+
+
Shares

बूढीगण्डकीले बिथोलेको शान्ति बजार (तस्वीरहरू)

बूढीगण्डकी नदी किनारमा सधैं शान्त दैनिकीमा रहने शान्ति बजारको शान्ति आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले बिथोल्यो । त्यहाँका बासिन्दाले भागेर ज्यान जोगाए । तर वस्तुभाउ जोगाउन सकेनन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ असोज २६ गते १४:५०

२६ असोज, शान्तिबजार (गोरखा) । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का बुद्धिप्रसाद ढकाल (६०) आइतबार बिहान भैंसी दुहुदै थिए । बिहान एक्कासी गुडुडुडु आवाज सुने । मोबाइल हेरे । मोबाइलमा बूढीगण्डकीमा बाढी आएकाले सतर्क रहनु भन्ने एसएमएस थियो ।

लगत्तै घर छेउको अग्लो डिलमा उक्लिएर बूढीगण्डकी नदीतिर हेरे । त्यहाँ बाढी आएको थियो । हेर्दाहेर्दै उनको घर भएभन्दा पल्लोतिर पर्ने गोर्खाको शान्तिबजार तहसनहस भयो ।

त्यो क्षण सोमबार बिहान उनले अनलाइनखबरसँग साटे– ‘भैँसी दुहुने बेला गुडुडुडु गर्दै गंगा (बूढीगण्डकी) सुसायो । ठ्याक्कै भोटेकोशी जस्तो बाढी थियो । बिहान आठ बजेतिर विध्वंश पार्‍यो ।’ उनका अनुसार बाढीको पहिलो लहरले खासै क्षति गरेन । तर दोस्रोपटक आएको बाढीमा घर–टहरा बगे ।

बूढीगण्डकी नदी किनारमा सधैं शान्त दैनिकीमा रहने शान्ति बजारको शान्ति आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले बिथोल्यो । त्यहाँका बासिन्दाले भागेर ज्यान जोगाए । तर वस्तुभाउ जोगाउन सकेनन् ।

अहिले उनीहरू माथिल्लो क्षेत्रमा उक्लिएर खेतका गह्रामा अस्थायी टहरा बनाएर बसेका छन् । अनलाइनखबर टोली सोमबार बिहान सो क्षेत्रमा पुग्दा गह्रा सम्याएर उनीहरूका लागि अस्थायी टहरा बनाइँदै थियो ।

स्थानीयले अनलाइनखबरलाई बताएअनुसार बूढीगण्डकीको उपल्लो क्षेत्रका बासिन्दाले ठूलो बाढी आएको सूचना दिएपछि उनीहरु घर छाडेर भागेका थिए । त्यहाँ पालिकाको सहयोगमा राहत वितरणको काम जारी थियो ।

स्थानीयका अनुसार शान्ति बजारमा करिब ३०–४० घरटहरा थिए । ती सबै लेदो माटोमा पुरिएका छन्, कतिपय बाढीमा बगेका छन् । हाल शान्ति बजारमा एक–दुईवटा घरमात्र सग्ला देखिन्छन् ।

शान्ति बजारको नजिक पर्ने धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का बुद्धिप्रसाद ढकालका अनुसार करिब तीन दशक अघिसम्म यो ठाउँ खुला चौर थियो । पछि माथिल्लो भेगबाट झरेकाहरूले घर बनाएर बस्न थाले । अनि त्यसको नाम ‘शान्ति बजार’ राखियो ।

यो ठाउँ २०७२ को गोरखा भूकम्पबाट पनि प्रभावित भएको थियो । स्थानीयले बनिबुतो गरी पुन: घर बनाएर बस्न थाले । त्यसलाई पनि बूढीगण्डकीले क्षतविक्षत बनाएको छ । उनका अनुसार अहिले नदीको धार पनि फेरिएको छ ।

हेर्नुहोस् शान्तिबजार क्षेत्रको अवस्था–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?