२७ असोज, आरुघाट (गोरखा) । काखमा १६ महिनाको बच्चा च्यापेर सल्लेरीकी कमला गुरुङ सोमबार आरुघाट आइपुगिन् । नेपाली सेनाको हेलिकप्टरले उद्धार त गर्यो तर उनको गाँस र बासको टुंगो छैन ।
बूढीगण्डकी बाढीले घरसँगै सबै सरसामान बगाएपछि कमला बिचल्लीमा परेकी छिन् । शरीरमा लगाएको एक सरो लुगा बाहेक उनीसँग केही बाँकी छैन । ‘लुगाफाटादेखि सबै बाढीले बगायो,’ उनले अनलाइनखबरसँग भनिन्, ‘अब के खाने, कहाँ बस्ने टुंगो छैन ।’
सल्लेरीकै सुन्दर गुरुङको पीडा पनि उस्तै छ । मुस्किलले ज्यान जोगाएका उनको पनि बाढीले सर्वश्व लुट्यो । ‘ज्यान बाँच्यो, तर अरू केही बाँकी रहेन,’ उनले भने ।
बाढी आउँदा सुन्दर निद्रामै थिए । एक्कासि ठूलो आवाज सुनेपछि भागेर घरभन्दा माथि सुरक्षित ठाउँमा पुगे । हेर्दाहेर्दै बाढीले उनको घर बगायो । ‘घरभित्रको केही सामान निकाल्न पाइएन, यो लगाएको कपडा पनि अरूसँग मागेको हुुँ,’ उनले भने ।

दैनिक गुजारा चल्ने उपाय नदेखेपछि सुन्दर परिवारसहित गाउँ छाडेर आरुघाट आएका छन् । उनले कामको खोजीमा राजधानी छिर्ने बताए । ‘गाउँमा बसेर के गर्नु, केही नै रहेन,’ उनले भने, ‘तत्काल बाटो खुल्ने अवस्था पनि छैन । खानै समस्या हुने देखियो, त्यसैले गरिखाने ठाउँ खोज्न काठमाडौं जान लागेको हुँ ।’
उनीहरूको जस्तै पीडा धेरैको छ । विशेषगरी सल्लेरी, पैंयु, बगर, जगत, माछीखोला, आरुघाटको शान्तिबजार, सोती लगायतका स्थानीय बाढीबाट बढी प्रभावित छन् । सो क्षेत्रका १०० भन्दा बढी घरहरू पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चाडवाडको समयमा उनीहरूको गाँस र बास दुवै खोसिएको छ । घरवारविहीन भएकाहरू आफन्त र छिमेकीकहाँ शरण लिएर बसेका छन् । विकल्प नहुनेहरू धमाधम गाउँ छाड्दै छन् । राहत र पुनर्स्थापनामा जोड दिन उनीहरूले माग गरेका छन् ।
उत्तरी गोरखासँग सम्पर्क टुट्यो
बाढीका कारण उत्तरी गोरखासँग सम्पर्क टुटेको छ । पदमार्गमा क्षति पुगेपछि चुम उपत्यकाको सम्पर्क टुटेको प्रशासनले जनाएको छ । पदमार्गमा रहेका पुलहरू बगेका छन् । दुई वटा पक्की मोटरेवल पुलसहित १० वटा पुल बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘सोतीबाट मान्वु जोड्ने र आरुघाटबाट धादिङ जोड्ने दुई वटा पक्की मोटरेवल पुल बगायो,’ डीएसपी राजकुमार श्रेष्ठले भने, ‘धार्चे गाउँपालिका–१ दोभानबाट उहिया जोड्ने बेलिब्रिज र केही झोलुङ्गे पुल पनि बगेका छन् ।’
उनका अनुसार चुमनुब्री गाउँपालिका–३ नाग्चेतबाट सिर्दिवास, माछीखोलाबाट केरौजा, दोभानबाट हुल्चुक, लोक्पाबाट गुमलुङ जाने झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, पैंयु र ठाडोभर्याङमा रहेको झोलुङ्गे पुलसँगै चुमनुब्री गाउँपालिका–६ लोक्पाबाट गुमलुङ जाने क्यान्टिलिभर पुलमा समेत क्षति पुगेको उनले जानकारी दिए । पदमार्गसँगै पुलहरूमा क्षति पुगेपछि सो क्षेत्रसँगको सम्पर्क टुटेको उनको भनाइ छ ।

चुम उपत्यकाको पदयात्रामा रोक
चुम उपत्यकाको पदयात्रामा रोक लगाइएको छ । आइतबारको बाढीले क्यान्टिलिभर पुलदेखि विभिन्न स्थानको पदमार्गमा समेत क्षति पुर्याएकाले अस्थायी रूपमा पदयात्रामा रोक लगाइएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।
चुमनुब्री–६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि छेकम्पार जाने पदमार्ग अवरुद्ध बनेको हो । धार्चे गाउँपालिकाको माछाखोलादेखि चुमनुब्रीको जगतसम्मको बाटोका धेरै स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले बताए । सामागाउँ जान चाहने पदयात्री भने हेलिकप्टरबाट सिधै फिलिमसम्म जान सक्ने उनले जानकारी दिए ।
ओझाका अनुसार फिलिमदेखि लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित अवस्थामा छ । तर माछाखोलादेखि जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
बाढीसँगै गएको पहिरोले अवरुद्ध पदमार्ग खुलाउन उत्तरी गोरखाका स्थानीयले माग गरेका छन् । ‘माथि खाद्यान्न छैन, खच्चडले तलबाट बोकेर ल्याउने हो,’ चुम्चेतका शेराप गुरुङले भने, ‘बाटो बन्द भएकाले खाद्यान्न ल्याउन सकिएको छैन, भोकमरी लाग्ला भन्ने चिन्ता छ ।’

पदमार्ग मर्मत गरेर खच्चडबाट खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाइदिन उनले सरकारसँग आग्रह गरे ।
बाढीसँगै आएको पहिरोमा परी पाँच जना सम्पर्कविहीन छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार उनीहरूको खोजी कार्य भइरहेको छ । बाढीमा फसेकाहरूको उद्धारसँगै राहत वितरणको काम पनि भइरहेको उनले जानकारी दिए ।
‘हालसम्म करिब ४०० जनाको उद्धार गरिसक्यौं,’ उनले भने, ‘उद्धारमा नेपाली सेनाको तीन वटा हेलिकप्टर प्रयोग भएको छ ।’ सँगै राहत वितरणको काम पनि भइरहेको उनले बताए ।
त्रिपाल, खाद्यान्न, औषधि, लाइट, सोलार, जेनेरेटर, लत्ताकपडा लगायतका राहत सामग्री हेलिमार्फत प्रभावित क्षेत्रमा पठाइएको र एकद्वार प्रणालीबाट वितरण गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4