News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथर र ताप्लेजुङका गोठालाहरूले पुर्खाको पदचाप पछ्याउँदै याक, चौंरी र भेडी पालेर दूध, घ्यु, छुर्पी र मासु उत्पादन गरिरहेका छन्।
- पाँचथरमा ४४ गोठमा करिब १ हजार ३ सय ५० याक/चौंरी र ताप्लेजुङमा ९५ गोठमा करिब ६ हजार याक/चौंरी रहेको बताइएको छ।
- विदेशबाट फर्किएका नविन साउदेनसहितका पशुपालकले लेकाली जीवन कष्टकर भए पनि आम्दानी राम्रो भएको र अहिले फोन सुविधाले केही सहज भएको बताए।
१ कात्तिक, पाँचथर । भरत बानियाँ ११ वर्षकै कलिलो उमेरमा बुवाको पछि लागेर गोठ हिँडेका थिए । पढ्ने उमेरमै गोठ उकालिएका उनले अहिले चौरीघ्याङ भन्ने ठाउँमा ‘डि गोठ’ चलाएर बसेका छन ।
ताप्लेजुङको कालीखोका वानियाँले गोठमा दश बर्ष भन्दा धेरै उमेर बिताइसके । उनी घरबाट गोठ एक दिनमा पुग्छन् । अरुलाई दुई दिन लाग्छ ।
भारतको सिक्किमको सिमाना नजिकै उनको गोठ छ । सिजनमा बिहानैदेखि व्यस्त हुने उनी बुवाको पदचाप पछ्याउँदै गोठ पुगेका हुन् । ‘पहिले गाई गोठ थियो । अहिले ‘डि गोठ’ छ । बुवाहरुबाट सिकेर हिमालतिरै काममा लागियो । विदेश जानुभन्दा यतै दु:ख गरु भनेर मिहिनेत गरिरहेको छु’, उनले भने, ‘सिजन नभएको बेला घरमा बस्छौं अरुबेला गोठमा ।’
हिमालबाट गोठबाट औंल झार्ने बेला हुन थालेको छ । फाल्गुनदेखि याक/ चौंरी उकालो लाग्छन् । चौंरी घ्याङदेखि एक बिहानको बाटोमुनि रहेको पाङदुवामा गोठ चलाएर बसेको टार्जन खुदाङ बिहानभरी चौंरी दुहुन व्यस्त थिए ।
दिनभर घ्यु, छुर्पि बनाउने काममा व्यस्त हुनु परेको उनले बताए । ‘५० वटा चौंरी पालेका छौं, आम्दामी नराम्रो छैन । बुवाहरुको सिको गर्दै गोठ पालेका हौं, अबको पुस्ताले के गर्ने हो कुन्नी’, उनले भने, ‘आम्दानी राम्रै हुन्छ । तर, यहाँ निक्कै दु:ख हुने र घरभन्दा टाढा बस्नु पर्ने भएकाले समस्या हुन्छ ।’
याक, चौंरी व्यवसायले दूध उत्पादन गर्ने, छुर्पी, घ्यु बनाएर बेच्ने गर्छन् । कतिपय ठाउँमा चिज समेत उत्पाद हुने गर्छ । पूर्वका विभिन्न चौरी खर्कमा पुर्खाको पदचाप पछ्याउँदै गोठ पुगेका छन् । चौरीसँग रमाएका छन् । पुर्खाहरुको पदचाप पछ्याउँदै पूर्वको पाँचथर ताप्लेजुङमा चौरी, याक, भेडी गोठ राखिंदै छ ।
ताप्लेजुङको सिदिङ्वाको निकासमा गोठ राखेका भीम भण्डारी पनि सानै उमेरदेखि पुशपालनमा लागेका हुन् । केही वर्ष गाउँमा डेरी चलाएका उनी फेरी गोठमै फर्किए । ‘डेरीमा भन्दा यता नै फाइदा हुने रहेछ’, उनले भने ।

बुवा आमा गोठमा बसेर धेरैले नानीहरुलाई सहरमा पढाएका छन । गोठ धनीका अलवा यहाँ कामगर्नेहरू पनि धेरै छन । नेपालका २६ जिल्लामा याक/चौंरी पालन गरिएको छ ।
कात्तिक-मंसिरदेखि पशु-चौपाया पनि जाडो विदा मनाउन औल आइपुग्छन् । भेडी गोठ भने घुम्ती हुन्छ । कुन महिनामा कहाँ पुर्याउने सेडुल बनाएका हुन्छन् । ‘असारमा माथि ल्याएका थियौं । अब उधौली लगायौं । भेडाबाट उन, मासु र बच्चा नै हो बिक्री हुने बढी त । घ्यू पनि बनाउँछौँ भेडा पालक हेम कुमार राईले भने, ‘अहिले त निक्कै भेडी गोठ घटीसके । दुख त ज्यादा छ नी । हामी चार जना मिलेर भेडा पालीरहेका छौं ।’
लेकाली जिवन कष्टकर छ । अहिले ठाउँ ठाउँमा फोन चल्ने भएकाले सुविधा थपिएको पशुपालक बताउँछन । वैदेशिक रोजगारी आठ वर्ष कतार बसेर फर्केर पाँचथरको फालेलुङमा चौंरी गोठ थालेका नविन साउदेन अग्रजको बाटोमा समय अनुसार परिवर्तन गर्दै अघि बढेको बताउँछन् । ‘अहिले दूध चिजका लागि बेच्छौँ’ उनी भन्छन्, ‘अब आउने पुस्ताले निरन्तरता दिनेमा चै शङ्का नै रहेको छ ।’

बिहान घामको झुल्कोदेखि रातिसम्म काम हुन्छ । कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, ताप्लेजुङ, इलाम, पाँचथरमा चौंरी पालन हुन्छ । पाँचथरको याङ्वरक र फालेलुङ गाउँपालिकामा चौंरी पालन हुने गरेको छ ।
पाँचथरमा ४४ वटा गोठमा १ हजार ३ सय ५० को हाराहारीमा याक/चौरी रहेको बताइएको छ । ताप्लेजुङका मैवाखोला, मेरिङदेन, मिक्वाखोला, फक्ताङ्लुङ, सिरिजङ्गा, सिदिङ्वा गाउँपालिका र फुङलिङ नगरपालिकामा याक, चौंरी पालन हुन्छ । ताप्लेजुङमा ६ हजार हाराहारीमा याक, चौंरी रहेका छन् । ताप्लेजुङमा ९५ गोठ रहेका छन् ।




प्रतिक्रिया 4