+
+
Shares

प्रकाश रसाइली : दलित अधिकार अभियन्ता, कांग्रेसका सहमहामन्त्री

दलित क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित रसाइली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमबाट पदाधिकारी बन्ने एक्ला नेता हुन् । उनी कांग्रेस पदाधिकारीमा समावेशी कोटाबाट निर्वाचित हुने एक्ला दलित नेता पनि हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १२:१४

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सहमहामन्त्री (दलित क्लस्टर) मा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उनी ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । रसाइलीका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले एक हजार १२१ र नरेन्द्र पासवानले ७९६ मत पाए ।

दलित क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित रसाइली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमबाट पदाधिकारी बन्ने एक्ला नेता हुन् । उनी कांग्रेस पदाधिकारीमा समावेशी कोटाबाट निर्वाचित हुने एक्ला दलित नेता पनि हुन् ।

१४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रसाइलीलाई गत पुसमा सम्पन्न विशेष महाधिवेशनले सहमहामन्त्री चयन गरेको थियो । उनी १५औं महाधिवेशनबाट फेरि सहमहामन्त्रीमा महाधिवेशन प्रतिनिधिहरूबाट अनुमोदन भएका छन् ।

२०३४ सालमा कांग्रेसका पुराना नेता रुद्रवीर स्नेहीको परिवारमा जन्मिएका रसाइली बाल्यकालदेखि नै राजनीतिक चेतनासँग नजिक रहे । घर भित्रै लोकतन्त्र, समानता र अधिकारका बहस सुन्दै हुर्किएका उनको जीवनमा २०४६ सालको जनआन्दोलनले निर्णायक प्रभाव पार्‍यो ।

त्यही आन्दोलनले राजनीतिलाई केवल शक्ति प्राप्तिको माध्यम होइन, सामाजिक रूपान्तरणको औजारका रूपमा बुझ्ने दृष्टि दिएको उनी बताउँछन् ।

२०४७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत सक्रिय राजनीति सुरु गरेका रसाइली अध्ययनसँगै संगठन निर्माणमा जुटे । ६ देखि ८ कक्षासम्म बझाङको सत्यवादी माध्यमिक विद्यालयमा अध्ययन गरेका उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगे ।

उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

अध्ययनसँगै रसाइलीको ध्यान सुदूरपश्चिम र बझाङमै केन्द्रित रह्यो । राजधानीमा रहेर पनि दुर्गम जिल्लाका विद्यार्थी, दलित र सीमान्तकृत समुदायका मुद्दा उठाउन निरन्तर सक्रिय रहे ।

विद्यार्थी राजनीतिमा स्थापित हुँदै २०६० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका रसाइली २०६२/६३ को जनआन्दोलनमा अग्रपंक्तिमा सहभागी भए । निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा उनले गिरफ्तारी र दमन भोग्नुपर्‍यो । तर त्यो दमनले उनको राजनीतिक प्रतिबद्धता कमजोर बनाएन, झनै दृढ बनायो ।

दलित अधिकारको सवालमा रसाइलीको भूमिका विशेष रहँदै आएको छ । नेपाल दलित संघको केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाल्दै उनले जातीय विभेद, छुवाछुत र सामाजिक बहिष्करणविरुद्ध संगठित आवाज निर्माण गरे ।

नीति निर्माणदेखि सडक आन्दोलनसम्म उनको सक्रियताले दलित समुदायको मुद्दा राष्ट्रिय राजनीतिक एजेन्डामा स्थापित गर्न सहयोग पुग्यो ।

२०७४ सालमा समानुपातिकबाट प्रतिनिधिसभामा प्रवेश गरेपछि रसाइलीले संसदीय बहसलाई सामाजिक न्याय, समावेशिता र दुर्गम क्षेत्रको विकाससँग जोडे । संसद्‍मा प्रस्तुत गरेका उनका धारणा र हस्तक्षेप अहिले पनि विभिन्न डिजिटल माध्यममा अभिलेखका रूपमा उपलब्ध छन् ।

पार्टी संगठन भित्र पनि रसाइलीको भूमिका निरन्तर विस्तार हुँदै गयो । १५औं महाधिवेशनअघि उनी कांग्रेस बझाङको राजनीतिमा तीन पटक महासमिति सदस्य बनिसकेका थिए ।

रसाइली २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार थिए । विकास, सुशासन र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै उनी निर्वाचनमा होमिएका थिए । तर, चुनावी परिणाम उनी अनुकूल बन्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?