गरायो ।

फ्रान्स र जर्मनीको सरकारी ऋणपत्रको प्रतिफलबीचको अन्तर सन् २०१२ यताकै उच्च तहमा पुगेको छ । यसको अर्थ लगानीकर्ताले जर्मनीको तुलनामा फ्रान्सको ऋणमा लगानी गर्न निकै बढी प्रतिफल मागिरहेका छन् । जर्मनीलाई तुलनात्मक रूपमा सुरक्षित लगानीको विकल्प मानिन्छ ।

फ्रान्सेली ऋणपत्र बजारमा आएको गिरावटले युरोपका अन्य उच्च प्रतिफल भएका ऋण बजारमा पनि यसको असर फैलिन सक्ने चिन्ता बढाएको छ । केही विश्लेषकले यसलाई सन् २०१० को सुरुवाती दशकको युरोजोन ऋण संकटसँग तुलना गरेका छन् ।

अक्सफोर्ड इकोनोमिक्सका प्रमुख युरोपेली अर्थशास्त्री एन्जेल तालाभेराले सँग भने, ‘फ्रान्सको आकार र प्रणालीगत महत्वलाई हेर्दा अन्य देश तथा समग्र युरोजोनमा यसको असर फैलिने सम्भावना निकै ठूलो छ र यसले सम्पूर्ण क्षेत्रका लागि गम्भीर संकट निम्त्याउन सक्छ ।’

यही चिन्ताका कारण सोमबार युरो अमेरिकी डलरको तुलनामा सन् २०२५ को मे महिनापछिकै कमजोर अवस्थामा पुगेको थियो । युरोपेली संघका २१ देशले प्रयोग गर्ने यो मुद्रा करिब १.१२ डलर बराबर छ । केही समयका लागि यसको मूल्य १.१२ डलरभन्दा तलसमेत झरेको थियो ।

फ्रान्सबाहिर पनि जोखिम उच्च

पछिल्लो समय वित्तीय बजारमा देखिएको अस्थिरताले युरोपको कमजोर आर्थिक पुनरुत्थानलाई असर गर्नसक्ने देखिएको छ । एआईमा भएको लगानी, युरोपेली निर्यातको बढ्दो माग तथा जर्मनीमा रक्षा खर्च वृद्धि हुँदा युरोपको अर्थतन्त्रलाई केही बल पुगेको छ ।

हालै सार्वजनिक सर्वेक्षणको तथ्यांकअनुसार गत महिना युरोजोनको उत्पादन तथा सेवा क्षेत्रमा आर्थिक गतिविधि करिब साढे तीन वर्षयताकै तीव्र गतिमा बढेको थियो ।

‘आर्थिक वृद्धि पुन: गति लिँदैछ र युरोपले अपेक्षा गरिएभन्दा बढी लचकता देखाएको छ,’ मोर्गन स्टान्लीका भनेका छन् ।

तर बढ्दो सरकारी ऋणपत्रको प्रतिफल आर्थिक वृद्धिका लागि स्पष्ट जोखिम बनेको छ ।

नेदरल्यान्ड्सको बैंक आईएनजीका समष्टिगत अर्थशास्त्र प्रमुख कार्स्टेन ब्रेज्स्कीले भने, ‘सरकारहरूले खर्च कटौती नगरे ब्याजदर निरन्तर बढिरहनेछ ।’

सरकारी ऋणपत्रको प्रतिफल बढ्दा समग्र अर्थतन्त्रमा ऋण लिन महँगो हुन्छ । यसले घर तथा गाडी खरिदको लागत बढाउनुका साथै लगानी घटाउँछ । सरकारका लागि पनि ऋण लिन महँगो हुने भएकाले प्रतिफल थप बढ्न नदिन निश्चित स्तरको खर्च कटौती गर्नुपर्ने अवस्था आउँछ ।

सार्वजनिक ऋणको दिगोपनाबारे चिन्ता बढ्दै जाँदा पछिल्ला केही सातामा फ्रान्स, जर्मनी र बेलायतका सरकारी ऋणपत्रको प्रतिफल बहुवर्षीय उच्च तहमा पुगेको छ ।

क्यापिटल इकोनोमिक्सका उपप्रमुख युरोजोन अर्थशास्त्री ज्याक एलेन–रेनोल्ड्सले भने, ‘युरोपको सार्वजनिक वित्तीय अवस्थाले युरोजोनको वित्तीय बजार र अर्थतन्त्रका लागि गम्भीर जोखिम सिर्जना गरेको छ ।’ –सीएनएनबाट

लेखक
सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?