News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ को कुल विकास खर्चमध्ये ३०.८६ प्रतिशत असारमा भएको जनाएको छ।
- मन्त्रालयका अनुसार गत आवको अन्तिम त्रैमासमा ३२.१२ प्रतिशत कुल बजेट खर्च भएको छ र असारमा १३.७६ प्रतिशत खर्च भएको छ।
- गत आवको पूँजीगत खर्च १ खर्ब ९१ अर्ब रुपैयाँमा सीमित भएको अर्थ मन्त्रालयले जनाएको छ।
२८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ असार महिनामा मात्र कुल विकास खर्चको ३०.८६ प्रतिशत बजेट खर्च भएको पाइएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनको वार्षिक अंक प्रतिवेदन अनुसार असार २०८३ मा मात्र कुल विकास खर्चको सबैभन्दा ठूलो हिस्सा खर्च भएको हो । जसले गर्दा अन्तिम त्रैमासमा आधा विकास खर्च हुन पुगेको छ । जुन अघिल्लो आवहरूकै पुनरावृत्ति हो ।
आव २०७७/७८ मा कुल विकास खर्चको ३७.४७ प्रतिशत बजेट खर्च असारमा भएको थियो । उक्त आवको अन्तिम त्रैमास (वैशाख–असार) मा ५३.७५ प्रतिशत विकास बजेट खर्च भएको थियो ।
आव २०७८/७९ असारमा ३६.१९ प्रतिशत विकास खर्च भएको थियो । त्यसबेला अन्तिम त्रैमासमा ५२ प्रतिशत विकास बजेट खर्च भएको थियो । २०७९/८० असारमा ३४.४९ प्रतिशत विकास खर्च भएको थियो । अन्तिम त्रैमासमा ५४.११ प्रतिशत विकास बजेट खर्च भएको मन्त्रालयको तथ्यांक छ ।
त्यस्तै २०८०/८१ असारमा ३०.२ प्रतिशत बजेट खर्च भएको थियो । मन्त्रालयले आर्थिक वर्ष अन्त्यमा मात्र पूँजीगत खर्च हुने प्रवृत्ति कायमै रहेको उल्लेख गरेको छ ।
गत आव पहिलो त्रैमास अर्थात् तीन महिनाभरिमा १० प्रतिशतमात्र विकास खर्च भएकोमा अन्तिम एक महिनामा ३१ प्रतिशत खर्च भएको हो । जसले गर्दा नेपालको विकास खर्च प्रणालीमाथि नै प्रश्न उठिरहेको छ ।
विकास खर्चको ठूलो हिस्सा अन्तिम महिनामा हुँदा समग्र बजेट खर्चको हिस्साको भार नै अन्तिम त्रैमासमा अधिक देखिन्छ । कुल बजेट खर्चको ३२.१२ प्रतिशत खर्च अन्तिम त्रैमासमा भएको हो । असारमा कुल बजेट खर्चको १३.७६ प्रतिशत खर्च भएको छ । जुन १२ महिनाको सबैभन्दा माथि हो ।
२०८२/८३ मा कुन त्रैमासमा कति विकास खर्च ?
प्रथम (साउन–असोज) : १० प्रतिशत
दोस्रो (कात्तिक–पुस) : १५.७६ प्रतिशत
तेस्रो (माघ–चैत) : २४.३७ प्रतिशत
चौथो (वैशाख–असार) : ३०.८६ प्रतिशत
पूँजीगत खर्च १४ वर्षयताकै कम
गत आव नेपालको पूँजीगत खर्च पछिल्लो डेढ दशकयताकै कम भएको छ । यस आवमा सरकारले १ खर्ब ९१ अर्ब रुपैयाँमात्र विकास खर्च गर्न सकेको थियो । विकासभन्दा अन्य क्षेत्र राज्यको प्राथमिकतामा पर्दा अहिले पूँजीगत खर्च खुम्चिँदो क्रममा छ । २०८१/८२ मा २ खर्ब २३ अर्ब पूँजीगत खर्च भएको थियो ।
प्रतिक्रिया 4