+
+
Shares
युट्युब सिरियल :

१२ घण्टा नबित्दै लाखौँले हेरे ‘भुन्टी’, आखिर के छ त्यस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय टेलिशृङ्खलाको साटो दर्शक अहिले युट्युबमा आउने नेपाली सिरियल ‘भुन्टी’, ‘सीता’, ‘कान्छी’, ‘जुठे’, ‘बुहारी’ र ‘नारी’तिर फर्किएका छन्।
  • आशा गौतमको कथा, निर्देशन र निर्माण रहेको ‘भुन्टी’का तीन सय ३९ भाग बनिसकेका छन् र युट्युबमा १२ घण्टामै १० लाखभन्दा बढी पटक हेरिएको छ।
  • पारिवारिक–सामाजिक कथा, महिला पात्रको सङ्घर्ष र युट्युबमा सहज पहुँचका कारण यी सिरियलप्रति गृहिणी, बुढापाका र प्रवासीको रुचि बढेको छ।

कुनै बेला भारतीय टेलिशृङ्खलाहरू नेपालको घरभान्सासम्मै पुगेका थिए । टेलिशृङ्खलाका हरेक भाग घरघरकै कथा हुन्थे । ‘क्युँकि सास भी कभी बहू थी’, ‘कहानी घर घर की’, ‘बालिका वधू’, ‘ये रिश्ता क्या कहलाता है’, ‘पवित्र रिश्ता’, ‘कुमकुम भाग्य’ ।

यी शृङ्खलाहरूले कतिसम्म सम्मोहित बनाइदिएका थिए भने घरमा टेलिभिजनको रिमोटका लागि खोसाखोस नै चल्थ्यो । तर, अहिले यही दर्शक टिभीमा होइन, मोबाइलको स्क्रिनमा फर्किएका छन् । अनि फर्किएका छन् ‘भुन्टी’, ‘सीता’ र ‘कान्छी’तिर । झुम्मिएका छन् ‘जुठे’, ‘बुहारी’ र ‘नारी’तिर ।

घर, परिवार, छिमेक र समाजको चक्रभित्रका विषयवस्तु टिपेर बनाइने यी सिरियलहरू अहिले धेरैको रुचिमा पर्न थालेका छन् ।  खासगरी घरधन्दा सकेर फुर्सदको समय बिताइरहेका गृहिणी, बुढ्यौलीका पट्यारलाग्दा दिन गुजारिरहेका बुढापाका र वैदेशिक रोजगारीमा रहेर दिनभरको थकान मेटाउन आराम गरिरहेका प्रवासीहरू यिनै सिरियलहरू हेरेर रमाइरहेका छन्  ।

यही लोकप्रियताले तानेर हुन सक्छ, ‘भुन्टी’का तीन सयभन्दा बढी भाग बनिसकेका छन् । पछिल्लो भागमा लेखिएको छ- ३ सय ३९ ।

यो अङ्कले पनि यसको लोकप्रियताको ग्राफ कसरी आकाशिँदै छ भन्ने देखाउँछ । आशा गौतमको कथा, निर्देशन र निर्माण रहेको ‘भुन्टी’ उनकै अर्को सिरियल ‘कान्छी’को समानान्तर उत्पादन हो ।

कुरा गरौँ ‘भुन्टी’को । यो सिरियल युट्युबमा अपलोड भएको १२ घण्टा बित्न नपाउँदै १० लाखभन्दा बढी पटक हेरिएको छ । आखिर के छ यसमा  ?

यो पारिवारिक–सामाजिक कथा हो । घर, परिवार वा समाजमा दिनहुँ भइरहने घटनाक्रमहरूको नाटकीय प्रारूप हो यो । तर, यो नाटकीय लाग्दैन । किनभने यसका कथा, परिवेश र पात्रहरूले दर्शकलाई यसरी एकोहोरो बनाइदिन्छन् कि उनीहरू कथासँगै यात्रा गर्न थाल्छन् । अघिल्लो भागमा के भएको थियो? अब के हुन्छ? यही प्रश्नले दर्शकलाई अल्झाएर अधैर्य बनाइरहन्छ ।

त्यसो त थोरै स्रोतसाधन वा सीमित स्रोतको भरमा निर्माण हुने यी सिरियलहरूमा धेरैजसो घरभित्रकै गन्थनमन्थन हुन्छ, जो धेरैलाई आफ्नै कथा जस्तो लाग्छ । यो सिरियल हेरिरहँदा दर्शकले आफ्नै जनजीविका, बोलीचाली र घरपरिवारको कथा भेट्ने गरेका छन् । ‘भुन्टी’को कथामा खासगरी महिला पात्रको भावना, सङ्घर्ष र पारिवारिक जीवनलाई केन्द्रमा राखिएको छ । महिलाले भोग्ने असहजता र घरभित्रका कतिपय घटनाले खासगरी महिला दर्शकलाई जोड्न सक्छन् ।

पात्रहरूबीचको आपसी सम्बन्ध, मनमुटाव, सम्बन्धमा आउने परिवर्तन र घटनाको निरन्तरताले दर्शकलाई अर्को भाग हेर्न उत्सुक बनाउँछ । त्यही कारण दर्शकहरू यसमा झुम्मिने गरेका छन् ।

‘भुन्टी’को यो लोकप्रियताको अर्को कारण सहज पहुँच र आफ्नो रुचिअनुसार हेर्न पाउने सुविधा पनि हो । युट्युबमा आउने भएकाले यसलाई आफूलाई अनुकूल समयमा खोजीखोजी हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?